सरकारी अस्पतालमा रमाउँदैं मुटुरोग विशेषज्ञ डा. विकास

३५ वर्षको उमेरमै कार्डियोलोजीमा डिएम गरे


सरकारी अस्पतालमा रमाउँदैं मुटुरोग विशेषज्ञ डा. विकास

नेपालगन्ज ११ फागुन : पश्चिम नेपालका सरकारी अस्पतालहरुमध्ये नेपालगन्जको भेरी अस्पताल प्रमुख अस्पताल हो । यही अस्पतालमा मात्रै मुटुरोगका बिरामीहरुको उपचारका लागि क्याथ ल्याबको सुविधा छ । त्यही अस्पतालमा कार्यरत मुटु रोग विशेषज्ञ हुन्– ३५ वर्षीय डाक्टर विकास नेपाल । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कार्डियोलोजीमा डिएम गरेका उनी भेरी अस्पताल पुगेपछि मुटु रोगका बिरामीको उपचारमा गति आएको छ । योसंगै पश्चिमको प्रमुख सरकारी अस्पतालमा थुप्रै मुटु रोगका बिरामीहरुले समयमै विशेषज्ञ सेवा पाउन थालेका छन् ।

उर्जाशील युवा चिकित्सक थपिएपछि भेरी अस्पतालको मुटु रोग विभाग पनि सशक्त बनेको छ । त्यसको परिणाम कामहरुमा देखिन थालेको छ । डा. नेपाल आएपछि भेरी अस्पतालमा हप्तामा ६ दिन नै मुटु रोगको ओपिडी र इको सेवा थालनी भएको छ । यसअघि एकजनामात्रै डिमएम कार्डियोलोजिष्ट हुँदा भेरी अस्पतालमा एक वर्षमा एक सयदेखि एक सय २२ वटासम्म मुटुरोगका बिरामीहरुको इन्टरभेन्सन हुन्थ्यो । तर, डा. नेपाल थपिएपछि भेरी अस्पतालमा ३ महिनामा नै आफ्नै नेतृत्वमा १ सय ५० जना बिरामीको इन्टरभेन्सन गरेर उपचार गरेका छन् । जसमा १० जनामा अस्थायी पेस मेकर, २ जनामा परमानेन्ट पेस मेकर राखिएको छ । करिब एक सय जना बिरामीको एन्जियोग्राफी ५० जनाको एन्जियोप्लाष्टी गरेर स्टेन्ट राखिएको छ ।

पश्चिम नेपालको जेठो भेरी अस्पतालमा वि.सं. २०७५ सालमा करिब ६ करोड ५० लाखको लागतमा क्याथ ल्याब स्थापनापछि मुटु रोग विशेषज्ञ सेवा शुरु भएको हो । त्यहीबेलादेखि डा. कृष्ण अधिकारी फ्रन्टलाइनमा रहेर पश्चिम नेपालमा मुटुरोग विशेषज्ञका सेवा पु¥याउँदैं आएका छन् । डा. अधिकारीको नेतृत्वमा भेरी अस्पतालमा मुटुका बिरामीहरुमा पेस मेकर राख्नेदेखि एन्जियोग्राफी र एन्जियोप्लाष्टीसम्मको उपचार हुँदै आएको थियो । तर, एक्लै मुटु रोग विशेषज्ञ भएका कारण सेवाले धेरै गति भने लिन सकेको थिएन । मुटुरोगको उपचार सेवा सुरु भएको ५ वर्षपछि वि.सं. २०७८ असोजदेखि भेरी अस्पतालमा युवा मुटुरोग विशेषज्ञ डा. नेपाल थपिएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

डा. नेपालले हप्ताको आफ्नो पालो परेका दिनमा दैनिक २० जनासम्मको इको जाँच गर्छन् । ३ देखि ४ जनासम्मको क्याथल्यामा इन्टरभेन्सन गरेर मुटुका बिरामीको उपचार गरिरहेका छन् । पछिल्ला दिनहरुमा भेरी अस्पतालमा मुटु रोगका बिरामीहरुको अस्थायी र स्थायी रुपमा पेसमेकर राख्ने, एन्जियोग्राफी र एन्जियोप्लाष्टी धमाधम हुन थालेको छ । ‘अहिले काम गतिका साथ भइरहेको छ,’ उनले सुनाए, ‘मुटुरोगको विशेषज्ञ सेवा पश्चिम नेपालको सरकारी अस्पतालमै उपलब्ध हुनाले धेरै बिरामीलाई काठमाडौं र भारत जानुपर्ने बाध्यता हटेको छ ।’

हृद्धयघात भएका थुप्रै बिरामीले भेरी अस्पतालमै विशेषज्ञ सेवा पाउन थालेका छन् । जसले बिरामीको जीवन रक्षामा पनि ठूलो टेवा पु¥याएको छ । बिहान ७–८ बजेदेखि राति १० बजेसम्म डा. नेपाल र उनको टिमले बिरामीको अवस्थाअनुसार पेस मेकर राख्नेदेखि एन्जियोग्राफी र एन्जियोप्लाष्टीसम्म गरेर उपचार गर्छ ।

