अन्तरकथा
शालिन, भद्र र सुशील स्वभावका धनीको उपमा पाउनेमा शुधाम्सु कोइरालाको नाम अग्रस्थानमा आउँछ । कोइराला खानदानका उनीमा कहिलै अहम्ता भने पटक्कै छैन । जस्तोसुकै परिस्थितिमा पनि मुसुक्क हास्न सक्ने खुबी भएका शुधाम्सु सानैदेखि लजालु स्वभावका हुन् ।
बैंकिङ क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका उनी जस्तोसुकै अवस्था र जस्तोसुकै ब्यक्तिसँग सहजै घुलमिल हुन सक्छन् । उनी समस्या समाधान गर्न निपुन छन् । बाँके काँग्रेसमा आएपछि पार्टी भित्र देखिएका विवाद र समस्या समाधानका लागि उनै शुधाम्सुलाई अगाडी सारिन्छ । उनी सहज र सरल तरिकाले समस्या समाधानमा लाग्छन् । अन्य दलका नेतासँग पनि उनको राम्रो सम्बन्ध छ । अन्य दलका नेतालेपनि भन्ने गर्छन् नेतामा हुनु पर्ने गुण शुधाम्सुमा छ । हाँसी हाँसी मान्छेको मन जित्न सक्ने उनमा खुवी छ ।
उनी पूर्व प्रधानमन्त्री एवम् पार्टी सभापति सुशील कोइरालाका सहोदर भतिजा हुन् । तर, उनले आफू सुशील कोइरालाको भतिजा भएको कहिलै पनि गरेनन् । न त उनले सुशील कोइरालाको नाममा राजनीतिक लाभ नै लिए । सुशील प्रधानमन्त्री भएका बेला उनलाई राजनीतिक नियुक्तीका लागि प्रस्ताव नआएका होइनन् । तर, कसैले दिएको पद नखाने भन्दै उनले राजनीतिक नियुक्ती अस्विकार गरे । ‘ठूलो बुवा सुशील कोइराला प्रधानमन्त्री भएको बेला राजनीतिक नियुक्तीका लागि धेरै ठाउँबाट प्रस्ताव आयो, तर मैले सिधै अस्विकार गरेँ,मेरो ठाउँमा अर्कोले पाउँछ नि’ उनले भने ।
बुवा डा. अरुण कोइराला र आमा किरण कोइरालाको कोखबाट विक्रम सम्वत् २०३८ सालमा नेपालगन्जमा जन्मिएका शुधाम्सुले राजनीति शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । शुधाम्सुका बुवा स्व.डा. अरुण कोइराला काँग्रेस बाँकेको पार्टी सभापति भइसकेका हुन् । आमा किरण हालकै जिल्ला पार्टी अध्यक्ष छिन् । शिक्षासँगै कोइराला परिवारको सदस्य भएपनि उनी कहिलै पनि दम्भ देखाउँदैनन् । यसले उनलाई राजनीतिमा उदाउन सघाएको छ ।
आफ्नो लागि आफै गर्नु पर्छ अरुले दिएको वा अरुबाट पाएको चिज दीगो र टिकाउ हुँदैन भन्ने उनले राम्रोसँग बुझेका छन् । नेपाल कमर्स क्याम्पस, काठमाडौँबाट विविएस उत्तीर्ण गरेका शुधाम्सु आफ्नो निर्णयमा अडिग रहने एक कुशल ब्यक्ति हुन् ।
ढिलो होस्, तर राम्रो होस भन्ने मान्यता राख्ने उनी विविएस उत्तीर्ण गरेपछि पनि जागिरीका लागि कहिलै पनि ठूलो बुवा सुशीललाई भनेनन् । आफ्नो लागि आफै गनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गरि भविष्य नियाल्ने उनी नविल बैंक र स्ट्यान्डर्ड चार्टड बैंक बाहेक अन्य बैँकमा इन्टर्नशीप नगर्ने अडान लिएर एक बर्ष त्यसै बिताए ।
