२६ हजार बिद्यार्थीको भविष्य अन्यौलमा


२६ हजार बिद्यार्थीको भविष्य अन्यौलमा

राम्रो मार्कस बिद्यार्थीको बाटो तय गर्ने साधन हो । मार्कस राम्रो भएन भने बिद्यार्थीको भबिष्य अन्धकार नै हुन्छ । तर, यस वर्ष करिव २६ हजार बिद्यार्थी कक्षा ११ पढ्न नपाउने भएका छन् । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोख्रेलको अध्यक्षतामा गत साउन २८ गते बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले एसईईमा अंग्रेजी, बिज्ञान र गणित बिषयमा डि प्लस ल्याएरमात्र नपुग्ने र कक्षा ११ मा भर्ना हुन जीपीए १.६ ल्याउनै पर्ने प्रावाधान पहिल्यै रहेको कुरा प्रस्ट पारेको छ । भने यस वर्ष यी दुबै मापदण्ड पुरा नगर्ने बिद्यार्थी करिव २६ हजार छन् ।

कक्षा ११ मा भौतिक बिज्ञान, रसायन बिज्ञान, जीव बिज्ञान र गणिात बिषय पढ्नकालागि भने जीपीए १.६ संगै अंग्रेजी, गणित र बिज्ञान बिषयमा सी प्लस ल्याउनै पर्दछ । मौका परीक्षा हुने अवस्था पनि यसपाला छैन । के ति बिद्यार्थीहरु अब नपढ्ने ? स्मरण रहोस् २०७२ सालदेखि सुरुभएको ग्रेडिङ्ग अंकन प्रणालीमा कसैको लब्धांक पत्रमा ‘अनुत्तीण’ लेखिदैन ।

संधै वर्षहरुमा जस्तै यस वर्ष पनि बिद्यार्थीले पूर्णरुपमा परीक्षाको अन्तिम घडीसम्म तयारी गरे तर, चीनको वुहान शहरबाट फैलिएको कोरोना भाईरस ईटाली, अमेरीका, भारत हुँदै नेपालमा पनि संक्रमितको संख्या बढ्दै गएपछी र महामारीका कारण मृत्युका घटनाहरु बढ्दै गएपछी २०७६ चैत्र ६ गते देखि हुने तय भएको एसईई परीक्षा स्थगित भयो । परीक्षा स्थगित भएपछी कक्षा १० का एसईई परीक्षा दिने बिद्यार्थी अन्यौलमा परे । परीक्षा फेरी कहिले हुन्छ ? यसैक्रममा शिक्षा मन्त्रालयको निर्णय अनुसार शैक्षिक शत्र निरन्तरताकालागि बिद्यालयहरुले बिद्यार्थीको पूर्व कार्यदक्षता र पूर्व परीक्षाका नतिजा अनुसार मूल्याङ्कन गरी नम्बर राष्ट्रिय परीक्षा बोर्डमा पठाउने निर्णय भयो र सोही बमोजिम परीक्षा बोर्डले अन्य मूल्याङ्कनका बिधि अपनाएर बिद्यालयहरुले पठाएका नम्बरहरु प्रमाणीकरण गरेर गत भाद्र ५ मा नतिजा प्रकाशन पनि गर्यो ।

बिगत वर्षहरुमा परीक्षाको नतिजा हेर्ने हो भने ग्रेड प्रणाली सुरुभएको सुरु वर्ष २०७२ मा औषत ग्रेड पोईन्ट ४ ल्याउने बिद्यार्थी २ जना मात्र थिए । त्यसपछी २०७३ मा ४ जना २०७४ मा ७४ जना, २०७५मा १०२ र अहिले यस वर्ष २०७६ मा बिद्यालय आफैले मूल्याङ्कन गर्दा औषत ग्रेड पोईन्ट ४ ल्याउने ९ हजार भन्दा बढी बिद्यार्थी भए । त्यसमा २६ हजार भन्दा बढी बिद्यार्थीले कक्षा ११ मा भर्ना पाउन नसक्नेगरी परीक्षाको परिणाम सार्वजनिक भयो ।

