पश्चिमी सीमामा तालीम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन


पश्चिमी सीमामा तालीम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन

File Photo

कञ्चनपुर : आपराधिक क्रियाकलाप रोक्नका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सीमा नाकामा विशेष तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरेको छ । तिहारलगायत चाडपर्वका बेला सीमा क्षेत्रमा हुने लागुऔषध, विष्फोटक पदार्थ, अवैध हतियारको ओसारपसारलाई रोक्न कुकुरसहितको प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

पश्चिमी सीमा नाका गड्डाचौकी, महेन्द्रनगरस्थित बस पार्क, गौरीफण्टा सीमा नाकालगायत कुकुरसहितको प्रहरीको टोली परिचालन गरिएको उनले बताए ।‘सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको सहयोगमा तालीम प्राप्त कुकुर ल्याएर सीमा क्षेत्रमा प्रभावकारी रुपमा जाँचको कार्यलाई अगाडि बढाएका छौँ’ प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीले भने, ‘लुकाइछिपाइ लागुऔषध, बिष्फोटक पदार्थ र हातहतियार ल्याएमा तालीम प्राप्त कुकुरले सुँघेर पत्ता लगाउने गर्दछ । सीमापारबाट हुने अवाञ्छित गतिविधि रोक्नका लागि यस कार्यले सघाउ पुर्याउने छ ।’

Kanti Aarogya Hospital Nepalgunj

तिहारलगायत चाडपर्व नजिकिँदै गर्दा सीमा क्षेत्र र बस पार्क क्षेत्रमा भीडभाड बढ्न थालेपछि आपराधिक क्रियाकलापसमेत बढ्न सक्ने भएकाले उच्च सर्तकता अपनाइएको उनको भनाइ छ । उनकाअनुसार दुई साताका लागि कुकुरसहितको टोली सीमा नाकामा परिचालन गरिनेछ । स्थानीय प्रहरीसँग समन्वय गरी कुकुरसहितको टोलीलाई परिचालन गरिएको छ ।

सीमा क्षेत्रमा प्रहरीका सादा र पोशाकमा समेत गस्ती टोलीलाई परिचालन गरिएको छ । सीमा क्षेत्रमा केही दिनदेखि लागुऔषधसहित पक्राउ पर्नेको सङ्ख्यासमेत बढ्दो रुपमा रहेको छ । महेन्द्रनगर बस पार्क क्षेत्रबाट मात्रै प्रहरीले केही दिन अघि ६ बोरा विष्फोटक पदार्थ (पटाका) बरामद गरेको थियो । -रासस