उनले अहिलेसम्म आफ्ना लागि इन्टर्नशीपका लागि मात्र तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पावर लगाएका थिए । ‘इन्टर्नशीपका लागि आफूले चाहेको बैंकले नमानेपछि बाध्य भएर पावर लगाएँ, यो नै मेरो जीवनमा पहिलो र अन्तिम सोर्स हो,’ उनले भने ।
इन्टर्नशीपका लागि गिरिजाप्रसाद कोइरालाको सोर्स लगाउँदा उनलाई आत्मग्लानी भएको थियो । आफ्नो लागि कसैसँग केहि नमागेकोले उनलाई गिरिजाप्रसादसँग सोर्स लगाउन रत्तीभर मन थिएन । उनले बाध्यताले गिरिजाप्रसादलाई बैंकमा कुरा गरिदिनुस भनेका थिए । उनी त्यतिबेला गिरिजाप्रसादलाई भनेको कुरा सम्झिदै भन्छन्, ‘तपाई इन्टर्नशीपका लागि भनिदिनोस् जागिरी म आफ्नै हिसावले खोज्छु । जागिरीका लागि म तपाईसँग भन्दैन ।’
उनले आफ्नो काममा अरुलाई भजाउने गरेका छैनन् । बैंकमा जागिरी खानेबेला सुशील कोइरालाको भाईको छोरा भएको कहिलै कसैलाई भनेनन् । बैंकमा जागिरे भएको बेला उनको विवाह हुँदा विवाहको कार्डमा सुशील कोइरालाको नाम आएपछि मात्र बैंकका कर्मचारीले थाहा पाएका थिए । ‘पाँच बर्षसम्म पनि मैले मेरो ठूलो बुवा सुशील कोइराला हुनुहुन्छ भनेर कसैलाई भनेन,’ शुधाम्सुले भने ।
साथीभाईको लहलहैमा लाग्दा पाइलट बन्ने सपना अपुरो
शुधाम्सुको चाहना पाइलट बन्नु थियो । तर, साथी भाईकोे लहैलहैमा लागेर उनी ब्यवस्थापन अध्ययन गर्न पुगे । नेपालगन्जस्थित मोडर्न पब्लिकबाट एसएलसी उत्तीर्ण गरेपछि उनका बाबुआमाले भारतमा उच्च शिक्षा पढाउन चाहन्थे । तर, साथीभाईको लहलहैमा लागेर उनी उच्च शिक्षाका लागि काठमाडौँ गए ।
उनी साथीभाईसँगै सिद्धार्थ बनस्थलीमा भर्ना भए । त्यसपछि उनको पाइलट बन्ने इच्छा इच्छामै सीमित हुन गयो । साइन्स विषय लिएर प्लस टु नपढेका कारण पाइलट बन्ने सानोदेखिको इच्छा पूरा नभएको उनले बताए । ‘आफ्नो इच्छाभन्दा साथीभाईको माया धेरै लाग्यो, साथ छोड्न नसक्दा पाइलट बन्ने चाहना मनमा सीमित भयो,’ उनले भने ।
पाइलट बन्न नपाएकोमा उनलाई थोरै पछुतो छ । तै पनि पाइलट बनेर हवाई जहाजलाई आकासमा उडाउन नसके पनि राजनीति मार्फत समाज परिवर्तन गर्ने विकासको सफल उडान गर्ने उनको धोको छ । ‘राजनीति मार्फत समाज परिवर्तनका लागि सफल उडान गर्ने मेरो एकमात्र ध्येय छ,’ उनले भने ।
आफ्नो लागि कहिलै सोर्स लगाउँदैनन् शुधाम्सु
राम्रो गर्दा ढिलो हुन सक्छ भन्ने मान्यता बोकेका उनी एक महिना इन्टर्नशीप गर्ने ठाउँमा ६ महिना लगाए । एक महिनामा सिक्न चाहेको कुरा सिक्न नसकिने भएकोले ६ महिना इन्टर्नशीप गरेका थिए ।