भेरी अस्पतालमा दैनिक १६ घण्टासम्म क्याथ ल्याब सञ्चालन हुन थालेको छ । मुटु रोगको उपचार सेवालाई विस्तार गरेर भेरी अस्पतालमै मुटुको भल्ब सम्बन्धी समस्या पिटिएमसी उपचार सुरु गर्ने तयारीमा डा. नेपालसहितको टिम जुटेको छ ।

डा. नेपालका अनुसार नेपालगन्जको भेरी अस्पताल तथा त्यहाँका निजी क्लिनिकहरुमा औसतमा दैनिक करिब एक सय जना मुटुरोगसँग सम्बन्धित बिरामी उपचारका लागि आउने गर्छन् । जीवनशैली तथा खानपानलगायतका यावत कारणले मुटुरोगसँग सम्बन्धित बिरामीहरु पनि बढिरहेको पनि उनी बताउँछन् ।

‘अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये करिब ७० प्रतिशत उच्च रक्तचाप सम्बन्धी बिरामी छन्,’ उनी भन्छन्, ‘मुटुको नशा साँघुरो भएका र हार्ट फेलर सम्बन्धी समस्या भएका बिरामीहरुको संख्या पनि बढ्दो छ ।’ डा. नेपालका अनुसार जन्मजात मुटुको समस्या भएका, मुटुको चालमा गडबडी भएका, मुटुको वरिपरी पानी भरिएका, मुटुको बाथ रोग सम्बन्धी समस्या भएका बिरामीहरु पनि उपचारका लागि भेरी अस्पतालमा पुग्ने क्रम बढ्दो छ ।

नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख मुटुरोगी भएको अनुमान छ । जसमध्ये करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप, २० प्रतिशतलाई कोलस्ट्रोल, १० प्रतिशतलाई मधुमेह र १ प्रतिशत बालबालिकामा बाथरोगको समस्या भएको अनुमान नेपाल हृद्धयरोग निवारण प्रतिष्ठानको छ । ‘सहरमा बस्ने करिब ५० प्रतिशत नेपालीहरुले आवश्यक व्यायामसम्म गर्दैनन्,’ डा. नेपाल भन्छन्, ‘चुरोट र सूर्ती सेवन गर्ने युवाहरुको संख्या बढ्दै गएका कारण नेपालमा मुटु रोगको जोखिम वर्षेनी बढ्दै गएको छ ।’ उनी धु्रमपान नगर्न, नियमित व्यायाम गर्न, तनावमुक्त रहन र शरीरको तौल नियन्त्ररणमा राख्न सुझाव दिन्छन् ।

को हुन् डा. विकास ?

पुख्र्यौली घर पाल्पा भएका डा. विकासले वि.सं. २०५९ सालमा न्यू होराइजन बोर्डिङ स्कुल बुटबलबाट एसएलसी पास गरेका हुन् । त्यसपछि उनी थप उच्च शिक्षाका लागि काठमाडौं गए । काठमाडौंको निष्ट कलेजबाट विज्ञान संकायमा आईएस्सी उत्तीर्ण गरे ।

आईएस्सी पासपछि उनी डाक्टरी पढ्न बंगलादेश गए । सन् २०१२ मा उनले बंगलादेशबाट एमबीबीएस अध्ययन पूरा गरे । एमबीबीएस सकेर नेपाल फर्केपछि एक वर्ष लुम्बिनी मेडिकल कलेजमा काम गरे ।

लुम्बिनी मेडिकल कलेजमा काम गर्दागर्दै उनले सन् २०१४ एमडीको इन्ट्रान्स छात्रवृत्तिमा नाम निकाले । परीक्षाको तयारी गरे । भरतपुरको कलेज अफ मेडिकल साइन्सेजबाट सन् २०१७ मा उनले इन्टर मेडिसिनमा एमडी सके । एमडी सकेपछि एक वर्ष बुटबलको लुम्बिनी सिटी अस्पतालमा काम गरे । त्यही काम गर्दागर्दै डिएमको तयारी शुरु गरे ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डिएम कार्डियोलोजीको लागि एउटा मात्रै सिट थियो । कार्डियोलोजीमा डिएम गर्न चाहने प्रतिस्पर्धीहरु सयौं थिए । डा. नेपालले पहिलो प्रयासमै सयौं विद्यार्थीलाई पछि पार्दै त्यही एक सिटमा नाम निकाले । त्यसपछि उनको सुपरस्पेसियालिटी डिग्री हाँसिल गर्ने बाटो खुल्यो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कार्डियोलोजीमा डिएम सकेपछि उनलाई स्वास्थ्य मन्त्रालय छात्रवृत्ति करारअन्तर्गत २ वर्षका लागि नेपालगन्जको भेरी अस्पतालमा पठायो ।

भेरी अस्पतालमा डा. नेपालले नयाँ उत्साहका साथ मुटुरोगका बिरामीको उपचार गरिरहेका छन् । ३५ वर्षको उमेरमै कार्डियोलोजीमा डिएम गरेका डा. नेपालको हार्दिकतापूर्ण ब्यवहारसहितको उपचार सेवाबाट बिरामी र बिरामीहरुका आफन्तहरु पनि निकै खुसी छन् । भन्छन्, ‘हामी डाक्टरहरुलाई पनि बिरामी निको हुँदा काम गर्ने थप प्रेरणा र खुसी मिल्छ ।’