पर्यटक सवारी साधन सिधै भारत जान रोक


पर्यटक सवारी साधन सिधै भारत जान रोक

नेपालगन्ज : बाँकेका होटल व्यवसायीको दबाबमा बाँके प्रशासनले नेपाल–भारत मैत्री बसहरूबाहेक अन्य साधनलाई सिधै भारत जान रोक लगाएको छ ।

बाँकेस्थित नेपालगन्ज होटल व्यवसायी संघको दबाबमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरी सवारी साधनलाई सिधै भारत जान रोक लगाएको हो ।

तर, उक्त बैठकले भारतीय सबारी सधानलाई सिधै नेपालगन्ज आउन नदिने बारे कुनै चासो देखाएको छैन् । नेपाली पर्यटकका सवारी साधनलाई सिधै भारत जान रोकलागाउँने भए भारतीय सवारीलाई पनि मनपरी नेपालगन्ज आउन रोक लगाउँनुपर्ने कतिपय यातायात व्यवसायीको माग छ । यस बषियमा बाँकेका प्रजिअ खड्का उदासिन छन् ।

पश्चिम नेपालका विभिन्न जिल्लाबाट उपचारका लागि होस् वा अन्इ कुनै कामको सिलसिला र बैदेशिक रोजगारीका लागि आउने नागरिकहरू सिधै भारत जाने गरेपछि यहाँका होटल व्यवसायीलाई टाउको दुखाई भएको हो । होटल चल्न छोडेपछि यहाँका होटल व्यवसायीले सिधै भारत जाने सवारी साधन नेपालगन्जमै रोकिनुपर्ने भन्दै प्रशासन समक्ष दबाब दिन थालेको नागरिक अगुवाहरूको बुझाई छ ।

होटल व्यवसायी संघ नेपालगन्जको दबाबमा जिल्ला प्रशासनले सर्वपक्षीय बैठक गरेर रोक्ने निर्णय गरेको संघका अध्यक्ष भीमलाल कँडेल नै बताउँछन् ।

व्यवसायीको दबाबपछि बसेको प्रजिअ सहितको बैठकले भारत जाँदा जुन प्रयोजनका सवारी साधन जाने हो त्यसका लागि सोही प्रयोजनमा मात्र सञ्चालन गर्नुपर्ने, नेपालबाट भारततर्फ जाने सवारीसाधनको यात्रु सूची ईलाका प्रहरी कार्यालय जमुनाहले राख्ने, फर्कंदा परिचय खुल्ने कागजातसहित यकिन गर्ने समेतको निर्णय गरेको नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य बताउँछन् ।

यसअघि पहाडी जिल्लाबाट नेपालगन्ज हुँदै भारतका विभिन्न सहरमा पुग्ने गरी सिधा यातायात सञ्चालन हुँदै आएको थियो । यसले आम यात्रुलाई सहज भएको थियो ।

राप्तीका पहाडी जिल्लासँगै दाङ, अर्घाखाँचीलगायतका जिल्लाबाट भैरहवा, कपिलवस्तु, नेपालगन्ज नाका हुँदै भारतका दर्जन बढी सहरबाट पनि सोझै बस सञ्चालन हुने गरेको थियो । पर्यटक बसको अस्थायी इजाजत लिंदै स्थानीय बसहरू भारतीय सहर पुग्ने गरेका छन ।

सिधा यातायात सञ्चालनले यात्रुलाई सुविधा हुने भेरी यातायात व्यवसायी प्रालिका सञ्चालक शोभाखर पौडेल बताउँछन् । उनी भन्छन् ‘तर रुकुम, रोल्पा, सल्यान, प्यूठानजस्ता जिल्लाबाट सोझै सिमला, पञ्जाब, दिल्लीजस्ता सहरमा गाडी पु¥याउँदा असुरक्षासँगै स्थानीय व्यवसाय पनि धराशायी हुँदै आएको पक्कै छ ।’

होटल व्यवसायीले तीन दिनयता मात्रै दर्जनभन्दा बढी गाडी रोकेका छन् । यसले यात्रुहरू समस्यामा परेको देखिएको छ । संघका अध्यक्ष कँडेलले प्रशासनको पछिल्लो निर्णय कार्यान्वयन नभए आक्रोशित भीडले गर्ने कारबाहीप्रति संघ जिम्मेवारी हुन नसक्ने चेतावनी समेत दिएका छन् ।