आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र


सेतोखरी सेतोखरी   ४८ मिनेट अगाडि
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र

काठमाडौं। बाँके जिल्ला निर्वाचन क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचन जितेका सांसद हुन्, खगेन्द्र सुनार। कुनै बेला रेडियो पत्रकारसमेत बनेका खगेन्द्र खासगरी आफ्नै दलित समुदायको मुद्दा मामिलालाई सडकमा ल्याउँदा ल्याउँदै चर्चित बने।

जति उनलाई ती मुद्दाहरूले पछ्याए, उनले मुद्दाहरूलाई पछ्याए त्योभन्दा धेरै उनले विवादहरू पछ्याउन थाले। जसका कारण उनि निरन्तर चर्चामा आइरहे। माइतीघरका सडकमा होस् वा देशका कुनै ठाउँका घटनाहरू सकेसम्म खगेन्द्र आफ्ना केही दलबलसहित पुगहाल्थे अनि आफ्नो ‘स्टन्ट’ देखाइहाल्थे। जहाँ चर्चा पनि थियो, विवाद पनि। उनकै कारण न्याय पाएकाहरू थुप्रै छन्, उनै कारण जिन्दगी वर्वाद भयो भन्नेहरू पनि छन्। उनि आफ्नै समुदायमा जति चर्चामा हुन्छन्, त्यत्तिकै विवादित पनि। अनि जति चर्चामा आउँछन् उति विवादित पनि। 

माइतीघरमा आफूलाई साङ्लाले बेरेर राज्यलाई प्रश्न गरिरहने उनै खगेन्द्र सुनार कुनै बेला काठमाडौंका तिनै गल्लीहरूबाट निस्किएका एक ‘नागरिक आवाज’ थिए। दलित समुदायका अधिकारका लागि चर्को स्वरमा बोलेरै चर्चामा आएका खगेन्द्रमाथि थुप्रै आरोपहरू पनि थिए। 

जेनजी विद्रोहपछि सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारमा मन्त्री बन्नेहरूको एउटा नाम लिस्ट बाहिरियो। जसमा खगेन्द्र सुनारको पनि नाम थियो। तर उनिमाथि लागेका थुप्रै आरोपहरूबारे प्रधानमन्त्री कार्यालयमै उजुरी परेपछि उनि मन्त्री हुन सकेनन्। 

त्यो बेला उनिमाथि स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपातको किटानी जाहेरी परेको पुरानो विवाद थियो।  सुर्खेत जिल्ला अस्पतालका तत्कालीन प्रमुख डा। सोजन सापकोटाले खगेन्द्र सुनारविरुद्ध अस्पतालमा तोडफोड गरेको र स्वास्थ्यकर्मीमाथि हातपात तथा अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए। यो फौजदारी प्रकृतिको आरोप मन्त्री बन्ने छलफलका क्रममा उनको मुख्य नैतिक तथा कानुनी बाधा बनेको थियो।

त्यस्तै अदालतको अवहेलना र अव्यवहारिक अभिव्यक्तिहरू विवादित रहे। जस्तो कि रुकुम पश्चिमको सोती घटनाको अदालती फैसलाप्रति असन्तुष्टि जनाउने क्रममा अदालत परिसरमै प्रदर्शन गरेको, न्यायाधीशहरूमाथि अपमानजनक टिप्पणी गरेको र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोपमा उनिविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा चर्चामा आएको थियो। त्योसँगै सार्वजनिक निकाय र प्रहरीसँगको निरन्तर मुठभेडमा उत्रिइरहने उनि प्रहरीमाझ पनि रुचाइएका पात्र थिएनन्। माइतीघर तथा संसद् भवन आसपासका निषेधित क्षेत्र तोड्न खोज्दा पटक(पटक पक्राउ परेको र सार्वजनिक मञ्चहरूमा सुरक्षा निकाय तथा सरकारी अधिकारीहरूबारे दिएका कडा र आक्रामक अभिव्यक्तिहरूलाई लिएर नागरिक वृत्तबाट आलोचना भएको थियो। 

सुनारमाथि सामाजिक सञ्जालमा चरित्रहत्या र साइबर बुलिङको आरोप पनि थियो। सामाजिक सञ्जालमा विरोधी, वकिल तथा फरक मत राख्ने व्यक्तिहरूविरुद्ध तिखो र अमर्यादित भाषा प्रयोग गरी गालीगलौज र चरित्रहत्या गरेको भन्दै परेका उजुरी र विवादहरू बाहिरिएका थिए। 

