कैलालीका दिनेश कसरी बने ‘वनएक्स बेट’का मुख्य एजेन्ट?

नक्कली भारतीय पासपाेर्ट देखाएर दुबई उड्न लागेका कैलालीका दिनेश खड्का लखनउ बिमानस्थलबाट पक्राउ परेका छन्


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
कैलालीका दिनेश कसरी बने ‘वनएक्स बेट’का मुख्य एजेन्ट?

नेपालगन्ज। नेपालमा वनएक्स बेटका मुख्य ‘एजेन्ट’मानिने कैलालीका दिनेश खड्का भारतमा पक्राउ परेका छन्। विश्वभरि फैलिएको यो ‘अनलाइन सट्टेबाजी’ नेपालमा प्रतिबन्धित छ। तर लुकिछिपि त्यसमा ‘दाउँ’लगाउने धेरै नेपालीहरू पनि छन्। त्यसका नेपाल एजेन्टका रुपमा लुकिछिपी अवैध कारोबार गर्दैका खड्कालाई भारतीय सुरक्षाकर्मीले लखनउस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएका हुन्। 

त्यहाँको अध्यागमन अधिकारीहरूका अनुसार उनि दुबई उड्ने तयारीका साथ त्यहाँ पुगेका थिए। अध्यागमन अधिकारीहरूले उनको राहदानीमाथि शंका लागेपछि त्यसको अनुसन्धान गरेका थिए। उक्त राहदानी गैरकानुनी भएको हुनसक्ने आशंकामा अनुसन्धान गर्दै जाँदा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार खड्काले उत्तर प्रदेशको लखिमपुर खिरी ठेगाना राखेर नरेश कुमारका छोरा दिलिप कुमारको नाममा पासपोर्ट र टिकट प्रयोग गर्दै आएका थिए। 

नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी र अनलाइन सट्टेबाजजस्ता आरोपमा यसअघि उनि नेपालमा समेत पक्राउ परिसकेका थिए। 

भारतीय अध्यागमनका अनुसार खड्का प्रस्थान अनुमति (डिपार्चर क्लियरेन्स) का लागि बुधबार बिहान करिब १:३० बजे विमानस्थलको अध्यागमन काउन्टरमा पुगेका थिए। त्यसक्रममा उनका कागजपत्रहरू जाँच गर्ने क्रममा अधिकारीहरूले उनको राष्ट्रियतामाथि शङ्का गरे। त्यसपछि उनका यात्रा कागजानहरू शूक्ष्मरुपमा जाँच भएको थियो। त्यो बेला उनले आफू नेपाली नागरिक भएको स्वीकार गरेका थिए।

त्यसपछि अनुसन्धान हुँदै जाँदा सन् १९९४ मा उनि जन्मिएको र नेपालको कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १० का बासिन्दा दिनेश खड्का भएको पत्ता लाग्यो। अनि उनि त्यहिँबाट गिरफ्तार भए। 
भारतीय प्रहरीले खोजेका कागजातहरूमा नेपाली नागरिकताको प्रमाण पत्र, स्थायी लेखा नम्बर (प्यान) कार्डको फोटोकपी र यात्रासम्बन्धी थुप्रै विवरणहरू पनि छन्। लखनउ विमानस्थलमा कार्यरत जुनियर अध्यागमन अधिकृत नागेन्द्रकुमार सिंहले सुरुमा यी कुराहरू पत्ता लगाएका थिए। त्यसपछि उनकै उजुरी लिएर सरोजिनी नगर प्रहरीले मुद्दा पनि दर्ता गरेको छ। 

सरकारी पहिचान कागजात किर्ते गरेको, किर्ते कागजात साथमा राखेको र त्यसलाई सक्कलका रूपमा प्रयोग गरेको कसुरसँग सम्बन्धित भारतीय न्याय संहिता, २०२३ को दफा ३३७, ३३९ र ३४०(२) अनुसार अब उनिमाथि थप अनुसन्धान र कारबाही हुनेछ। त्यस्तै उनिमाथि राहदानी प्राप्त गर्न झुटो विवरण पेस गरेको वा मुख्य तथ्य लुकाएको विषयसँग सम्बन्धित राहदानी ऐन, १९६७ को दफा १२(१)(बी) र अध्यागमन तथा विदेशी नागरिक ऐन, २०२५ को दफा २२ अनुसारसमेत अनुसन्धान हुनेछ। 

