इम्बोस्ड प्लेट विना गाडी गुड्न नपाउने

एउटा मोटरसाईकलमा जडान गर्दा २५ सय शूल्क


इम्बोस्ड प्लेट विना गाडी गुड्न नपाउने

File Photo

नेपालगन्ज ६ फागुन : सरकारले इम्बोस्ड प्लेट विना सवारी साधन गुड्न नदिने भएकोछ । सरकारले सबै सवारीमा इम्बोस्ड नम्बर प्लेटको जडान कार्यलाई अनिबार्य गरेपछि यस्तो हुने भएको हो । यसका लागि सरकारले पुराना सवारी साधनको क्रमैसंग लट तोकेर इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्ने व्यवस्था गर्न लागेको छ ।

नयाँ नम्बर प्लेट लिने सवारी साधनलाई पनि यही प्लेट जडान गर्ने व्यवस्था निकट भविष्यमै गरिने विभागले जनाएको छ । इम्बोस्ड नम्बर प्लेटबारेका सबै विवाद समाधान भएकोले अब पुरानो योजनाअनुसार नै सरकार अगाडि बढ्न लागेको हो ।

पटक–पटकको विवाद र बहसपछि विभागले गत माघ महिनाबाट स्वेच्छिक रुपमा इम्बोस्ड प्लेटको जडान शुरु गरेको थियो । तर, सरकारी नम्बर प्लेटका सवारीलाई भने विभागले आगामी चैत मसान्तसम्म इम्बोस्ड प्लेट जोडिसक्न समयसीमा दिएको छ ।

सरकारले इम्बोस्ड प्लेटको जडानलाई गति दिन नामाकरण भइसकेका प्रदेशहरुमा अनिवार्य गर्ने तयारी अघि बढाइसकेकोछ । हाल देशका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नामाकरण भइसकेको छ । भने प्रदेश १ र २ को नामाकरण भने टुंगिन बाँकी छ ।

Kids Festival 2022
kanti aarogya hospital

कति लाग्छ खर्च

सरकारले इम्बोस्ड प्लेट जोड्न दुईपांग्रेको हकमा २५ सय, टेम्पोलगायत तीनपांग्रे साना सवारीमा दुई हजार ९ रुपैयाँ र कार, जिप, भ्यान तथा ट्रयाक्टरलगायत चारपांग्रेलाई ३२ सय रुपैयाँ शुल्क तोकेको छ ।

ठूला सवारीले इम्बोस्ड प्लेट राख्न ३६ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । भने यो शुल्क महँगो भएको गुनासो आएपनि विभागले यही शुल्क कायम रहने बताएको छ । यसअघि नै प्लेट जोड्दा शुल्क तिरिसकेका सवारीलाई पनि फेरि शुल्क तिर्न बाध्य पार्ने गरी सरकारले इम्बोस्ड प्लेट जडानलाई अनिवार्य गर्न लागेको छ ।

यसैबीच सरकारले इम्बोस्ड प्लेटमा नेपाली अक्षर र अंक (देवनागरी लिपि)को प्रयोग नगर्ने भएकोछ ।

कतिपय सहरी र ग्रामीण क्षेत्रमा समेत अंग्रेजी भाषिक साक्षरताको प्रतिशत अत्यन्त न्यून रहेकाले अंग्रेजी लिपिको मात्र प्रयोग गर्दा सर्वसाधारणलाई नम्बर प्लेटको अंक र अक्षर पढ्न र बुझ्न कठिन हुने तथा दुर्घटना हुँदा नम्बर टिप्न नसक्ने अवस्था हुने भएकाले पीडित नागरिकले सहजै न्याय पाउने वातावरण बनाउन पनि देवनागरी लिपिको प्रयोग अनिवार्य भएको भन्दै आवाज उठेको थियो ।

तर, सरकारीस्तरमा भएको छलफलमा अंग्रेजी भाषामा नै जानुपर्ने निष्कर्ष निस्किएपछि फेरि इम्बोस्ड जडानको काम शुरु गरिएको छ । देवनागरी लिपि प्रयोगको माग हुँदा अंग्रेजीको प्रयोग विश्वस्तरीय भएको र यस्तो प्लेटलाई चिन्ने डिभाइसले अंग्रेजी भाषा मात्रै पढ्नसक्ने सरकारी निष्कर्ष छ । सोही विषयमा सर्वोच्चमा परेको मुद्दामा २ वर्षसम्म ‘अंग्रेजी भाषाको प्रयोग सही छ’ भन्ने वकालत गरेर सरकारले मुद्दा समेत जितिसकेकोछ । अदालतबाट बाटो फुकेपछि इम्बोस्ड प्लेट जडानको काममा कुनै कानूनी र प्राविधकि प्रश्न नभएकाले सरासर कार्यान्वयन गर्ने गरी अघि बढ्न लागिएको हो । करिब २६ लाख सवारीले यस्तो नम्बर प्लेट जडान गर्ने अनुमान छ ।

के हो इम्बोस्ड ?

यो नम्बर प्लेटको बाहिरी भागमा सवारीको नम्बर उल्लेख गरिन्छ । धातुको प्लेटमा लेखिएका अक्षरहरू बाहिर देखिने गरी उठेका हुन्छन् । यो नम्बर प्लेट एकपटक जडान गरेपछि निकाल्न मिल्दैन । निकालेमा त्यसलाई काट्नैपर्छ । त्यसैकारण कसैले पनि सवारीसाधन चोरी गरेर चलाउन नसक्ने दावी गरिएको छ । प्रहरीले हातैमा बोक्ने रिडर मेसिनले इम्बोस्ड नम्बर प्लेटलाई सहजै चेकजाँच गर्न सक्छ ।

इम्बोस्ड नम्बर प्लेट जडान भएका सवारीमा विभागले विद्युतीय स्टिकर टाँस्छ । त्यो स्टिकरमा सवारीका विस्तृत विवरणहरु राखिन्छन् । यो नम्बर प्लेटमा राखिने प्रविधियुक्त चिप्सभित्र पनि सवारी धनी र सवारीका विभिन्न विवरणहरु हुन्छन् । जसका आधारमा प्रहरीले सवारीको डिटेल तुरुन्त लिन सक्छ ।

यस्तै शहरका विभिन्न भाग र राजमार्गहरुमा इम्बोस्ड नम्बर प्लेटलाई रिड गर्ने मेसिनसहितको गेट राख्ने योजना पनि छ । जसलाई पार गर्ने जुनसुकै सवारीका सबै विवरणलाई मेसिनले रिड गरेर कम्प्युटरमा ‘अटो इन्ट्री’ गर्नेछ । यसबाट कुन सवारी कुन क्षेत्रमा छन् भन्ने थाहा पाउन समय लाग्दैन ।