पत्रकार महासंघलाई सबैको साझा संस्था बनाउँछु: अध्यक्ष भण्डारी

नवनिर्वाचितले प्रमाणपत्र सहित लिए सपथ ग्रहण


पत्रकार महासंघलाई सबैको साझा संस्था बनाउँछु: अध्यक्ष भण्डारी

नेपालगन्ज २९ चैत : नवनिर्वाचित नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीले महासंघलाई सबैको साझा बनाएर लाने बताएकाछन् ।

आईतबार नेपालगन्जमा आयोजित जिल्ला कार्यसमितिका नवनिर्वाचित पदाधिकारी, सदस्य, प्रदेश परिषद् तथा राष्ट्रिय परिषद्का सदस्यहरुलाई प्रमाण पत्र वितरण तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दामोदर भण्डारीले यस्तो बताएका हुन् ।

अध्यक्ष भण्डारीले भने–‘पत्रकार महासंघ बाँके शाखालाई आफ्नो कार्यकालमा सबैको साझा बनाएर लान्छु । यो कुरामा म प्रतिबद्ध छु । मेरो कार्यकालमा महासंघ भित्र कुनैपनि दलको गन्ध, कुनैपनि विचारको गन्ध आउन दिनेछैन ।’

Kids Festival 2022
kanti aarogya hospital

नवनिर्वाचित अध्यक्ष भण्डारीले सबैलाई समेटेर अघि बढ्ने प्रण गर्दै महासंघको गरिमा उँचो बनाउन आफू प्रतिबद्ध रहेको बताए । उनले महासंघलाई नयाँ रुप दिन आफूले कार्ययोजनासहित काम गर्ने समेत बताए ।

अध्यक्ष भण्डारीले भने –‘आज जुन अवस्थामा बाँकेको पत्रकार महासंघ छ यो अवस्था भन्दा माथि यसको स्तर बृद्धि गरि बाँकेका पत्रकारका हकहितका लागि, उनीहरुको सेवा सुविधा प्रत्येक्ष अनुभूति हुनेगरि काम गर्नेछु ।’

महासंघको नेतृत्व सम्हाल्दै गर्दा अध्यक्ष भण्डारीले भने–‘हामीबीच कुनै बैमनस्यता छैन । कुनै तुष छैन । यद्यपी कसैले बुझ्दछ भने त्यो गलत हो । हामीले पत्रकारिता गर्ने हो, निर्वाचित पदाधिकारी र सदस्यहरु सबै यहाँका क्रियाशिल पत्रकारहरु नै हुनुहुन्छ । मेरो सिंगो टिमले साथ दिनेछ ।’

उनले सार्वजनिक संस्थामा लोभ लालच गर्ने ब्यक्ति कहिल्यै प्रवेश गर्नुनहुने भन्दै महासंघलाई आफ्नो दैनिक जीविकोपार्जनको थलो बनाउनु नहुनेमा जोड दिए ।

नवनिर्वाचित अध्यक्ष भण्डारीले भने –‘महासंघमा म र सम्पूर्ण पत्रकार साथीहरुलाई आग्रह गर्दछु पत्रकार आचारसंहिता भित्र बसेर पत्रकारिता गर्नुहोस् ।’ उनले भने, ‘पत्रकार हो भन्दैमा, महासंघ सदस्य हो भन्दैमा पत्रकार आचारसंहिता भन्दा बाहिर गएर कसैले पनि काम गर्न पाउँदैन ।’

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषी चौलागाईले पत्रकार र महासंघको गरिमा बचाइराख्न महासंघ कटिबद्ध भएर लाग्नुपर्ने शुभकामना दिए ।

उनले नवनिर्वाचित जिल्ला कार्यसमितिलाई बधाई ज्ञापन गर्दै पत्रकार महासंघको गरिमा बढ्ने गरी उत्कृष्ट कार्य गरे महासंघको गरिमा कायम हुने र भावि पुस्ताका लागि अनुसरणीय कार्य हुने स्पष्ट पारे ।

यसैगरि नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्षद्वय प्रेम केसी र झलक गैरेले नवनिर्वाचित महासंघ नेतृत्वले पत्रकारहरुको हकहित, व्यवसायिक सुरक्षासंगै दक्षता अभिबृद्धिका लागि ठोस कार्ययोजनाका साथ काम गर्न सुझाउँदै गैरपत्रकारहरुलाई महासंघबाट विदाई गर्ने गरी सृदृढीकरण अभियान थाल्न सुझाब दिए ।