नविल बैंकमा इन्टर्नशीप गरिरहेका बेला बैंकले कर्मचारी माग ग¥यो । उनले पनि जागिरीका लागि आवेदन दिए । खुल्ला प्रतिष्पर्धाबाट नविल बैंकमा नाम निकाल्न सफल शुधाम्सुले उक्त बैंकमा तीन बर्ष जागिरी खाए । स्वास्थ्यमा समस्या देखिएपछि उनले खाँदै गरेको जागिरी छोड्न प¥यो ।
उपचार चलिरहेकै बेला उनले फेरि पनि जागिरीका लागि बैंक धाउन थाले । विभिन्न बैंकमा बायोडाटा छोड्दै जागिरीको खोजि गरिरहेका बेला माछापुछ«े बैंकमा जागिरी खुलेको जानकारी पाएपछि उनले त्यहाँ निवेदन दिए । बैंकले लिखितमा नेपालगन्ज शाखाका लागि उनलाई चयन ग¥यो ।
तर सुशील कोइरालाको भतिजो भएकै कारण मौखिकमा उनको नाम हटाइयो । ‘बैंकले बोलाएर तपाईलाई नेपालगन्ज शाखाका लागि चयन गरिएको छ भन्यो, तर पछि बैंकका सिइओले सुशील कोइराला तपाईको को पर्नु हुन्छ भनेर सोधे, सुशील कोइराला ठूलोबुवा भएको बताएपछि नाम हटाइयो,’ उनले भने ।
माछापुछ«े बैंकबाट धोका खाएपछि उनी किष्ट बैंकको स्वयम्भु शाखामा सहायक प्रवन्धक तथा कर्जा अधिकृतको भूमिका निर्वाह गरे । उनले कर्जा विभाग प्रमुखसँगै धेरै पटक कार्यवहाक प्रवन्धक भएर कुशलतापूर्वक काम गरे ।
जागिरी खाएको पाँच बर्षपछि सुशील कोइराला प्रधानमन्त्री भएका बेला सघाउन उनी प्रधानमन्त्री निवास गए । उनले कोइरालाको निजी सचिवालयमा बसेर सघाए । सचिवालयमा बस्दा उनले शासन सत्ताका बारेमा ज्ञान पाए । ‘ठूलोबुवा सुशील कोइरालाको सचिवालयमा बसेर काम गर्ने क्रममा राजनीतिका धेरै कुरा सिक्ने, जान्ने र ब्यूरोक्रेसीका बारेमा जान्ने तथा चिन्ने अवसर पाएँ,’ उनले भने, ‘यहिँबाट मलाई राजनीतिमा लाग्ने प्रेरणा मिल्यो ।’
चुनाव नलड्न सुशीलले दिएको सुझाव अस्विकार
उनी नेपाली काँग्रेस, बाँकेको कार्यसमिति सदस्य हुन् । प्रतिष्पर्धामा सवैभन्दा धेरै मत ल्याएर सदस्य भएका शुधाम्सु कोइरालालाई तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले उमेद्वारी नदिन र आमालाई सघाउन सुझाव दिएका थिए । तर, उनले मनोनित सदस्य नहुने बरु थोरै मत ल्याएर भए पनि जनताको अभिमतबाट जितेर सदस्य बन्ने भन्दै सुशीलको सुझावलाई लत्याए ।
उनलाई सवैभन्दा धेरै मत ल्याएर जित्छु भन्ने रत्तीभर विश्वास थिएन । तर, लामो समयदेखि राजनीति गर्दै आएका भन्दा उनले धेरै मत पाए । सदस्यमा सवैभन्दा धेरै मत पाएको जानकारी उनले तत्कालिन प्रधानमन्त्री सुशील कोइरालालाई गराएका थिए । ‘सवैभन्दा धेरै मत पाएर सदस्यमा विजयी भएको जानकारी गराएपछि ठूलो बुवा सुशील कोइराला धेरै खुशी हुनु भएको थियो,’ उनले भने, ‘राजनीतिमा नआइज भनेको मानेनौ अब आइहाल्यौ, म तिमिलाई सक्ने जति सहयोग गरेर अगाडी बढाउँछु भन्ने आश्वासन दिनु भयो ।’ उनले अहिले उहाँको खाँचो महशुस भइरहेको बताए ।