यहीबीचमा गत फागुनमा प्रतिनिधिसभाको निर्वाचन भयो। र उनले राष्ट्रिय स्वतन्त्र पार्टीको टिकट लगेर बाँके क्षेत्र नं ३ बाट उम्मेदवारी दिए। देशभरि रास्वपाकै लहर चलेको थियो। त्यही लहरमा उनले पनि चुनाव जिते। अनि उही स्वरुपमा सांसद बनेर आए। खासगरी रास्वपा सभापति रवी लामिछानेको निकट मानिने उनि सांसद भएपछि झन् थामिने कुरै थिएन। संसदमा पनि चर्को भाषण अनि सडकमा पनि उस्तै। ‘ओशो’को चेला बनेका खगेन्द्रको पहिरन अनि रहनसहन पनि उस्तै छ। सांसद बनेपछि पनि उनका धेरै त्यस्ता अभिव्यक्तिहरू विवादित र आलोचित छन्। 

हाल उनि त्यहि विवाद र आलोचनाकाबीच नेपाल प्रहरीको संगठनप्रमुखसँगै भिडिरहेका छन्। 

अघिल्लो साता प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिले छलफल आह्वान गरेको थियो। त्यसमा समितिका सदस्य सांसदहरू तथा नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की पनि सहभागी थिए। गृहमन्त्रीलाई बोलाइएको त थियो। तर उनि उपस्थित भएनन्। 

छलफलकै क्रममा बोल्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले प्रहरी संगठन र गृहमन्त्रालयका उच्चअधिकारीमाथि गम्भिर आरोप लगाएका थिए। उजुरीका आधारमा भने पनि सांसद सुनारको त्यो आरोप भने पुष्टी भइसकेको छैन। स्वंय आइजिपी आफैले पनि त्यो प्रक्रिया सुरुवातमात्रै भएको भन्दै काम नै नभइ भ्रष्टाचार वा अनियमितताको आरोप नलगाउन भनेका थिए। खासमा २१ फागुनमा भएको निर्वाचनमा प्रहरी र निर्वाचन प्रहरीका लागि खरिद गरिएको पोशाक, जुत्ता, मोजालगायतमा अनियमितता भएको उजुरी परेको थियो।

लेखा समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोशाक तथा अन्य सामग्री खरिदमा अनियमितता भएको भनेर परेको उजुरीउपर छलफल भएको थियो।

छलफलमा सांसद सुनारले भनेका थिए ‘प्रहरीको कपडा खरिदमा, जुत्ताहरूको खरिदमा समिति ९छानबिन समिति० बन्नुपर्छ। धामीको मुद्दा धामीले, कामीको मुद्दा कामीले, सार्कीको मुद्दा सार्कीले छानबिन गर्न पाइँदैन। यसबारे विशेष खालको छानबिन समिति बन्नुपर्छ। उनले यो प्रहरी पोशाक खरिद गर्ने जिम्मेवारी पाएको ठेकेदार छनोट प्रक्रियामै प्रश्न पनि उठाए। सुनारले तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, तत्कालीन सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र नेपाल प्रहरीका आईजीपी कार्की जिम्मेवार रहेको दाबी गरेका थिए। तर तीमध्ये कार्कीबाहेक अरु कोही पनि अहिले जिम्मेवारीमा छैनन्। 

‘नैतिकता छ भने तपाईंहरूले छोड्नुपर्छ। कानुनी राज्य हो भने बर्खास्ती गरिनुपर्छ, आजै, अहिल्यै राइट नाव,’ उनले धम्कीयुक्त भाषामा भनेका थिए, ‘स्पष्ट कुरा छ, तत्कालीन गृहमन्त्री, गृहसचिव र आईजीपीलाई तत्काल सेवाबाट निलम्बन गरेर, जिम्मेवारीबाट बर्खास्त गरेर, बाहिर ल्याएर कठघरामा राखेर यो विषयमाथि छानबिन हुनुपर्छ। ‘अख्तियारमा मुद्दा चलिरहेको छ भनेर अलमल पारेर चोखिएर रिटायर्ड भएर घर जान पाइँदैन। राजु अर्यालजी कहाँ हुनुहुन्छरु यहाँ तत्काल लिएर आउनुपर्‍यो। ओमप्रकाश अर्यालजी कहाँ हुनुहुन्छरु तत्काल ल्याएर यहाँ कठघरामा उभ्याउनुपर्‍यो।  बर्दी लगाएर छानबिन हुँदैन। बर्दी लगाएर ल छानबिन गर भन्न पाइँदैन। गृहसचिवले त्यो कुर्सीमा बसेर ल छानबिन गर भन्न पाइँदैन।’ 
 

