बाँकेमा कहिलेसम्म काटिने राष्ट्रिय जनावर गाई ?

खजुरा र नरैनापुरमा सबैभन्दा बढि गाई काटिन्छ


बाँकेमा कहिलेसम्म काटिने राष्ट्रिय जनावर गाई ?

नेपालगन्ज १९ माघ :
घटना–१
कारोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दीका बीच गत वर्ष वैशाख १६ गते बाँकेको नरैनापुर गाँउपालिकाबाट गाई काटेको आरोपमा दुईजनालाई हिरासत लियो ।
ईलाका प्रहरी कार्यालय भगवानपुरको प्रहरीले लुकाईछिपाई राखेको मासु र दुईजनालाई नियन्त्रणमा लिन सफल भयो ।

घटना–२
गत वर्ष असोज २६ गते बाँकेको खजुरा गाउँपालिकाको रनियापुरबाट ७ किलो गाईको मासुसहित तीन जनालाई प्रहरीले पक्राउ गर्यो ।
ईलाका प्रहरी कार्यालय धनौलीको प्रहरी टोलीले सात किलो गाईको मासु, हड्डी र छालासहित खजुरा गाउँपालिका–८ रनियापुर चमकदारपुरका ४५ बर्षीय चुन्नी खाँ, ५० बर्षीय शब्बीर खाँ र ३४ बर्षीय अब्दुल आशीक खाँलाई नियन्त्रणमा लियो ।

घटना–३
खजुरा गाउँपालिका वडा नम्बर– ५ उढरापुरमा गाई काटेर भाग लगाइरहेको अवस्थामा प्रहरीले गाईको मासुसहित २ जनालाई नियन्त्रणमा लियो । यो घटना यही मंसिर ८ गते बुधबार विहान ४ बजेतिरको हो ।
ईलाका प्रहरी कार्यालय खजुरा, धनौलीबाट गएको प्रहरी टोलीले उढरापुरमा गाई काटेर भाग लगाइरहेको अवस्थामा एउटा गाईको टाउकोसहित अन्दाजी ३० किलो गाईको मासु र गाई काटेर भाग लगाइरहेका २ जनालाई नियन्त्रणमा लिन सफल भयो ।

घटना–४
खजुरामा गाई काटेको २ महिना वित्न नपाउँदै पुनः बाँके प्रहरीले गाईको मासुसहित खजुराबाट तीन जनालाई नियन्त्रणमा लिएकोछ ।
ईलाका प्रहरी कार्यालय, धनौलीको प्रहरी टोलीले खजुरा–८ रनियापुरको चमकदारपुरबाट ४० किलो गाईको मासुसहित सलमा साई, आलम साई र कलिमुन साईलाई पक्राउ गरेको हो । गाई काट्ने कार्यमा संलग्न अन्य दुई जना फरार रहेकाछन् । फरार रहेका तीनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

बाँकेको खजुरा र नरैनापुरक्षेत्रमा विगतदेखि नै निर्वाधरुपमा राष्ट्रिय जनावर गाई काट्ने गरिन्छ । यो घटना भने बाँकेका लागि नयाँ र पहिलो होइन । स्थानीय प्रशासन र प्रहरीको उदासिनताकै कारण ती क्षेत्रमा निर्वाधरुपमा गाई काट्ने र गाईको मासु विक्री वितरण हुदै आएको हो ।

नेपालको कानूनले गौबद्धलाई दण्डनिय भनेकोछ । गौबद्ध गर्ने गराउनेलाई कडा कारबाही समेत हुने गर्दछ । भने गाई नेपालको राष्ट्रिय जनावर हो । तर, विभिन्न राजनीतिक दलका नेता तथा पहुँचवालाको भरमा समेत यी क्षेत्रमा गाई गोरु काटिने क्रम रोकिएको छैन ।