नेपालमा लगभग दश वर्षअघि नै सरकारले क्रिप्टोकरेन्सीलाई नेपाला प्रतिवन्ध लगाइसकेको थियो। त्यसअनुसा नेपालीमा उक्त कारोबार गर्ने जोकोहीलाई पनि कानुनी कारबाही हुन्छ। नेपाल राष्ट्र बैंकले पहिलो पटक २०७४ साउन २९ गते सूचना प्रकाशित गरी नेपालमा क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी रहेको घोषणा गरेको थियो। त्यसपछि २०७८ माघ ११ गते (२५ जनवरी २०२२) मा राष्ट्र बैंकले पुनः कडा चेतावनी जारी गर्दै भर्चुअल मुद्रा वा क्रिप्टो सम्बन्धी कुनै पनि कार्य गरेमा कडा कारबाही गरिने स्पष्ट पारेको थियो।

त्यसैगरी अनलाइन बेटिङ (सट्टेबाजी) पनि नेपालमा पहिलेदेखि नै मुलुकी अपराध संहिता बमोजिम अवैध नै थियो। त्यसमाथि नेपाल सरकारले २०८२ चैत १३ गते मन्त्रिपरिषद्को बैठकबाट नेपालमा सञ्चालित सबै सट्टेबाजी एप र वेबसाइटहरू तत्काल बन्द गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले लाखौँ बेटिङ साइट र एपहरू बन्द गराएको छ। अहिले पनि अनलाइन सट्टेबाजी नेपालमा अवैध मानिन्छ। तर पाइरेसी गरेर त्यसमा पैसा लगाउने नेपालीको पनि कमी छैन। 

हाल लखनउमा पक्राउ परेका दिनेश२०८० साल जेठ ३० गते नेपालमा पनि पक्राउ परेका थिए। त्यो बेला नेपाल प्रहरीले गैरकानुनी क्रिप्टोकरेन्सी कारोबार र अनलाइन सट्टेबाजी गराउँदै आएको आशंकामा अनुसन्धान सुरु गरेको थियो। त्यस क्रममा उनले नेपालबाट ६४ करोड भन्दा बढीको अवैध कारोबार गरेको तथ्य फेला परेको थियो। त्यसका लागि उनले दुईजना नेपाली नागरिकको नागरिकतासमेत दुरुपयोग गरेका थिए। 

भारतको मामिला पहिचान सम्बन्धी कागजात र राहदानीसम्बन्धी कसुरसँग सम्बन्धित छ भने नेपालको अनुसन्धान शङ्कास्पद वित्तीय गतिविधिसँग जोडिएको थियो ।

भारतीय अधिकारीहरूले क्रिप्टोकरेन्सीसँग सम्बन्धित अन्य ठगी र वित्तीय अपराधका घटनाहरूको पनि अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । नेपाल प्रहरीका अनुसार उनले त्यो बेला आफ्नै छिमेकका दुई जना चौधरी थर भएका पीडितलाई विभिन्न प्रलोभनमा पारेर उनीहरूका कागजात लिएका थिए।

दुई जनाको कागजात लगेर खड्काले अवैध कारोबार गर्न उनीहरूको नाममा ४२ ओटा बैंक  तथा डिजिटल वालेटका अकाउन्ट बनाए। त्यसमध्ये एउटाको नाममा खोलिएका बैंक अकाउन्टबाट ३१ करोड ३२ लाख ६४ हजार २५२ रुपैयाँ कारोबार भएको देखिएको छ भने अर्को अकाउन्टबाट ३१ करोड पाँच लाख ९१ हजार २२६ रुपैयाँको कारोबार भएको प्रहरीले जनाएको छ।

