बढ्दो कोरोना संक्रमण रोक्न बाँके प्रशासनले जारी गर्‍याे ५ बुँदे आदेश


बढ्दो कोरोना संक्रमण रोक्न बाँके प्रशासनले जारी गर्‍याे ५ बुँदे आदेश

नेपालगन्ज २७ पुष : केही दिनयता बढ्दै गएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले विभिन्न ५ वटा आदेश दिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले मंगलबार विभिन्न ५ बुँदे आदेश जारी गर्दै भिडभाड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

उक्त आदेश अनुसार सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यक्रम तथा मेला, भेला, महोत्सव आयोजना गर्न रोक लगाइएको छ ।
यस्तै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम आयोजना नगर्न प्रजिअ खत्रीको आदेशमा भनिएको छ ।

यसैगरी सार्वजनिक स्थानहरुमा (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क आदी) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्ध खोप लगाएको कार्ड (मोबाईलमा फोटो भएपनि हुने) साथमा राख्ने र ति निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने आदेशमा उल्लेख छ । यो व्यवस्था माघ ७ गते देखि लागु हुने जनाइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

त्यस्तै आगामी माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने, सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमता भन्दाबढी यात्रु राख्न नपाईने, यात्रुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने र यात्रु प्रवेश गर्ने ढोकामा स्यानिटाइजर राख्ने र प्रयोगको व्यवस्था गर्ने प्रजिअ खत्रीद्वारा जारी आदेशमा उल्लेख छ ।

कोभिड रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन २०७८ पुस २६ गतेको मन्त्री स्तरको निर्णय, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बाँके जिल्लाभर लागु हुने गरी अर्को आदेश नभए सम्म आदेश जारी गरिएको प्रजिअ खत्रीले प्रष्ट्याएका छन् ।