यहाँबाट काटिएका गाई र गोरुका मासु प्याकेजिङ्ग गरि देशका पोखरा, काठमाण्डौं लगायतका ठूला सहरमा विक्री वितरण हुँदै आएकोछ । यतिमात्र होइन केही वर्ष पहिले बाँकेका खजुरा र नरैनापुर क्षेत्रमा काटिएका गाई र गोरुको मासु नेपालगन्जका विभिन्न होटल, रेष्टूराँमा समेत अन्य मासुसंग मिसाएर विभिन्न परिकार बनाई बेच्ने गरेको तथ्य बाहिरीएपछि ठूलै हंगामा भएको थियो ।

केही समय पहिले बाँकेको खजुरा गाउँपालिकाको रनियापुर क्षेत्रमा गाई काट्दै गरेको अवस्थमा स्थानीय युवाहरुले विरोध गरेपछि दुई पक्षबीच झडपको समेत परिस्थिती सिर्जना भएको थियो ।

यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एबम डिएसपी मधुसुदन न्यौपानेले जिल्लामा गौबद्ध गर्ने गराउनेमाथि प्रहरीले सुक्ष्मरुपमा निगरानी गरिरहेको बताए । उनले भने –‘जिल्लामा सम्भावित गौबद्ध हुने क्षेत्रमा हाम्रो निरन्तर निगरानी भइरहेकोछ । गौबद्धमा संलग्न जोकोहीलाई यो या त्यो बहानामा उन्मुक्ति पाउँदैन । यसमा तत्काल हामी एक्सन लिन्छौं ।’

प्रहरीले गौबद्ध हुने क्षेत्रमा निगरानी बढाएकै कारण त्यस्ता घटनामा संलग्नलाई हामीले कानूनी दायरामा लिन पनि सफल भएका छौं, न्यौपानेले भने ।

बाँके प्रहरीको तथ्यांकले पनि कतिपय ब्यक्ति यसअघि नै गौबद्ध मुद्दामा पक्राउ परि धरौटीमा छुटेका र सजाय पाएकाहरु नै संलग्न भएको देखाउँछ ।

बाँकेका विभिन्न ठाँउमा अझ पनि खुलेयाम गाई काटिएका घटनाहरु सार्वजनिक हुदाँ पनि बाँके प्रशासन र प्रहरीले प्रभावकारी कार्य गर्न नसकेको राप्रपाका सहायक महामन्त्री युवा नेता ऋषीराज देवकोटाले चिन्ता ब्यक्त गरे ।
उनले सेतोखरीसंग कुरा गर्दै भने–‘बाँकेमा गाई तथा गोरु काट्ने क्रम रोकिएको छैन । यसमा सम्बन्धित पालिका प्रमुखले समेत वेवास्ता गर्दै आएकाछन् । राज्यले नै गाईको संरक्षण गरिरहेको अवस्थामा निर्वाधरुपमा गाई काटिनु ठूलो बिडम्बना हो ।’

बाँके प्रहरी र सम्बद्ध सरोकारवालाको उदासिनताले वर्षेनी गाई काट्ने घटना क्रम बढ्दै गएको भन्दै उनले अगाडी थपे–‘प्रहरीलाई जिल्लाका कुन–कुन स्थानमा गाई गोरु काटिन्छ त्यो थाहा छ । तर, कसैको आस्था र विश्वासमा ठेस पुर्याउने उद्देश्यले पनि गाई–गोरु काट्ने क्रम रोकिएको छैन । यसलाई हामी कसरी बुझ्ने ?’

पटक–पटक बाँकेमा राष्ट्रिय जनावर काटिनु र गाईको मासु भागबण्डा लगाएर खानुले बाँके प्रहरी प्रशासन र स्थानीय सरकारको धज्जि उडाइरहेकोछ । संविधान र कानूनको अपहेलना भैरहेकोछ । यसका विरुद्ध सम्बद्ध सरोकारवालाले पटकपटक आवाज उठाएपनि बाँकेमा निर्वाधरुपमा राष्ट्रिय जनावर गाई काट्ने र गाईको मासु विक्रि वितरण भइरहेकोछ ।

संविधान र कानून के भन्छ ?