Kids Festival 2022
kanti aarogya hospital

बिद्यार्थी आफैले लेखेर ल्याउने ग्रेड पोईन्ट र अहिले बिद्यालयहरुले स्वमूल्याङ्कन गर्दा कति फरक पर्दो रहेछ । वास्तवमा परीक्षा आफैमा एउटा बिद्यार्थीले आफूलाई आफैले चेक जाँच गर्ने पद्धति अवस्य हो । बिद्यार्थीको स्तर जाँच गर्ने एउटा प्रणाली भनेको परीक्षा हो । परीक्षाले बिद्यार्थीलाई उसको स्तरको मापन गर्ने गर्दछ र बिद्यार्थी योग्य र अयोग्य साबित गर्दछ । आफैले मेहनेत गरेर ल्याएको नतिजामा बिद्यार्थीले गर्व गर्ने ठाउँ रहन्छ ।

यस वर्षको मूल्याङ्कनमा के त्रुटी भयो ?

अहिलेको औसत ग्रेड पोईन्ट मूल्याङ्कनमा के समस्याहरु रहे ? वास्तवमा अहिले सर्सती हेर्दा हेड टिचरको आफ्ना, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष वा समितिका सदस्यहरुका आफ्ना र जेठो शिक्षकको आफ्ना मान्छे र अरु सामाजमा नाम कमाएका, धन कमाएका मान्छेका छोरा छोरीहरुले राम्रो ग्रेड पाए । यसरी राम्रो ग्रेड पाउनुमा बिद्यार्थी स्वयमको बिद्यालय भित्रको कार्यसम्पादन, नियमितता र अघिल्ला परीक्षाहरुको कार्यसम्पादन आदिलाई अवश्य हेरियो होला । तर, मौका यही हो भनेर आफ्नालाई हेरेको देखियो । यसरी मूल्याङ्कन गर्दा अवश्यपनि बिद्यार्थीलाई फाई हुंदैन ।

बाहिर बजार हेर्दा राम्रो ग्रेड पाउने बिद्यार्थीमा पनि खुशी पाईएको छैन । कम ग्रेड पोईन्ट पाउने पनि खुशी छैन । कम ग्रेड पोईन्ट पाउने बिद्यार्थी भन्छन् ‘म माथि पक्षपात गरियो । यो भन्दा राम्रो त मैले आफैले लेख्न पाएको भए हुने थियो । सरहरुले म माथि पक्षपात गरे ।’ भन्ने गुनासो सुन्नमा आएको छ । यो भन्दा अघिका परीक्षा बिद्यालयले लिँदा पनि हुने यो एसईई किन मान्य नहुने भन्ने पनि कुरा सुनियो । तर, यहाँ परीक्षा नै नलिईकन नतिजा निकालियो । यो कुरा अनौठो लागेको हो । नौ कक्षा सहजै पास भएर दशमा पढेको बिद्यार्थीको मूल्याङ्कन बिद्यालयहरुले स्वःमूल्याङ्कन गर्दा यति धेरै बिद्यार्थी कक्षा ११ मा पढ्न नपाउने भए । आफै परीक्षा दिएर यो अवस्था आएको भए यसको जिम्मेवारी बिद्यार्थीहरुले आफै लिने थिए ।

यि कलेजमा भर्ना हुन नपाउने बिद्यार्थीकालागि राज्यले सोच्नु पर्दछ । अव पुनः परीक्षा लिने त वातावरण नै भएन तर, पनि पुनः मूल्याङ्कन गरेर भएपनि उनीहरुको स्तर उन्नती गरेर उनीहरको पढ्न पाउने अधिकार सुनिश्चित गर्न जरुरी छ । राज्यले पुनः सोचेँर उनीहरुलाई कलेज भर्ना हुने वातावरण बनाउन जरुरी छ । १.६ जीपीए सम्म ग्रेड नपाएपनि उनीहरुपनि कक्षा १० का बिद्यार्थी थिए । उनीहरुको स्तर उन्नती गर्ने थुप्रै उपायहरु छन । यसमा नै प्रश्न हो ।

राम्रा कहलिएका बिद्यालयहरुले के गरे ?

