अधिवक्ता शाहको पुस्तक सार्वजनिक


अधिवक्ता शाहको पुस्तक सार्वजनिक

नेपालगन्ज : नेपालगन्जका सफल युवा कानून व्यवसायीको परिचय बनाइसकेका अधिवक्ता लोकबहादुर शाहको पुस्तक ‘चौकीदारदेखि वकिलसम्म’ विमोचन गरिएकोछ ।

क्रियटिभ बुक्सद्वारा प्रकाशित अधिवक्ता शाहको उक्त पुस्तकको बिहीबार एक कार्यक्रमका बीच उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलासका वरीष्ठतम न्यायाधिश पवन कुमार शर्माले विमोचन गरे ।

अधिवक्ता शाहले आफ्नै विगतमाथि लेखेको पुस्तक हो यो । क्रियटिभ ह्याण्डसका अध्यक्ष टिएस ठकुरीको सभापतित्वमा भएको उक्त विमोचन कार्यक्रममा बोल्दै न्यायाधिश शर्माले शाहद्वारा लेखिएको पुस्तकमा गाउँ परिवेश, आफ्ना भोगाईहरु समेटिएको बताउँदै यसले नयाँ पिढीलाई प्रेरणा मिल्ने भन्दै शुभकामना दिए ।

नेपाल वार एशोसियसनका वरिष्ठ उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ, समाजसेवी शशि स्वाँरले उक्त पुस्तकमा टिप्पणी गरेका थिए । शाहको पुस्तकमा संघर्ष, भोगाई, तत्कालिन सामाजिक परिवेश समेटिएको भन्दै यसले सफलता खोज्नेका लागि प्रेरणादायि हुने बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

सुदूरपश्चिमी पहाड अछामको गरिबी र दुःखले थिचेको विकट गाउँबाट उठेर शाहले फराकिलो क्षितिज पहिल्याउँदाको जीवन संघर्षको कथा पुस्तकमा उतारेकाछन् ।

छाउपडी प्रथा, हटारु जीवनशैली र भारतको चौकीदारीको आफ्नै अनुभूति मात्र होइन, उनले व्यवसायिक संघर्षका उतारचढावका संस्मरणहरु पनि समेटेको क्रियटिभ ह्याण्डका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए ।

पत्रकारद्वय जनक नेपाल र कुमार श्रेष्ठद्वारा सम्पादन गरिएको पुस्तकमा दुःखको चौघेरा पन्छाएर सफलताको सिढी चढ्न खोज्ने युवा पुस्ताका लागि पुस्तक प्रेरणादायी हुने क्रियटिभ ह्याण्डसका अध्यक्ष ठकुरी बताए ।

अछामको तत्कालिन शान्तडा–३, सारागाउँमा जन्मिएका अधिवक्ता शाहले मेलारुखको नेराप्राविबाट अध्ययन शुरु गरेका थिए । २०४६ सालमा एसएलसी पास गरेपछि सुर्खेतमा आइएल पढेका शाहले त्यसपछिको पढाई नेपालगन्जबाट पुरा गरे । २०५१ सालमा नेपालगन्ज पढ्न आएका शाह यहीको स्थायी बासिन्दा बने ।

एसएलसी पास भएपछि भारतको बम्बईमा दाजुहरुसँग चौकीदार गर्न गएको, नेपालगन्जमा १८ वर्षको डेराको यात्रा, पहिलो बहस गर्दाको अवस्था, परिपक्व वकिल देखिन कालो कोट र जुँगा पालेका सम्झनाहरु किताबमा पढ्न पाइन्छन् ।

बराबरी मत आएपछि गोलाप्रथाबाट बारको अध्यक्ष भएका शाह गणित विषय छल्न कानून बिषय पढेका हुन् । गणित पढ्न नपरोस् भनेर कानून पढेका शाह कालान्तरमा नेपालगन्जको मात्रै नभएर देशकै चर्चित कानूनी व्यवसायी बन्न सफल भएकाछन् । यो अवधिसम्म उनले भोगेका दुःख र संघर्षहरु उतारिएको छ ।

पुस्तक विमोचन कार्याक्रममा बाँकेका कानून ब्यवसायी, अधिकारकर्मी, उद्योगी, व्यवसायी, समाजसेव, विभिन्न संघसस्थाका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।