‘सय वर्ष पुगेपछि बल्ल परिचयपत्र पाएँ’


‘सय वर्ष पुगेपछि बल्ल परिचयपत्र पाएँ’

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित वडा कार्यालयमा आइतबार १०० वर्षिया ज्येष्ठ नागरिक मनकुमारी लामिछानेलाई परिचयपत्र वितरण गर्दै गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ। तस्वीर : कृष

तनहुँ ८ चैत : तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिक परिचयपत्र वितरण शुरु गरेको छ । गाउँपालिकाले वडास्तरबाटै ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण शुरु गरेको हो ।

आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित वडा कार्यालयमा आज १०० वर्षीया मनकुमारी लामिछानेलाई गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले परिचयपत्र प्रदान गरे । विसं १९७६ पुस ५ गते जन्मिएकी लामिछानेले पहिलो पटक ज्येष्ठ नागरिक परिचयपत्र पाउँदा खुशी लागेको बताइन् ।

‘एक सय वर्ष पुगेपछि बल्ल परिचयपत्र पाएँ, अब पाउनुपर्ने अन्य सुविधा पनि पाउने आशा जाग्यो’, लामिछानेले भनिन् । गाउँपालिकाले वडा वडाबाटै परिचयपत्र वितरण गरिदिँदा आफूहरूलाई सहज भएको उनले बताइन् । ‘यो अवस्थामा गाउँपालिकासम्म गएर परिचयपत्र लिन परेको भए समस्या हुन्थ्यो’, उनले भनिन् , ‘घरआँगनमै परिचयपत्र पाउँदा एकदमै खुशी छु ।’

परिचयपत्र वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले सबै वडा कार्यालयबाट ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिने जानकारी दिँदै परिचयपत्र वितरणपछि ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक ऐन बमोजिमका छुट तथा सुविधा प्राप्त गर्ने बताए । पोख्रेलका अनुसार गाउँपालिकाका ६ वटै वडामा करिब एक हजार ४०० बढी ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिनेछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

चैत ९ गते आँबुखैरेनी गाउँपालिका–२ र ३ को वडा कार्यालयबाट परिचयपत्र वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिए । वडा नम्बर ४, ५ र ६ मा भने परिचयपत्र वितरणका लागि पछि मिति तोकिनेछ । -रासस