बाँकेमा दिनहुँ संक्रमित थपिन्छन्,रोकथाममा प्रशासन उदासिन


बाँकेमा दिनहुँ संक्रमित थपिन्छन्,रोकथाममा प्रशासन उदासिन

नेपालगन्ज ५ माघ : बढ्दो कोरोना संक्रमणको जोखिमलाई लिएर बाँके प्रशासनले बेवास्ता गरिरहेकोछ । कोरोना भाइरस संक्रमणको चेन तोड्न बाँके प्रशासनले स्वास्थ्य सम्बन्धि ५ बुदेँ आदेश समेत जारी गरेकोछ । तर, प्रशासनले उक्त आदेश पूर्णरुपमा कार्यान्वयन गराउन भने असक्षम देखिएकोछ ।

बाँकेमा प्रत्येक दिन भाइरस सङ्क्रमण हुनेको सङ्ख्या बढ्दै गएको छ । यसका लागि आवश्यक पूर्वतयारी गर्दै प्रशासनद्वारा जारी आदेशलाई पूर्णरुपमा कार्यान्वयन गराउन समेत तदारुक्ता देखाएको छैन । कोरोना भाइरसको संक्रमण तीव्र भए पनि यहाँका मन्दिर, मस्जिद, गुम्बा, सार्वजनिक यातायात, बजारल, होटल, रेष्टुरेण्टलगायतका स्थलमा मानिसको भीड भने घटेको छैन । कोरोनाको सङ्क्रमण तीव्र भए पनि यी क्षेत्रमा भीड नघट्दा जोखिम बढ्न थालेको हो । यसरी हिँडडुल गर्नेले न मास्कको प्रयोग गर्छन्, न सामाजिक दूरीको पूर्ण पालना गरेको पाइन्छ ।

सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई बाँके प्रशासनले बैठकबाट लागु गर्ने भनि निर्णय गर्नुको अलावा त्यसको पूर्ण कार्यान्वयनमा मौनता साँधेर बसेकोछ । सार्वजनिक यातायातमा यात्रुको ठेलमठेल भीडछ, बजारमा सर्वसाधरणको उस्तै घुइचो, सरकारी कार्यालय तथा संघसस्थामा सेवाग्राहीको बाक्लो भीड छ । अझ भारतबाट आउनेहरुको पनि उस्तै थेगिनसक्नु चाप छ । तर, बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरि आफैले गरेको निर्णयको पालना प्रशासनले न गरेको छ न गराउन सकेको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रासकाबीच मंगलबार १० हजार २५८ र बुधबार ११ हजार ३५२ जना संक्रमित भेटिएपछि सरकारले थप कडाईका साथ स्वास्थ्य मापदण्ड पालनामा तदारुक्ता देखाएपनि यसको अक्षरस पालना गर्ने बाँके प्रशासनले उक्त आदेशलाई लत्याइरहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा देशमै सबैभन्दा बढि जुझेको बाँकेमा तेस्रो लहरसंग जुध्न भरपुर रुपमा पूर्व तयारी गरेको पाइदैन । र, यो कुराको पुष्टि प्रशासनले आफ्नै निर्णयलाई कार्यान्वयन गराउन नसक्नुले प्रमाणित गर्छ ।

यतिबेला कोरोना भाइरस संक्रमण बाँकेका प्रत्येक पालिकामा पुगिसकेकोछ । यसले कुन दिन एक्कासी ठूलो जोखिम ल्याउने हो भन्दै विज्ञले चिन्ता र चासो समेत ब्यक्त गर्न थालेकाछन् । संक्रमित हुने दर बढेसंगै अस्पतालमा समेत भर्ना हुने संख्यामा बढोत्तरी हुँदै आएकोछ ।

खुला सीमानाका र बेखौफ हिँडडुल गर्ने सर्वसाधरणको गतिविधिका कारण झनझन बाँके कोरोना संक्रमितको दलदलमा पर्दै गएको छ । फ्याट्फुट्ट संक्रमित भेटिने बाँकेमा यतिबेला संक्रमित भेटिने संख्याले समेत आफ्नो रेकर्ड बनाउने तरखरमा रहेकोछ ।

