नेपालगन्जमा पहिलोपटक नाट्य कार्यशाला


नेपालगन्जमा पहिलोपटक नाट्य कार्यशाला

तस्विर सौजन्य : सुन्दर गुरुङ्ग

नेपालगन्ज : प्रतिभाको खोजी गर्दै नेपालगन्जमा पहिलोपटक नाट्य कार्यशाला शुरु भएकोछ । पश्चिम नेपालको मुख्य केन्द्रविन्दु मानिएको नेपालगन्जमा नाट्य, चलचित्र कलाप्रति चासो र रुचि राख्नेका लागि उक्त प्रशिक्षणको आयोजना गरिएको हो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजना गरिएको उक्त नाट्य कार्यशालामा बाँके, बर्दिया, दाङ्ग, कैलाली, सुर्खेत लगायतका जिल्लाहरुबाट नाट्यमा रुचि राख्ने करीब तीन दर्जन युवाहरुको सहभागिता रहेकोछ ।

आगामी मंगलबारसम्म चल्ने कार्यशालाको मुख्य प्रशिक्षकका रुपमा नेपालगन्जका चर्चित चलचित्र कलाकार वीरेन्द्र हमालले प्रशिक्षण दिइरहेकाछन् । नाट्य कला क्षेत्रमा राष्ट्रिय स्तरमा स्थापित हमालले नेपालगन्जमा कला क्षेत्रमा रुचि राख्नेहरुको प्रतिभा निखार्न उनीहरुका लागि प्रशिक्षणको आयोजना गरिएको बताए ।

बाल्यकालदेखि नै नेपालगन्जमा कलाकारिताको क्षेत्रमा आबद्ध नेपालगन्ज घरबारी टोलका हमाल नेपाल साँस्कृतिक प्रतिष्ठान, राष्ट्रिय नाचघरको नाट्य विभागका प्रमुखको रुपमा कार्यरत छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

२०४० सालमा कलाकारिताको सीप सिक्न काठमाडौं लागेका हमालले छात्रवृत्ति पाएपछि भारत, चीन, कोरिया लगायतका मुलुकमा गई प्रशिक्षण समेत लिएका छन् ।

उनले प्रशिक्षण दिएका कलाकारहरु नेपालकै चर्चित कलाकारको रुपमा अहिले स्थापित भएका छन् । आफ्नो जन्मथलो नेपालगन्जमै कलाकारिता र विशेषगरि नाट्य कलाको विकासका लागि आगामी दिनहरु समर्पण गर्ने अठोट लिएको बताउँदै हमालले निकट भविष्यमा नाट्य फेष्टिबलको आयोजना गर्नुका साथै अवधी संस्कृति र कलाको जगेर्ना र प्रर्बद्धनका लागि पनि काम गर्ने योजना रहेको जनाए ।

कार्याशालामा स्थानीय कलाकार सुन्दर गुरुङ्गले बाँकेबाटै राष्ट्रिय स्तरका कलाकार रंगकर्मीहरु उत्पादन गर्न सहयोगी भूमिका कार्यशालाले खेल्ने बताए । उनले स्थानीय युवाहरुमा लुकेको अन्तरनिहीत कला र प्रतिभालाई उजागर गर्न कार्यशालाले सहयोग गर्ने बताए ।

यस्तै नेपालगन्जका वरिष्ठ पत्रकार पूर्णलाल चुके तथा वरिष्ठ लोक गायक कमल विके निर्मोहीले नेपालगन्जमा नाट्य कार्यशाला हुनु गर्व र आफैमा एकदमै महत्वको विषय भएको बताउदै आफैमा समृद्ध भएको अवधी कला संस्कृतिको जगेर्ना र प्रर्बद्धनका लागि पनि प्रतिष्ठानले योजना बनाएर काम गर्नु पर्ने धारणा राखे ।