वास्तवमा राम्रा कहलिएका बिद्यालयहरुले आफ्नो बिद्यालयको शाख वा नाक राम्रो राखिराख्न बिद्यार्थीहरुलाई दिन सक्ने जति अंक दिए । मानौं सामाजिक शिक्षा वा अरु थेऔरी बिषयमा बिना मूल्याङ्कन शतप्रतिशत नम्बर दिन मिल्छ कि मिल्दैन ? त्यस्ता बिषयमा पनि बिना परीक्षा शतप्रतिशत अंक दिएर पठाईयो । यहाँनेर गल्ती भयो । अनि प्राक्टीकल र थेऔरी दुबैमा शतप्रतिशत अंक दिईयो र अन्य बिषयमा पनि त्यसरी नै अंक दिईयो । यसले बिद्यार्थी समस्यामा परेका छन् ।

अर्कोतर्फ कमजोर अभिभावकहरुको सूची बनाएर उनीहरुको बच्चाहरुलाई सोही अनुसार अंक दिईयो । अंग्रजीमा हेल्लो इफेक्ट भन्ने गरिन्छ कि गरिव र सामान्यका छोराछोरी पनि सामान्य नै हुन्छन् । तर, अहिले लोक सेवा आयोगमा नाम निकाल्नेहरु मध्य केही सामान्य परिवारका पनि छन् । उनीहरुले मेहेनेत गरेर लोक सेवा आयोगमा नाम निकाल्न सफल पनि भएका छन् । के त्यसो मात्र हुँदोरहेछ त ? वास्तवमा होईन । यसरी हचुवाको भरमा अंक दिंदा बिद्यार्थीलाई कति असर पर्दछ भन्ने कुरा त राज्यले अव एक दुई वर्षमा थाहा पाउन सक्ला ।

अबको बाटो के हुने ?

वास्तवमा अबउप्रान्त यस्तो खाले परीक्षा नतिजा नेपालमा कहिल्यै हुनुहुदैन । किन भने हरेक बिद्यार्थीले आफ्नो क्षमता आफैले चेकजाँच गर्न चाहान्छ । जे जस्तो नतिजा आएपनि आफूले मेहनेत गरेर ल्याएको ग्रेड प्रति उस्ले गर्व गर्दछ र त्यसको जिम्मा आफै लिन्छ । हामी बच्चालाई जीवन सिकाउने भन्छौं । वास्तविक जीवन पनि यहि हो । किनभने आफूले गरेको कामको परीणाम राम्रो भएपनि नराम्रो भएपनि त्यसको अपनत्व आफूले लिन पाउँदाको मजा बेग्लै हुन्छ । त्यसले जीवन सिकाउँछ । जीवन सिक्नु नै वास्तवमा वास्तविक शिक्षा हो ।

जब मेडिटेरियनहरुले समुन्द्रको भेउ पाएनन् त्यसपछी डुङ्गाको आविस्कार गरे । जव रातीमा धेरै अँध्यारो भयो र रातका कामहरु सहज हुन सकेनन् त्यसपछी थोमस अल्वा अडिशनले बिजुलीको बल्वको आविष्कार गरे । समस्याले आविस्कार गर्न सिकाउँछ भन्ने कुरा त हामीलाई थाहा छ । त्यसैले बिद्यार्थीलाई आफै उत्तर पुस्तिका लेख्न लगाएको भए राम्रो हुने थियो । यो परीक्षा सबै बन्दोबस्ती मिलाएर अनलाईन पनि गर्न सकिन्थ्यो । कयौं विश्व बिद्यालयहरुले त्यसै गर्दछन् त ! त्यसकारण परीक्षा आफैमा अत्यन्त सम्वेदनशील घडी हो । हरेक बिद्यार्थीले स्वतः स्फूर्त परीक्षा दिन पाउनु पर्दछ । परीक्षा दिन पाउनु हरेक बिद्यार्थीको अधिकार हो ।