त्यो बेला आईपीएल क्रिकेटलाई लक्षित गर्दै नेपालमा पनि अवैध सट्टेबाजीमा मानिसहरू सक्रिय हुने भन्दै प्रहरीले आन्तरिक रूपमा अनुसन्धान गरिरहेको थियो। अहिले नेपालमा एनपिएल चलिरहेको छ। एनपिएलका क्रममा यसअघि पनि अनलाइन सट्टेबाज लगाएका केहीलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो। त्यो बेला अनुसन्धानकै क्रममा नेपालका लागि वनएक्स बेटका ३४ जना सक्रिय एजेन्टहरू देखिएका थिए। त्यो बेला पक्राउ परेका दिनेश खड्का एक्लैले ६४ करोड बढीको कारोबार गरेको देखिएको थियो। त्यसको केही दिनमै कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले अवैध वनएक्सबेटको प्रचार गरेको आरोपमा आठजना युट्यूबर तथा कलाकारहरूलाई समेत पक्राउ गरेको थियो। 

कैलालीको लम्किचुहामा खेतिपाति गर्दै आएका दिनेशको परिवार सामाजिक सञ्जालहरूमा आएका प्रचारहरूबाटै क्रिप्टो र अनलाइन सट्टेबाजीमा लगेका थिए। परिवारले एक वर्षकै अवधिमा ३७ करोडको कारोबार गर्ने हैसियत पनि राख्दैनथे। तर दिनेश त अनलाइन बेटिङ अर्थात् जुवाको लागि नेपाली एजेण्ट थिए र उनले डलरको अवैध कारोबारसमेत गर्ने गर्दथे भन्ने तथ्य अनुसन्धानको क्रममा खुल्यो। उनले नेपालमा ‘वान एक्स बेट’मा जुवा खेलाउने गर्दथे भने क्रिप्टोकरेन्सी लगायतमा कारोबार र सहजकर्ताको रुपमा पनि काम गर्दथे।

त्यो बेला उनकी दिदी भगवती खड्काको नाममा एनआइसी एशिया बैंङ्कमा रहेको खातामा अनपेक्षित कारोबार देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। त्यसैबाट खड्काको परिवार नै क्रिप्टो र अनलाइन सट्टेबाजमा संलग्न हुँदै आएको खुल्यो। उनिहरूका सबै सरकारी कागजात तथा बैंकिङ कारोबार प्रहरीले अनुसन्धान गरको थियो।

अर्का सट्टेबाज ठेकेदार पनि पक्राउ
विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एप्लिकेसनमार्फत सट्टेबाजी खेलाउने र अवैध रूपमा ठुलो परिमाणमा क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले धनुषाबाट एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका वडा नं. १२ स्थायी ठेगाना भएका २८ वर्षीय सुनिल कुमार यादव रहेका छन्।

नेपाल राष्ट्र बैंकको नीति तथा प्रचलित कानुनविपरीत क्रिप्टोकरेन्सी र अनलाइन सट्टेबाजीको गैरकानुनी कारोबार भइरहेको विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्राविधिक विश्लेषण र निगरानी बढाएको थियो। सोही क्रममा जिल्ला प्रहरी कार्यालय धनुषासँगको समन्वयमा यादवलाई नियन्त्रणमा लिइएको हो।

अनुसन्धानका क्रममा यादवले बाइनान्स खातामार्फत २ करोड ६९ लाख ९१ हजार ३८८ युएसडीटी बढीको कारोबार गरेको प्रहरीको दाबी छ। उक्त अभौतिक मुद्राको परिमाण प्रचलित विनिमय दरअनुसार हिसाब गर्दा नेपाली रूपैयाँ २ अर्ब १६ करोड १ लाख २० हजार ८२१ बराबर हुन आउँछ।

पक्राउ परेका यादवमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) तथा सोही संहिताको दफा २६२ (क) १ (अभौतिक मुद्राको प्रयोग गर्न नहुने) बमोजिमको कसुरमा अनुसन्धान अघि बढाइएको छ। उनलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।