न्याय पाउने आशा पलायो


न्याय पाउने आशा पलायो

नेपालगन्ज : कर्तब्य ज्यान अपराधका पीडितहरुले न्याय पाउने आशा पलाएको बताएका छन् । कर्तब्य ज्यान अपराधका पीडितहरुसंग जिल्ला प्रहरी कार्यालय बाँकेले गरेको भेटघाटका क्रममा पीडित परिवारले यस्तो बताएका हुन् ।

आफ्नो मान्छे गुमाउनुको पीडा र न्याय प्रणालीमा महत्वपूर्ण भूमिका खेल्ने प्रहरीको सक्रियता बढेपछि जिल्लामा घटेका कर्तब्य ज्यान अपराधका पीडितहरुले पीडकलाई कारबाही हुने र आफूहरुले न्याय पाउने भएपछि न्यायको आशा पलाएको जिकिर गरे ।

त्यसो त कर्तब्य ज्यानका मुद्दाहरुमा प्रहरीले तदारुक्ता र चासो नदिदाँ पीडितले न्याय नपाएको गुनासो बढिरहेका बेला नेपाल प्रहरी प्रधान कार्यालयको देशब्यापी अभियान स्वरुप थालिएको कर्तब्य ज्यान अपराधका पीडितहरुसंग भेटघाट कार्यक्रमले प्रहरीको अपराध अनुसन्धानमा सघाउ पुग्ने भन्दै यसको निरन्तरता, प्रभावकारितामा जोड दिनुपर्ने पीडितहरुको आग्रह छ ।

सशस्त्र भूमिगत समूह जनतान्त्रिक ज्वाला समुहद्वारा अपहरण पश्चात हत्या गरिएका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२१ पुरैनाका वसन्त मल्लका भाई विजय मल्लले कर्तब्य ज्यान अपराधका पीडितहरुसंग सोही घटनाका विषयमा पुनः छलफल शुरु गरिएको भन्दै यसको प्रभावकारिता र निरन्तरतालाई जोड दिन आग्रह गरे ।

Kanti Aarogya Hospital Nepalgunj

उनले भने–‘आफ्नो मान्छे गुमाउनुको पीडा एकातिर, दोषीलाई कारबाही होला नहोला भन्दै न्याय कुर्दै बसिरहेका बेला प्रहरी स्वयले पीडित परिवारसंग घटनाका विषयमा छलफल गरेपछि प्रहरी र पीडित परिवारलाई थप सहज हुनेछ ।’

मल्लले पीडितको संरक्षण ऐनको प्रभावकारि कार्यान्वयन गर्दै प्रहरी र सरकारले पीडित परिवारको जिविकोपार्जन लगायतका विषयमा थप सहयोग गर्नुपर्ने धारणा राखे ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–७ गगनगञ्जका चेतन मानन्धरका बुवा किशोर मानन्धरले कर्तब्य ज्यान अपराधका पीडितलाई बोलाई प्रहरीबाट भएगरेका कार्यसम्पादन सम्बन्धि जानकारी गराउँदा घटनाको तहमा पुग्न सजिलो हुने बताए ।

उनले भने–‘यो या त्यो बहानामा पीडकले उन्मुक्ति पाउनु हुदैन । अपराधी पक्राउ र कानूनी दायरामा ल्याउन हामी प्रहरीलाई सघाउँछौं प्रहरीले पनि हामीलाई पारदर्शीरुपमा न्याय प्राप्तीका लागि सहयोगी भूमिका खेल्नुपर्छ ।’

त्यसो त छोराको घटना घटेपछि अपराधीलाई पक्राउ गर्न र प्रहरीबाट भएगरेका अनुसन्धानका विषयमा स्वस्फूर्त हामी आएका थियौं । तर, पीडित परिवारलाई नै यसरी बोलाएर लुकेका, लुकाइएका, फरार रहेका अपराधी सामु पुग्न तथा अपराध अनुसन्धानलाई थप प्रभावकारि बनाउन प्रहरीले चालेको अभियान पीडितले न्याय पाउनेमा उत्साह थपेको उनले बताए ।

यसैगरी भेटघाटमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४, गणेशपुरमा मारिएका रतन शाहीका बुवा भीमबहादुर शाहीले अपराधी पक्राउ र पीडितलाई न्याय दिलाउन प्रहरीले चालेको सकारात्मक प्रयासलाई स्वागत गरे ।

उनले अझ पनि पीडकबाट आफू र आफ्नो परिवारलाई धम्की दिइरहेको बताउँदै भने–‘अनुसन्धान र अपराधी पहिचानमा यो कार्यले सहयोग गर्नेछ । आफ्ना मान्छे गुमाएको पीडाका बेला बाध्यताले पनि केही कुरा लुकाइन्छ, छुट्छ, भुलिन्छ । तर, अब म जस्तै जिल्लाका अरु पीडित परिवारले पनि न्यायको अनुभूति पाउनेमा आशाबादी छु ।’

प्रहरी प्रधान कार्यालयले विशेष गरि कर्तब्य ज्यान अपराधका घटनाको प्रभावकारी तथा धेरै आयामबाट अनुसन्धान गर्न र वास्तविक अपराधीलाई कानूनी कटघेरामा ल्याउन यो अभियान शुरु गरिएको बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी दिए ।

पीडित परिवारसंग छलफल गर्दै उनले भने–‘म बाँकेमा रहदाँसम्म कर्तब्य ज्यानका अपराधहरु सबै फच्छ्यौट गरेर जान्छु ।’ पीडकप्रति आक्रामक बन्दै उनले भने–‘कर्तब्य ज्यान मुद्दाका फरार रहेका, पहिचान खुल्न नसकेका सबैलाई पक्राउ गरि कानूनी दायरामा ल्याउछु । चाहे त्यो अपराधी छिमेकी देश भारत होस् वा अन्य तेस्रो मुलुक जहाँ भएपनि पत्ता लगाएर ल्याउछौं । यसमा पीडित परिवारको साथ र सहयोगको अपेक्षा राख्दछु ।’

उनका अनुसार आफू बाँकेमा आएको अवधिमा कर्तब्य ज्यान मुद्दाका फरार अपराधीलाई पक्राउ गर्ने अभियान नै मुख्य रहेको बताउँदै उनले भने –‘यसमा प्रहरीको एकल प्रयासले मात्र सफल भइदैन । यसका लागि पीडित परिवारले पनि प्रहरीसगं सहकार्य गर्नुपर्छ ।’