सरकारले गतको वैशाख ५ गते नेपाल–भारत सीमा नजिक एक–एक हजार जना क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । वैशाख १३ मा होल्डिङ सेन्टर बनाउने जिम्मा नेपाली सेनालाई दिइएको थियो । तर, अहिलेसम्म कुनै पनि होल्डिङ सेन्टर बनेर प्रयोग गर्न मिल्ने अवस्थामा छैन् ।

अधिकांश स्थानमा होल्डिङ सेन्टर निर्माणकै चरणमा छ । नेपालगन्ज उपमहानगरपालिका–१५ पिप्रहवामा नेपाली सेनाले होल्डिङ सेन्टर पुष मसान्त सम्म सञ्चालनमा ल्याउने भनेपनि माघ दोस्रो सातासम्म पुग्दै गर्दा अझै सञ्चालनमा आउन सकेको छैन ।

सरकारले सम्भावित संक्रमितलाई राख्न भनी होल्डिङ सेन्टर वा आइसोलेसन कक्ष बनाउने योजना अघि बढाएपनि हाल संक्रमित देखिएका कसैलाई यस्ता सेन्टरमा राख्न सकिएको छैन । यसको मुख्य कारण हो होल्डिङ सेन्टर निर्माणले पूर्णता नपाउनु । यस्तोमा संक्रमितहरुलाई स्थानीय तहसँग समन्वय गरेर घर पठाउने गरिएको छ ।

जमुनाह नाकामा संक्रमित हुनेहरुलाई ठाउँ अभावको कारण नेपालगन्जको बालमन्दिर आइसोलेसनमा राखेर सम्बन्धित जिल्लामा पठाउने गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार पछिल्लो २४ घण्टामा बाँकेमा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा एक सय ६७ नमुना परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण पाइएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा एक सय एक जनाको नमुना जाँच गर्दा ७० जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा ५३ जनाको नमुना जाँच गर्दा ३२ जना र बागेश्वरी ल्यावमा १३ नमुना जाँच गर्दा ६ जना गरि १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको केन्द्रका फोकल पर्शन तेज ओलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ७७ जना छन् । उनीहरु अधिकांश नेपालगन्ज र कोहलपुर, खजुरा बजार क्षेत्रका हुन् । सबैभन्दा बढी नेपालगन्जका छन् । परीक्षण भएकामध्ये नेपालगन्जका मात्रै ८० प्रतिशत बढी संक्रमित छन् । मङ्गलबार मात्रै बाँकेका ५१ जनामा संक्रमण पुष्टि भएको थियो ।

योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ८ सय २२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ११ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय ८२ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ८४ पुगेको छ । भने हालसम्म बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँने मृतक संख्या ४ सय ३७ जना पुगेको छ । भने कोरोनाबाट बाँकेका मात्रै ३ सय ४५ जनाको मृत्यु भइसकेकोछ ।

यसैबीच, नेपालगन्जस्थित जमुनाहा नाकामा बुधबार २२ जनामा कोभिड पुष्टि भएको छ ।

भारतबाट नेपाल भित्रिएका थप २७१ जनाको जमुनाहा हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गर्दा १५ जना पुरुष र ७ जना महिला गरि जम्मा २२ जनामा कोरोना पुष्टि भएको हो ।

लगातार नेपालगन्ज स्थित सीमानाका जमुनाहमा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मी संक्रमित भइरहँदा समेत जनशक्ति थप गर्नेमा प्रशासनले वेवास्ता गरिरहेकोछ । जसका कारण कोरोना जाँचको कार्य थप प्रभावित बन्दै गएकोछ ।

थप समाचार

कोरोनाको कहरमा फेरि जकडिदैं बाँके, बजारमा बेखौफ हिँडडुल गर्छन् सर्वसाधरण

जमुनाह नाकामा संक्रमित थपिन्छन् तर, बाँकेका अस्पताल शुनसान !

बढ्दो कोरोना संक्रमण रोक्न बाँके प्रशासनले जारी गर्‍याे ५ बुँदे आदेश