बाँकेमा गाई काट्नेक्रम रोकिएन, ७ किलो गाईको मासुसहित ३ जना पक्राउ


बाँकेमा गाई काट्नेक्रम रोकिएन, ७ किलो गाईको मासुसहित ३ जना पक्राउ

नेपालगन्ज : बाँकेमा गाई काट्ने क्रम रोकिएको छैन । यसका विरुद्ध सम्बद्ध सरोकारवालाले पटकपटक आवाज उठाएपनि बाँकेमा निर्वाधरुपमा गाई काट्ने र गाईको मासु विक्रि वितरण भइरहेकोछ ।

गाई नेपालको राष्ट्रिय जनावर हो । बहुसंख्यक हिन्दूहरुको आश्थाको धरोहर हो । तर, बाँकेका विभिन्न स्थानमा गाई र गोरु काटि यसको मासु नेपालगन्जका होटल तथा नेपालगन्ज बाहिरका विभिन्न जिल्लाहरुमा निर्वाधरुपमा ओसारपसार भइरहेकोछ ।

हिन्दुहरुको महान चाड विजयादशमी र दीपावलीको मुखमै बाँकेमा गाई काटिएको पाइएकोछ । बाँकेको खजुरा गाउँपालिकाको रनियापुरबाट ७ किलो गाईको मासुसहित तीन जना पक्राउ परेपछि यो तथ्य बाहिर आएको हो ।

ईलाका प्रहरी कार्यालय धनौलीले सोमबार सात किलो गाईको मासु, हड्डी र छालासहित तीन जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएकोछ ।

ईलाका प्रहरी कार्यालय धनौलीले खजुरा गाउँपालिका–८ रनियापुर चमकदारपुरका ४५ बर्षीय चुन्नी खाँ, ५० बर्षीय शब्बीर खाँ र ३४ बर्षीय अब्दुल आशीक खाँलाई गाईको मासुसहित पक्राउ गरेको हो ।

सब्बीर खाँको घरदेखि अन्दाजी दुई किलोमिटर उत्तरपूर्वमा रहेको अस्फाक खाँको खेतबारीमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक वसन्त आचार्यको नेतृत्वमा गएको टोलीले शब्बीर खाँको घरबाट तीनै जनालाई मासुसहित नियन्त्रणमा लिएको हो । घटनास्थलबाट गाईको हड्डी र छाला बरामद गरी आवश्यक अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

बाँके प्रहरीको उदासिनता र सम्बद्ध सरोकारवालाको उदासिनताले वर्षेनी गाई काट्ने घटना क्रम बढ्दै गएको भन्दै युवा नेता ऋषीराज देवकोटाले चिन्ता ब्यक्त गरे ।

उनले सेतोखरीसंग कुरा गर्दै भने–‘ बाँकेमा गाई तथा गोरु काट्ने क्रम रोकिएको छैन । यसमा सम्बन्धित पालिका प्रमुखले समेत वेवास्ता गर्दै आएकाछन् । राज्यले नै गाईको संरक्षण गरिरहेको अवस्थामा निर्वाधरुपमा गाई काटिनु ठूलो बिडम्बना हो ।’ उनले अगाडी थपे–‘प्रहरीलाई जिल्लाका कुन–कुन स्थानमा गाई गोरु काटिन्छ त्यो थाहा छ । तर, कसैको आस्था र विश्वासमा ठेस पुर्याउने उद्देश्यले पनि गाई–गोरु काट्ने क्रम रोकिएको छैन । यसलाई हामी कसरी बुझ्ने ?’

यस विषयमा बुझ्दा बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले गाई काटिएको विषयमा आफू गम्भीर रहेको र दोषीलाई कुनै पनि माइनेमा नछाडिने बताए ।

गाई राष्ट्रिय जनावर हो । स्वतः प्रत्येक नेपालीले गाईको सम्मान र संरक्षणमा जुटिनुपर्छ । तर, यस्तो भएको पाइएन । प्रहरी प्रमुख उपरीक्षक राईले भने–‘घटनाको अनुसन्धान भइरहेको छ । दोषीलाई कानूनी कारबाहीसगैं आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन बाँके प्रहरी तदारुक्ताका साथ लाग्नेछ ।’