खजुरामा गाई काटेर भाग लगाउँदै गर्दा दुई जना पक्राउ


खजुरामा गाई काटेर भाग लगाउँदै गर्दा दुई जना पक्राउ

नेपालगन्ज ९ मंसिर : बाँकेको खजुरा गाउँपालिकामा फेरि गाई काटिएको पाइएको छ । खजुरा गाउँपालिका वडा नम्बर– ५ उढरापुरमा गाई काटेर भाग लगाइरहेको अवस्थामा प्रहरीले गाईको मासुसहित २ जनालाई नियन्त्रणमा लिएको छ । घटना बुधबार विहान ४ बजेतिरको हो ।

ईलाका प्रहरी कार्यालय खजुरा, धनौलीबाट गएको प्रहरी टोलीले उढरापुरमा गाई काटेर भाग लगाइरहेको अवस्थामा काटिएको अवस्थामा एउटा गाईको टाउकोसहित अन्दाजी ३० किलो गाईको मासु र गाई काटेर भाग लगाइरहेका २ जनालाई नियन्त्रणमा लिइएको हो ।

सेतोखरीसंग कुरा गर्दै ईलाका प्रहरी कार्यालय खजुरा, धनौलीका प्रहरी निरीक्षक वसन्त आचार्यले भने–‘उढरापुरमा गाई काटेर भाग लगाइरहेको खबर पाएपछि हाम्रो टोली घटनस्थलमा गई भाग लगाउँदै गरेको गाईको मासु र २ जनालाई नियन्त्रणमा लिएका हौं ।’

प्रहरीले गौबद्ध(गाई काट्ने) गरि भाग लगाइरहेका उढरापुरका अन्दाजी ४० वर्षिय नकिम बहेना र अन्दाजी ४२ वर्षिय हकिम बेहनालाई नियन्त्रणमा लिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रहरी निरीक्षक आचार्यले भने–‘गाईको मासुसहित पक्राउ परेका दुवैजनामाथि अनुसन्धान चलिरहेको र उनीहरुलाई हिजो नै गौबद्ध मुद्दामा मुद्दा दर्ता गरि कारबाही अघि बढाएका छौं ।’

प्रहरी निरीक्षक आचार्यले पक्राउ परेको दुवैजना यसअघि पनि गौबद्ध मुद्दामा पक्राउ परि धरौटीमा छुटेको भन्ने बुझिएकोछ । यद्यपी उनीहरुले भनेको तथ्य रेकर्डमा भिडान गर्न बाँकी छ ।

यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एमब डिएसपी मधुसुदन न्यौपानेले जिल्लामा गौबद्ध गर्ने गराउनेमाथि प्रहरीले सुक्ष्मरुपमा निगरानी गरिरहेको बताए ।

उनले भने –‘जिल्लामा सम्भावित गौबद्ध हुने क्षेत्रमा हाम्रो निरन्तर निगरानी भइरहेकोछ । गौबद्धमा संलग्न जोकोहीलाई यो या त्यो बहानामा उन्मुक्ति पाउँदैन । यसमा तत्काल हामी एक्सन लिन्छौं ।’
बाँकेको खजुरा र नरैनापुरक्षेत्रमा विगतदेखि नै निर्वाधरुपमा गाई काट्ने गरिन्छ । यो घटना भने पहिलो होइन । स्थानीय प्रशासन र प्रहरीको सक्रियता नभएकै कारण ती क्षेत्रमा निर्वाधरुपमा गाई काट्ने कार्य हुदैँ आएकोछ ।

नेपालको कानूनले गौबद्धलाई दण्डनिय भनेकोछ । गौबद्ध गर्ने गराउनेलाई कडा कारबाही समेत हुने गर्दछ । भने गाई नेपालको राष्ट्रिय जनावर हो । तर, विभिन्न राजनीतिक दलका नेता तथा पहुँचवालाको भरमा समेत यी क्षेत्रमा गाई गोरु समेत काटिने गरेको हो ।

यहाँबाट काटिएका गाई र गोरुका मासु प्याकेजिङ्ग गरि देशका पोखरा, काठमाण्डौं लगायतका ठूला सहरमा विक्री वितरण हुँदै आएकोछ । यतिमात्र होइन केही वर्ष पहिले बाँकेका खजुरा र नरैनापुर क्षेत्रमा काटिएका गाई र गोरुको मासु नेपालगन्जका विभिन्न होटल, रेष्टूराँमा समेत अन्य मासुसंग मिसाएर विभिन्न परिकार बनाई बेच्ने गरेको तथ्य बाहिरीएपछि ठूलै हंगामा भएको थियो ।

केही समय पहिले बाँकेको खजुरा गाउँपालिकाको रनियापुर क्षेत्रमा गाई काट्दै गरेको अवस्थमा स्थानीय युवाहरुले विरोध गरेपछि ठूलै दुई पक्षबीच झडपको समेत परिस्थिती सिर्जना भएको थियो ।