राजनीतिलाई पेशा नबनाऔँ
उनलाई राजनीति र बैंकिङ क्षेत्रको अनुभव छ । बैंकिङ क्षेत्रभन्दा राजनीति बृहत भएको उनको भोगाई छ । उनले राजनीति विशुद्ध सामाजिक सेवाको रुपमा लिएका छन् । राजनीतिमा पैसा कमाउने उद्देश्य हुँदैन, तर बैंकिङ क्षेत्रमा पैसा कमाउने र जिवन सुखी बनाउने ध्येय हुने उनले बताए । ‘बैंकिङ क्षेत्रमा ज्यान पाल्ने र पैसा कमाउने उद्देश्य हुन्छ, राजनीतिमा जतिसक्यो धेरै जनताको लागि काम गर्नुपर्ने हुन्छ,’ उनले भने ।
उनले पछिल्लो समय राजनीतिमा बढ्दै गएको विकृतीले राजनीतिमा नकारात्मक असर पारेको बताए । राजनीतिलाई पैसा कमाउने हतियारको रुपमा प्रयोग गर्न नहुने उनको धारणा छ । ‘राजनीतिलाई विशुद्ध सामाजिक कार्यका रुपमा हेरिनु पर्छ,’ उनले भने ।
राजनीति र बैंकको काम सँगसँगै गर्न आग्रह अस्विकार
उनले बैंकको जागिरी छोड्ने बेला किष्ट र प्रभु बैंक मर्ज भइसकेका थिए । उनले राजनीति गर्नका लागि जागिरी छोड्न थालेपछि बैंक संचालक समितिका एक सदस्यले जागिर नछोड्न आग्रह गरेका थिए ।
सिम्पल ब्यक्तित्वका कारण बैंकमा प्यारो बनेका उनलाई जागिर र राजनीतिसँगै गर्न बैंकले आग्रह गरेको थियो । राजनीति गर्नुस्, फुर्सदका बेला बैंकमा आएर काम गर्नुहोला भन्ने आग्रह बैंकबाट आएको उनले बताए । ‘बैंकले त्यसो भन्दा मैले एउटै ब्यक्ति दुई ठाउँमा काम गर्न सक्दैन भनेर जवाफ फर्काएँ,’ उनले भने ।
बाबुआमा आदर्श पुरुष, अनिलकेशरीको ब्यक्तित्वबाट प्रभावित
शुधाम्सु कोइरालाले आफ्नो बाबुआमालाई गूरु र आदर्श मान्दछन् । उहाँहरुले देखाएको बाटोमा हिड्न पाएकोमा गर्व गर्दै उनले बाबुआमा भगवान सरह भएको बताए । बाबुआमाले कहिलै पनि नराम्रो बाटोमा हिड्न दिनुभएन । ‘म आजको ठाउँमा आउनु बाबुआमाको मार्ग दर्शन र पत्नी दिपीका कोइरालाको अथक सहयोग छ,’ उनले भने । शुधाम्सुकी पत्नी दिपीका पनि ग्लोवल आइएमइ बैंक पुष्पलालचोक नेपालगन्ज शाखामा कार्यरत छिन् ।
उनले बैंकर्स अनिलकेशरी शाहको ब्यक्तित्वबाट प्रभावित भएको बताए । तल्लो तहबाट गएर माथिल्लो तहको सपना देखेर अगाडी बढेका कारण अनिलकेशरी शाह माथिल्लोे दर्जामा पुगेको उनले बताए । अनिलकेशरीको स्वभावसँग आफ्नो बानी मिल्ने भएकोले उनको ब्यक्तित्वबाट प्रभावित भएको उनले बताए । ‘तल्लो तहबाट गएपछि मात्र माथिल्लो तहमा पुग्न सकिन्छ भन्ने मेरो मान्यता छ,’ उनले भने ।
उनी अहिले विपी अध्ययन प्रतिष्ठान, बाँकेको अध्यक्ष समेत हुन् । उनले प्रतिष्ठानलाई छिट्टै विस्तार गरि जिल्लाका विभिन्न ठाउँमा विपीको विचार र सन्देशको चर्चा गर्ने बताए । विपीको विचारलाई जनतामाझ पु¥याउन गाउँ–गाउँमा कार्यक्रम गर्ने योजना छ,’ उनले भने ।