अध्यक्षका प्रत्यासी डक्ट प्रसाद धितालले पत्रकार महासंघ बाँके शाखालाई आफूले सक्दो सहयोग गर्दै हातेमालो गर्ने प्रतिबद्धता जनाए । निर्वाचनमा हारजीत हुनु प्राविधिक कुरा हो । निर्वाचनबाट आएको परिणामलाई स्वीकार्नसक्नु हैसियत सबैमा हुनुपर्दछ । मैले हारलाई विर्सेर महासंघ अब सबैको साझा र उत्कृष्ट बनाउनतर्फ सबैजना लाग्नुपर्ने धितालले बताए ।

निर्वाचन समितिका संयोजक बरिष्ठ पत्रकार पूर्णलाल चुकेको सभापतित्वमा भएको उक्त कार्यक्रममा निर्वाचन समिति संयोजक वरिष्ठ पत्रकार चुके र निर्वाचन समिति सदस्य अधिवक्ता केशव कोइरालाले नवनिर्वाचित सबैलाई प्रमाणपत्र वितरणसंगै सपथ खुवाएका थिए ।

प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रममा बाँके शाखाका संस्थापक अध्यक्ष लियाकत अली, नेपाल प्रेस युनियनका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारीका अध्यक्ष हेमन्त विक, प्रेस संगठन नेपालका राजेश आचार्य, भारतीय पत्रकार मणीराम शर्मा लगायतले नवनिर्वाचित जिल्ला कार्यसमितिलाई बधाई ज्ञापन गर्दै पत्रकार महासंघको गरिमा बढ्ने गरी उत्कृष्ट कार्य गर्न शुभकामना दिएका थिए ।

महासंघको २६ औं महाधिवेशन अन्तर्गत बुधबार भएको निर्वाचनमा भण्डारी नेतृत्व प्यानलले सचिव र सदस्य (दलित) गुमाउनु प¥यो । लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदमा दामोदर भण्डारी, उपाध्यक्ष (खुला) संगीन शर्मा, उपाध्यक्ष (महिला) करुणा शाह, सचिव कमल डाँगी, सह–सचिव(खुला) र (समाबेशी) तर्फ सह–सचिवद्वय हेमन्त चौधरी र कृष्णबहादुर ओली, कोषाध्यक्षमा विनोद पौडेल निर्वाचित भएका थिए ।

यसैगरि सदस्यमा (खुला) तर्फ क्रमश दिनेश ठाकुर, जाबेद अहमद शाह, खगेन्द्रप्रसाद आचार्य, डिल्ली शाही, शंकर लामिछाने(अशान्त), शौरभ गिरी, निर्मल आचार्य र सुनिल रेग्मी विजयी भएका थिए ।

निर्वाचनमा महासंघ सदस्य (महिला) तर्फ सावित्री गिरी, सदस्य (आदिबासी जनजाती) तर्फ राधेश्याम चौधरी, सदस्य (मधेसी) तर्फ भिष्मप्रसाद लोध, सदस्य (अन्य समावेशी) तर्फ मोहम्मद जावेद हलवाई विजयी भएका थिए ।

यसैगरि राष्ट्रिय परिषद् सदस्यतर्फ प्रमेबहादुर केसी, शंकरप्रसाद खनाल, कृष्ण खनाल, तिलक गाउँले, जनक नेपाल, झलक गैरे र रुद्र सुवेदी विजयी भए । यस्तै प्रदेश परिषद् सदस्यतर्फ मुस्ताक अहमद जसगढ, हरि ज्ञवाली, मधुकुमारी खड्का, विनोद भट्टराई, लक्ष्मण सापकोटा, केशव शाही, निशा शाह, विजय मल्ल, विशाल कुँवर राना, किरण आचार्य, खम्बप्रसाद पुन, महानन्द ढकाल, मेराज सल्मानी, सागर गैरे, कुमार (राजकुमार) श्रेष्ठ, कृष्ण चौधरी, हेमन्तराज काफ्ले, विनोद पाण्डे, अनिता विक, हिमाल गैरे, तिर्थ जैशी र विष्णु प्रसाद बेलबासे विजयी भएका थिए ।

महासंघ निर्वाचनमा कुल ३२३ मतदाता मध्ये २९६ मतदाताले मतदान गरेका थिए । महासंघ निर्वाचनका लागि नेपाल प्रेस युनियन, प्रेस संंगठन, प्रेस चौतारी र प्रगतिशील पत्रकार संघको संयुक्त गठबन्धनको लोकतान्त्रिक व्यवसायीक श्रमजीवी पत्रकारको संयुक्त प्यानलबाट भण्डारी तथा प्रेस चौतारी, प्रेस संगठन, प्रेस मञ्चलगायतको साझा प्यानलबाट अध्यक्षमा डक्टप्रसाद धिताल निर्वाचनमा उत्रिएका थिए ।