नेपालको संविधानको धारा ९ को (३) मा नेपालको राष्ट्रिय जनावर गाई भन्ने प्रस्ट लेखिएको छ जस कारण गाईको संरक्षण गर्नु पर्ने हुन्छ । व्यावसायिक र व्यक्तिगत रूपमा पालिएका गाई, गोरुहरू छाडा रूपमा नछाडी व्यवस्थापन गर्ने दायित्व व्यवसायी, समग्र नागरिक र राज्यको हुन्छ । नेपालको संविधानको धारा १६ मा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ, धारा २६ मा धार्मिक स्वतन्त्रताको हक भन्ने उल्लेख छ ।
गाई नेपालको राष्ट्रिय जनावर हुनुको साथै हिन्दू धर्म परम्पराअनुसार लक्ष्मी मानी लक्ष्मी पूजामा गाई र गोरु पूजामा गोरुलाई पूजा गरी धार्मिक परम्परालाई निरन्तर रूपमा कायम राखिरहेको अवस्थाछ ।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा दफा २८९ बमोजिम गाई वा गोरु मार्ने वा कुट्न नहुने, दफा २९० बमोजिम पशुपंक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने भनी कानूनमा स्पष्ट उल्लेख गरेको छ । त्यसो गरिएको स्थितिमा सो गर्ने व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन सक्ने अवस्था छ ।
संविधान र कानूनी व्यवस्थाको अतिरिक्त पशु कल्याण निर्देशिका, २०७३ को दफा ३(ठ) मा पशुलाई नियतवश वा लापरवाहीपूर्वक गरिएका कार्यहरूलाई पशुप्रति निर्दयी व्यवहार मानिने उल्लेख छ । सो निर्देशिकाको दफा १५ मा पशुको प्रयोग गर्दा कोर्रा, चक्कु, पासो, पीडा दिने, बिरामी वा घाइते पशुको उपचार नगर्ने आदि कार्यलाई निर्दयी कार्य मानेको छ । दफा ४ मा पशुलाई भोक, प्यास र कुपोषण हुन नदिने, डर, त्रास र तनाव दिन नहुने भन्ने निर्देशिकामा उल्लेख छ । सोही ऐनको दफा १४ मा पशुधनीले कामबाट निवृत्त भएका वा वृद्धावस्थामा पुगेका पशुको आवश्यक हेरचाह तथा व्यवस्थापन गर्नुपर्नेछ भन्ने उल्लेख छ । निर्देशिकामा उल्लेख भएको व्यवस्थाको कार्यान्वयन गर्ने दायित्व जिम्मा स्थानीय सरकारको हुन्छ ।
यसरी संविधान, मुलुकी अपराध संहिता तथा पशु कल्याण निर्देशिका, २०७३ समेतले कानूनको रूप लिएको अवस्थामा निर्देशिकामा भएको पशु कल्याणसम्बन्धी व्यवस्थालाई लागू गर्ने र प्रभावकारी लागू गर्नको लागि समय समयमा अनुगमन गर्ने, प्रभावकारी कार्यान्वयन गर्ने कार्यतर्फ अग्रसर भएका छैनन् । नेपालको संविधानले राष्ट्रिय जनावर गाई भनी स्वीकार गरे तापनि फितलो व्यवस्थापन र कानूनबमोजिम जिम्मेवारी निर्वाह नहुँदा पशुअन्तर्गत गाई, गोरु, बाच्छा, बाच्छीहरू मार्ने, काट्ने, मासु खाने र विक्री वितरण भइरहेकोछ ।

थप समाचार

खजुरामा गाई काटेर भाग लगाउँदै गर्दा दुई जना पक्राउ

बाँकेमा गाई काट्नेक्रम रोकिएन, ७ किलो गाईको मासुसहित ३ जना पक्राउ

नरैनापुरबाट गाई काट्ने दुईजना मासुसहित पक्राउ