जानकी (बाँके): बाँकेको जानकी गाउँपालिका भित्रको मुख्य सडक निर्माण कार्य बिहीवारदेखि शुरु भएको छ । वडा नम्बर ६ गनापुर स्थित पिप्रहवा चोकदेखि वडा नम्बर ४ खजुराखुर्दको नहर चोक हुँदै नेपालगन्ज–गुलरिया हुलाकी सडकमा जोड्ने गरी निर्माण कार्य शुरु गरिएको सडकको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले शिलान्यास गरेकाछन् ।
गनापुर पिप्रहवा चोकदेखि खजुराखुुर्दको नहर चोकसम्म ७ किलोमिटर लम्वाई रहेको सडकको चौडाई ७ मिटर रहने उनले बताए । गनापुरको पूर्वीक्षेत्रमा रहेका उद्योगहरुले नेपालगन्ज–कोहलपुर सडक प्रयोग गर्दै आए पनि पश्चिमतर्फ भित्रीभागमा रहेका उद्योगहरुलाई यो सडक निर्माण पछि सवारी साधन आवागमनमा सहज हुनेछ ।
‘हामीले यो सडकलाई गाउँपालिकाको रिङरोडका रुपमा प्रस्ताव गरेका थियौँ, तर रिङरोडको मापदण्डमा १२ मिटर चौडाईको सडक हुनुपर्ने भएकोले अहिलेलाई लिङ्करोडका रुपमा निर्माण शुरु गरेका छौँ ।’– गाउँपालिका अध्यक्ष यादवले भने–‘हाम्रो अनुरोधमा सिक्टा सिंचाई र स्थानीय जग्गाधनीले सडक निर्माण गर्न सात मिटर छोड्न सहमत हुनुभएको छ यो भन्दा फराकिलो बनाउन सकेनौँ ।’
सिक्टा सिँचाईको नहर समेत यहि सडकको किनारबाट निर्माण हुँदैछ । सिक्टाको नहरबाट तीन मिटर र स्थानीय जग्गधनीबाट चार मिटर जमिन प्राप्त गरी सात मिटर चौडाई हुने गरी सडक निर्माण शुरु भएको गाउँपालिकाका इञ्जिनीयर निसार खानले सेतोखरीलाई जानकारी दिए ।
गाउँपालिका, प्रदेश सरकार र केन्द्रीय सरकारको गरी आठ करोडको खड्का निर्माण सेवाले सडक निर्माण शुरु गरेको हो । डेढ वर्षभित्रमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण सेवाका प्रवन्ध निर्देशक टेकबहादुर खड्काले बताए ।