ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाः मन्त्री सहित ७ को मृत्यु

सरकारद्वारा आज राष्ट्रिय शोकको घोषणा, देशभर सार्वजनिक बिदा


ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाः मन्त्री सहित ७ को मृत्यु

नेपालगन्ज : ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

AS350 हेलिकोप्टर दुर्घटनामा मन्त्रीसहित सवार सबै ७ जनाको निधन भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको छ ।
तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनका लागि गएको थियो । त्यहाँबाट काठमाडौं फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।
हेलिकप्टरमा सवार मन्त्री अधिकारी, व्यवसायी आङछिरिङ शेर्पा प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै ध्रुवदास भोछिभोय, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे र हेलिकप्टर चालक प्रभाकर केसीको निधन भएको छ ।

सरकारद्वारा आज राष्ट्रिय शोकको घोषणा, देशभर सार्वजनिक बिदा
पर्यटन मन्त्री रवीन्द्र अधकारी र पर्यटन व्यवसायी आङछिरिङ शेर्पासहित सात जनाको ज्यान जाने गरी भएको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले बिहीबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । बुधबार भएको उक्त दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद बैठकले बिहीबार सार्वजनिक विदा दिनुका साथै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गर्दै राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकपछि जारी वक्तव्यअनुसार बिहीबार सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित नेपाली दूतावास र नियोगहरूलाई सार्वजनिक विदा दिने उल्लेख छ । तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गरी फर्केने क्रममा पाथिभरा मन्दिर दर्शन गरेर आउँदा हेलिकप्टर दुर्घटना भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

सरकारद्वारा जाँच आयोग गठन
मन्त्रिपरिषद बैठकले दुर्घटनाका सम्बन्धमा विस्तृत जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन दिन पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा चार सदस्यीय जाँच आयोग समेत गठन गरेको छ ।
मन्त्री अधिकारीसहित चारजनाको शव बुधबार बेलुका सेनाको नाइटभिजन हेलिकप्टरले घटनास्थलबाट लिफ्ट गरेर सुकेटार विमानस्थल ल्याएको थियो । बाँकी तीनजनाको शव बिहीबार बिहान सुकेटार विमानस्थल ल्याउने तयारी छ । दुर्घटनापछि बुधबार बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनमा शोक व्यक्त गर्दै एक दिने राष्ट्रिय शोकको घोषणा गरेको हो ।

खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना : गृहमन्त्रालय
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना खराब मौसमका कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । गृहमन्त्रालयमा बसेको आकस्मिक बैठकले सो कुरा बाहिर ल्याएको हो । बुधबार पत्रकार सम्मेलन गर्दै गृहप्रवक्ता रामकृष्ण सुवेदीले खराब मौसमका कारण दुर्घटना भएको बताएका हुन् । उनले भने–‘स्थानीय प्रशासनले दिएको जानकारी अनुसार ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा डेढ किलोमिटर वर आइपुग्ने वित्तिकै दुर्घटना भएको हो ।’

हेलिकोप्टर उडेको एक मिनेटमै दुर्घटना
नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटनन्मत्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर उडेको एक मिनेटमै दुर्घटनामा परेको बताएको छ ।
त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि उडेको एक मिनेटमै दुर्घटनामा परेको भिडियो ट्र्याक रेकर्डबाट देखिएको जानकारी दिए ।
‘भारी हिमपातका कारण हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान छ,’ उनले भने । पौने १ बजे हेलिकोप्टर पाइलटले एयर ट्राफिक कन्ट्रोलरसँगको सम्पर्कमा उड्न सक्ने अवस्था नरहेको जानकारी गराएका थिए । तर लगत्तै हेलिकोप्टर उडेकाले हिमपातका कारण दुर्घटना भएको हुन सक्ने तिवारीले बताए । उनका अनुसार हेलिकोप्टर उडेकोबारे पाइलटले एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिएनन् । हेलिकोप्टर ११ः४५ मा पाथीभरा पुगेको थियो ।