आइजिपीको जवाफ?
त्यही छलफलका क्रममा आइजिपी कार्कीले सांसद सुनारलाई मुखभरिको जवाफ दिएका थिए। 

हामी कस्ता मानिसबाट शासित भएका छौँ? सेमिङ, ब्लेमिङ, गेमिङ गर्न हामीलाई पनि आउँछ। यो धर्तीमा सबैभन्दा काम नलाग्ने मान्छे हामी नै रहेछौँ कि जस्तो लाग्यो। दूधले नुहाएका मान्छेको छेउमा बसियो कि जस्तो लाग्यो। प्रहरीलाई घिसार्छु भन्ने कुन किसिमको पाषाण युगीन मानसिकता बोकेका मान्छेबाट हामी शासित हुँदैछौँ कि भन्ने चिन्ता लागिरहेछ। निष्ठापूर्वक काम गरिरहेको मान्छेलाई यहाँ ल्याएर जे मन लाग्यो त्यही भनिएको छ। कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि?

हामी पनि प्रहरी मात्रै होइनौँ, देशका नागरिक पनि हौँ। प्रहरीको रूपमा त यो छुच्चो पेसा हो, यसमा सम्मानको अपेक्षा गर्नु नै भुल हुन्छ। जेनजी आन्दोलनका क्रममा ५९३ वटा सवारी साधन जलेको यो मुलुकमा चुनाव हुनु २० दिनअघि दाताले दिएका गाडी पाएर चुनाव गराइएको हो । त्यो छ महिनासम्म प्रहरीले कसरी गस्ती गरेर शान्ति सुरक्षाको प्रत्याभूति दियो भनेर त कसैले सोधेन। अहिले पनि देशका १३ सय प्रहरी चौकीको आफ्नै भवन छैन, सवारी साधन छैन। प्रश्न सोध्ने माननीयज्यूहरूलाई मेरो प्रश्न छ, जग्गा नभएका र गाडी नभएका प्रहरी चौकीलाई ती साधन जुटाउनेबारे एक दिन संसद्‌मा बहस गरौँ।

आजसम्म निष्ठापूर्ण काम गर्‍या मान्छेलाई ल्याएर अब यहाँ ल्याएर जे मन लाग्यो त्यही भन्या छ। जे मन लाग्यो त्यही भन्ने स्थान होइन होला त कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि। एउटा त्यो पनि मैले भन्दै छु। त्यसैले अलिकति हाम्रा पनि निवेदन परेका छन् नि। सबैका पर्‍या निवेदन यस्तै गरी आउँदा खेरि गारै पर्छ। अब म पनि सोच्दै छु, ल्याऊँ कि क्या हो। प्रहरीलाई घिसार्छु भन्नेले बडा मिठो कुरा गरेको कुरा सुन्न पाइयो । घिसार्छु भन्ने कुन किसिमको पाषाणयुगीन मानसिकता बोकेका मान्छेबाट हामी शासित हुँदैछौँ भन्ने चिन्ता गरिराखेकै बीचमा बडा दूधले नुहाएको कुरा सुनिन्छ। यस्ता विरोधाभास कुराले हामीलाई खासै कहीँ पुर्‍याउँदैन।’

त्यो कुरा आइजिपीले आफ्ना विभागीय मन्त्री सुधन गुरुङ, सभामुख डोलप्रसाद अर्याल र पार्टीसभापति रवी लामिछानेसँग पनि भनेका थिए। तर त्यत्तिकैमा खगेन्द्रले फेरि सामाजिक सञ्जालबाट सांसद सुनारको अर्को प्रतिवाद गरे। 

