नेपालगन्ज : बाँकेको बेतहनीबाट लाखौं रुपैयाँ पर्ने अबैध मोबाइल फोन बरामद गरिएकोछ । कालाबन्जर बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीको कमाण्डमा खटेको टोलीले भारतबाट नेपाल ल्याउदै गरेको ११ लाख रुपैयाँ बराबरको अबैध स्मार्ट मोबाईल फोन बरामद गरेको हो ।
आईतबार बिहान ३ बजे गस्तीमा रहेको सशस्त्र प्रहरी निरीक्षक डाँगीको कमाण्डको टोलीले डुडुवा गाउँपालिका वडा नम्बर–२ बेतहनीमा भारतबाट ल्याउदै गरेको ८५ थान स्मार्ट मोबाइल फोन बरामद गरेको हो । यस्तै ९३ थान लेडिज कुर्ता सेट समेत बरामद गरेको छ ।
राप्ती नदीको किनारैकिनार साइकलमा मोबाइल बोकेर आउँदै गरेका तस्करहरुले सशस्त्र प्रहरीलाई देख्नासाथ सामान फालेर भागेका थिए । सशस्त्र प्रहरी बाँकेका अनुसार बरामद गरिएका मोबाइल फोनहरुमा रियलमी, भिभो, ओप्पो लगायत अन्य कम्पनीका रहेका छन् । जसको अन्दाजी मूल्य ११ लाख २० हजार र कुर्ताको मूल्य ३७ हजार २ सय रुपैयाँ रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
आईतबार बिहान बरामद गरिएका मोबाइल फोन र कुर्तालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । सशस्त्र प्रहरीले कोरोना महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको समयमा करिब ३० लाख रुपैयाँ बराबरको अवैध सुर्तीजन्य सामाग्री समेत बरामद गरिसकेको छ ।