काठमाडौं । नेकपा ९एमाले०का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा भएको हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने बताएका छन्।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली र घाइते तथा सन्तान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने षड्यन्त्र भएको दाबी गरेका हुन्।
उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, सेवा प्रवाहलाई सहज बनाउनुपर्ने तथा सामाजिक सञ्जालको निर्बाध प्रयोग गर्न पाउनुपर्ने माग जायज रहेको बताएका छन्। यी माग सबैको साझा सरोकारका विषय भएको उनको भनाइ छ।
पोखरेलले तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध नलगाएको दाबी गर्दै नेपालमा दर्ता हुनुपर्ने नीति अगाडि बढाएको विषय स्पष्ट पार्न नसक्दा नयाँ पुस्ता सडकमा आउन पुगेको उल्लेख गरेका छन्।
‘नवयुवाहरूको शान्तिपूर्ण प्रदर्शनलाई सुरु देखिनै नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने सुनियोजित षड्यन्त्र भएको थियो भन्ने कुरा अब घामजस्तै छर्लङ्ग भइसकेको छ’ उनले लेखेका छन्।
शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउनु नै जेनजी आन्दोलनको वास्तविक भावनाको सम्मान हुने पोखरेलको भनाइ छ।
वर्तमान सरकार जेनजी आन्दोलनको भावनाअनुसार नभई आन्दोलनलाई ‘हाइज्याक’ गर्नेहरूको योजना र प्रभावमा चलेको उनले आरोप लगाएका छन्। महासचिव पोखरेलले नवयुवाको भावनाको कदर, मुलुकमा सुशासनको प्रत्याभूति र विधिको शासन स्थापना गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन्।
‘वर्तमान सरकार जेन्जी आन्दोलनको भावना अनुसार नभई, त्यसलाई हाइज्याक गर्नेहरूको योजना र प्रभावमा चलेको स्पष्ट भइसकेको छ। यस्तो संवेदनशील अवस्थामा नव युवाहरूको वास्तविक भावनाको कदर गर्नु, मुलुकमा सुशासनको प्रत्याभूति दिनु, र विधिको शासन स्थापित गर्नु आजको प्रमुख आवश्यकता हो’ उनले भनेका छन्।
एमाले नवयुवाको भावना र जायज माग सम्बोधन गर्न उनीहरूसँग मिलेर अघि बढ्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले पार्टी हिजो पनि नवयुवाको पक्षमा रहेको, आज पनि रहेको र भविष्यमा पनि रहने दाबी गरेका छन्।
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको होस् शंकर पोखरेल
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद