जयनन्द घर अगाडि गाडीबाट ओर्लिने क्रममा लडे त्यसपछि सधैंका लागि उठेनन्


जयनन्द घर अगाडि गाडीबाट ओर्लिने क्रममा  लडे त्यसपछि सधैंका लागि उठेनन्

नेपालगन्ज ११ फागुन : वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा लामाको निधन भएको हो । आज विहान घर अगाडि गाडीबाट ओर्लिने क्रममा लामा लडेका थिए । सोही क्रममा उनको निधन भएको हो ।

मध्यपुरथिमी नगरपालिका वडा नम्बर–१ लोकन्थलीस्थित घरको गेटमा गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका थिए । महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजु पाण्डेका अनुसार उनी बैठकमा सहभागी हुन भन्दै मंगलबार बेलुकी ७ बजे काठमाडौंको बौद्ध गएका थिए । आज बिहान ७ बजे बा ३ च ७७४१ नम्बरको मारुती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परी टाउको भुइँमा जोतिएको अवस्थामा घरको गेटमा लामा मृत फेला परेका थिए ।

बिहान करिब ३ बजेतिर लामा निजी कार घर अगाडि पार्किङ गरेर निस्कने क्रममा भित्तामा ठोक्किएपछि रगत अत्यधिक बगेको पाइएको घटनास्थलमा पुगेको प्रहरीले बताएकोछ । घटनाबारे अनुसन्धान भइरहेको छ । शरीर घोप्टो परेको अवस्थामा लामालाई देखेपछि छिमेकीले बिहानै घटनाबारे उनको परिवारलाई जानकारी गराएका थिए ।

लोकगायक, सङ्गीतकार, गीत सङ्कलक, अभिनेता, निर्माता तथा निर्देशक लामा पाँच दशकदेखि नेपाली कलाकारिताको क्षेत्रमा क्रियाशील थिए । ‘कलकत्ते काइँयो केश मेरो बाङ्गोे, टेबुलमा ऐना छ, पिरती मैले नलाको हैन तकदिरमा रैनछ’ गीत गाएर निकै चर्चामा आएका लामाले ‘पानी प¥यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौँ, नक्कलीलाई पातलीलाई कसरी बिहे गरुँ, चुइँचुइँ चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो, बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता लोकगीत अझै पनि उत्तिकै लोकप्रिय छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

विसं २०३० मा मनको बाँध चलचित्रबाट पहिलोपटक अभिनय यात्रा शुरू गरेका लामाले लोकगीतको शब्द सङ्कलन, गायन, सङ्गीत तथा निर्देशनसमेत गर्दै आएका थिए । एक सयभन्दा बढी चलचित्र र दर्जनौँ टेलिचलचित्र, केही म्युजिक भिडियोमा समेत अभिनय गरेका उनले पछिल्लो समय हाँस्य टेलिशृङ्खला ‘हल्का रमाइलो’मा अभिनय गर्दै आएका थिए ।

विभिन्न विद्यालयमा उनी सङ्गीत गुरुका रूपमा क्रियाशिल थिए । प्रहरीले लामाको शव परीक्षणका लागि दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेज लगेको छ । शव परीक्षणपछि उनकै निवासमा श्रद्धाञ्जलीका लागि राखेर आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने लामाको परिवारले जानकारी दिएको छ । उनका श्रीमती र दुई छोरा छन् ।