अन्ततः बन्ने भयो बागेश्वरी मन्दिरमा कम्पलेक्स

भवन निर्माणका लागि पुरातत्व विभागको अनुमति


अन्ततः बन्ने भयो बागेश्वरी मन्दिरमा कम्पलेक्स

नेपालगन्ज: बागेश्वरी मन्दिर दक्षिणभागमा निर्माण गरिन लागेको सपिङ्ग कम्पलेक्सका लागि पुरातत्व विभागले अनुमति दिएकोछ ।
पुरातत्व विभागले नेपालगन्जस्थित बागेश्वरी मन्दिरको दक्षिणतर्फ रहेको स्थान कार्यक्षेत्रभित्र नपर्ने भन्दै नयाँ संरचना निर्माणका लागि अनुमति दिएको हो ।

मन्दिर छेउँमा सपिङ् कम्प्लेक्स बनाउन नहुने भन्दै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आवाज उठेपछि पुरातत्व विभागको टोलीले स्थलगत निरीक्षण गरेको थियो ।

विभागले स्थलगत निरीक्षणमा सो संरचना ऐतिहासिक र पुरातत्व दृष्टिले पुरातत्व विभागको कार्य क्षेत्र भित्र नपर्ने स्पष्ट पार्दै नयाँ संरचना निर्माणका लागि अनुमति दिएको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणाले जानकारी दिए ।

उनले भने–‘पुरातत्व विभागले नयाँ संरचना बनाउन अनुमति दिएको छ, सर्वपक्षिय छलफल गरि मन्दिरको धार्मिक, साँस्कृतिक र ऐतिहासिक अस्तित्वमा असर नपर्नेगरि व्यवस्थित रुपमा भवन निर्माणका विषयमा छलफल गरिरहेकाछौं ।’

कुनै पनि भौतिक संरचना मन्दिर छेउँमा निर्माण गर्न नहुने आवाज उठिरहेका बेला विभागले गरेको निर्णय सकारात्मक भएको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपाल अधिकारी बताउँछन् ।

सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यमका डाक्टर राणाले राखेको तस्विरमाथि टिकाटिप्पणी गर्दै गलत ब्याख्या गरिएको समितिका सचिव अधिकारी बताउँछन् ।

उनले भने गुठीले साविककै ठाउँमा मूल महन्तको कार्यालय, बिशिष्ट अतिथि कक्ष, सत्संग भवन सहित १७ वटा सटर निर्माण गर्नेछ ।
बागेश्वरी मन्दिर छेउमा मन्दिरलाई नै प्रतिकुल असर पर्ने गरी सपिङ् कम्पलेक्स निर्माण हुन लागेको भनी आएका गलत प्रतिक्रियाप्रति पुरात्व विभागले स्थलगत निरीक्षण गरि प्रष्ट्याएको अधिकारी बताउँछन् ।

गुठीले बागेश्वरी मन्दिरको परम्परागत मर्यादालाई असर नपर्ने गरी निर्माण हुन लागेको पूर्वाधारको ठेक्का पनि दिइसकेको छ । नयाँ बन्ने संरचनाले मन्दिरलाई सुरक्षा र गोपनियतामा सघाउने गुठीको निष्कर्ष छ ।

पुरातत्व विभागको अनुमति पत्र देखाउँदै बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपाल अधिकारी ।

विभागले बागेश्वरी मन्दिर ऐतिहासिक,धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको हुँदा वातावरणीय पक्षमा नकारात्मक असर नपार्ने गरि निर्माण गर्न समेत अनुरोध गरेको छ । समितिका सचिव गोपाल अधिकारीले सटर निर्माणबाट मन्दिरको स्वरुप, मन्दिरको सौन्दर्यकरण, मन्दिरप्रतिको जनआस्था लगायत कुनै पनि किसिमको प्रतिकुल असर नपर्ने विश्वास दिलाए ।

पुरातत्व विभागका पुरातत्व अधिकृत भास्कर ज्ञवालीद्वारा हस्ताक्षरित उक्त पत्रमा गृह मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँके र संघीय आयोजना कार्यालय ईकाई बाँकेको नाममा बोधार्ध पत्र पठाएकोछ ।
गत साउन अन्तिम साता बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नेपालगन्ज उपमहानगरपालिकामा मेयर डाक्टर धवलशम्सेर राणाले सपिङ् कम्पलेक्स बनाउँने भन्दै फेसबुकमा शिलान्यास गरेको तस्विर शेयर गरेका थिए ।

सामाजिक सञ्जालमा नगरबासीको विरोधपछि शहरी विकास मन्त्रालयले बागेश्वरी मन्दिरमा सटर बनाउने कार्य रोक्न गृह मन्त्रालयलाई पत्र लेखेको थियो ।

पुरातत्व विभागको अनुमति पत्र

नागरिकको विरोधकै बीच उक्त मन्त्रालयले मन्दिर क्षेत्रमा सटर नबनाउन साउन ३० गते बिहीबार पत्र लेखेको थियो । मन्त्री मोहम्मद ईस्तियाक राईको निर्देशनमा मन्त्रालयका ईञ्जिनीयर सौगात थापाको हस्ताक्षरमा कम्पलेक्स निर्माणको काम रोक्न पत्राचार भएको थियो । तर, पुरातत्व विभागले मन्दिरमा सटर निर्माण गर्ने अनुमति दिदै शहरी विकास मन्त्रालयको काम रोक्न पठाएको पत्रलाई लत्याएकोछ ।