आगामी मंसिर २० गते मिस नेपालको फाइनल


आगामी मंसिर २० गते मिस नेपालको फाइनल

तस्बिरः हिडन ट्रेजरको अफिसियल वेबपेजबाट

नेपालगन्ज : आगामी मंसिर २० गते मिस नेपाल– २०२० को फाइनल प्रतियोगिता हुने भएको छ । कोरोनाका कारण रोकिएको प्रतियोगिताको फाइनल अडिसन मंसिर २० गते हुने आयोजक हिडन ट्रेजरले जनाएकोछ । यसका लागि केहीदिन अघिदेखि काठमाडौंमा अडिसन सम्पन्न गरि फाईनलको तयारी शुरु गरिसकेको आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि २१ जना प्रतिस्पर्धी छनोट गरिएको हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णीकारले बताए ।  उनका अनुसार –‘यो वर्ष २१ जना प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुनेछ । यसका लागि हामीले देशका मूख्य ९ सहरबाट प्रतिस्पर्धी छनोट गरिसकेका छौं । अहिले उहाँहरु तालिममा सहभागी भइरहनु भएको छ,’ अध्यक्ष दिवाकरले अगाडी थपे,–‘पब्लिकमा गएर प्राक्टिकलरुपमा गरिने क्रियाकलापबाहेक अन्य सबै गतिविधि तथा तालिमहरु यो वर्ष हुनेछन् र भइरहेका छन् ।’

अन्य वर्ष तीनदिन रेसिडेन्सियल तालिम गराउने आयोजकले यो वर्ष १५ दिन होटलमा राखेर प्रतिस्पर्धीलाई ट्रेनरबाट तालिम दिने छ । यो वर्षको फाइनलमा दर्शक भने सहभागी हुने छैनन् ।

दर्शकले भर्चुअल रुपमा टेलिभिजन तथा सामाजिक सञ्जालमा फाइनल हेर्न सक्नेछन् । कोरोनाको जोखिमका कारण दर्शकको उपस्थितिमा कार्यक्रम गर्न सम्भव नभएको आयोजकको भनाइ छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

हिडन ट्रेजरले कोरोना संक्रमणको जोखिम शुरु हुनुभन्दा अगाडि नै काठमाडौं बाहेक देशका अन्य आठ सहरमा अडिसन लिएको थियो । कोरोनाका कारण केही महिना रोकिएको प्रतियोगिता पुनः शुरु भएको हो ।