उनले सामाजिक सञ्जालमा लेखेका थिए- 
म राष्ट्रसेवक ९ प्रहरी सिपाही र दुःखमा साथ दिने म्यादी प्रहरीको पक्षमा सदैव छु। तर गरिबका छोराछोरी, म्यादी, सिपाही, हवलदार भएका छन्, उनीहरूका जुत्ता, मोजा, कट्टु, रासन खाएको अरबौँको गम्भीर र ठूलो मुद्दा परेको छ, मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन दिने हैन, जुत्ता लगाउने हो खाने हैन।  १ हजार अर्बभन्दा धेरै राज्यमा बेरुजु छ। भ्रष्टाचार, घोटाला, अनियमितता, काण्ड त कति कति, राज्यको आर्थिक हिसाब९किताबको छलफल गर्ने सार्वजनिक लेखा समितिमा हामी छौँ। हामीले मुख मिठ्याउँदा जनताको मुख तितो हुन्छ। हामीले तितो बोल्दा भोका नाङ्गा पिँधका जनताको मुख मिठो हुने दिन आउँछ भने, धेरै तितो बोल्न बाँकी छ, बिरालोको घाँटीमा घण्टी बाँध्ने जोखिम कसैले न कसैले लिनै पर्छ, त्यसको लागि जस्तोसुकै मूल्य चुकाउन किन नपरोस्, हिजोको मुद्दा बर्दी र फुली देखाएर धम्काउँदैमा सकिने विषय हैन।

गृहमन्त्रीले के भने?
आफ्ना संगठनका प्रमुखहरूमाथि भइरहेको यो अमर्यादित व्यवहारप्रति संसदको अर्को समितिमा गृहमन्त्री सुदन गुरुङले गम्भिर असन्तुष्टी प्रकट गरे। 

शुक्रबार कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा उपस्थित भएर सार्वजनिक लेखा समितिको बैठकमा भएको व्यवहारप्रति असन्तुष्टि जनाएका हुन्।

अस्ति म त्यो समितिमा नभएको हिसाबले आज यो समितिमा एउटा सानो भन्ने मौका पाएको छु। जसरी हाम्रो मेरो गैरउपस्थितिमा जसरी हाम्रो सचिवज्यू र हाम्रो सहसचिवज्यूहरू, प्रहरी प्रमुखलाई जसरी जुन व्यवहार एउटा समितिमा प्रस्तुत गर्नुभयो, त्यसमा चाहिँ गृहमन्त्रीको ध्यानाकर्षण भएको छ। दिस इज नट राइट, दिस इज नट गुड।’

कसैलाई एउटा भनौं न, उजुरीको भरमा हामी न्यायाधीश बन्न चाहिँ मिल्दैन। आरोप हो जो कसैले नि लगाउन सक्यो। त्यसको आधारमा कसैको चरित्र हत्या गर्न पाइँदैन। इट इज नट गुड। अनि हाम्रो गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ यसमा चाहिँ। वि आर नट ह्याप्पी अबाउट इट’। मन्त्रालयका साथीहरू पनि यहीँ भएको हिसाबले चाहिँ मैले कुरा गर्न चाहेँ। हाम्रा कर्मचारीहरूले जसरी काम गर्नुभएको छ, मिहिनेत गर्नुभएको छ, म प्रत्यक्षदर्शी छु। जसरी आईजी साबहरू काम गर्नुभएको छ, म प्रत्यक्षदर्शी छु। उहाँहरू हाम्रो स्पिरिटमा स्पेसल्ली, यो सरकारको स्पिरिटमा काम गर्नलाई उहाँहरू दिनरात खट्नुभएको छ, यसमा दुई मत छैन। आरोप लगाउन जोसुकैले नि सक्यो, तर त्यो पुष्टि नभएसम्म चाहिँ कसैलाई चाहिँ दोषी करार गरेर चाहिँ एउटा समिति मार्फत त्यस्तो गर्नु राम्रो होइन।

त्यसपछि सांसद सुनारलाई गृहमन्त्री गुरुङ र पार्टी सभापति लामिछाने आफैले पनि त्यस्ता अभिव्यक्तिहरू नदिन भनेर सम्झाएका थिए। तर सांसद सुनार यत्तिकैमा रोकिएनन्। 

बिहीबार  प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा उनले प्रहरीको हेडक्वार्टर बिचौलियाहरूले कब्जा गरेको भन्दै संगठनमाथि नै गम्भिर आरोप लगाए र संगठन प्रमुख आईजीपीमाथि उठेका प्रश्नको छानबिन हुनैपर्ने जिद्दी कसे।

लेखा समितिमा सांसद खगेन्द्रले के भने?
‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा हामीले डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएनरु फेरि यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ। निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्। अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु। कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला, कठघरामा उभिएर जवाफ दिनलाई म तयार छु। तर एउटा सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन।