‘ज्यानमारा’ नेपालगन्ज–कोहलपुर सडक : ३५ दुर्घटना २४ जनाको मृत्यु

८ महिनामा ११५ सडक दुर्घटना, १५ दिनमा २ प्रहरीले ज्यान गुमाए


‘ज्यानमारा’ नेपालगन्ज–कोहलपुर सडक : ३५ दुर्घटना २४ जनाको मृत्यु

नेपालगन्ज २४ फागुन : बाँकेको ट्राफिक ब्यवस्थापनसंगै सडक सुरक्षालाई लिएर यतिबेला सर्वत्र चासो र चिन्ता हुन थालेकोछ । विशेषगरि नेपालगन्ज–कोहलपुर सडकमा लगातार ज्यानमारा दुर्घटना हुन थालेपछि बाँकेको ट्राफिक व्यवस्थापनको जिम्मा लिएको जिल्ला ट्राफिक कार्यालयसंगै सडक सुरक्षामाथि प्रश्न तेस्रिएको हो ।

डेढ दशकअघि फराकिलो बनाइएको नेपालगन्ज–कोहलपुर सडक खण्डमा पछिल्लादिन नियमित सडक दुर्घटनामा बृद्धि भएको छ । सडक दुर्घटनामा परि घाईते हुने र अनाहकमा ज्यान गुमाउने संख्या समेत बढ्दै गएपछि सडक सुरक्षाप्रति सम्बद्ध सरोकारवालाको उदासिनता र लापरबाही छताछुल्ल भएकोछ ।

सडक दुर्घटना न्यूनिकरण र यसको ब्यवस्थापनको जिम्मेवारी समग्ररुपमा जिल्लाको ट्राफिक प्रहरीले लिएकोछ । तर, सडक दुर्घटनामा हुनसक्ने भवितव्य क्षति न्यूनिकरणका लागि कसैले चासो देखाएका छैनन् । यही सडक सुरक्षाको चुनौतीकाबिच फागुन महिनामै ड्युटिमा खटिएका दुई जना प्रहरीले ज्यान गुमाएपछि नेपालगन्ज–कोहलपुर सडक ज्यानमारा बन्दै गएको हो ।

त्यसो त यो सडकखण्डमा प्रहरीका अलावा अन्य सर्वसाधरणले समेत ज्यान गुमाइसकेको बाँके ट्राफिकको तथ्यांकले देखाएकोछ । सडक सुरक्षालाई चुस्तदुरुस्त राख्न र चालकलाई सडक दुर्घटना हुनबाट बचाउन नियमन गर्दै गर्दा लगातार दुई प्रहरीले ज्यान गुमाउँदा समेत जिल्ला प्रहरी कार्यालय बाँके र ट्राफिक प्रहरी कार्यालयले मौनता साँधिरहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

सडकमा गुड्ने सवारी साधनबाटै प्रहरी असुरक्षित बनेपछि सर्वसाधरणको सुरक्षामाथि झन् ठूलो प्रश्न उब्जिएकोछ । तर, जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालय भने यी घटनालाई भवितब्यको संज्ञा दिदै उम्किन खोजिरहेको छ ।

नेपालगन्ज–कोहलपुर सडकखण्डको कोहलपुर चौराहमा यही फागुन ८ गते आईतबार बेलुका ट्रकले कुल्चिदाँ ड्युटीमा रहेकी महिला प्रहरी कविता बिसीले अनाहकमा ज्यान गुमाउनु पर्यो ।

फागुन ८ गते आईतबार राती करिव १० बजेतिर कोहलपुर चौराहमा ड्युटीमा रहेकी ३६ वर्षिया महिला प्रहरी बिसीलाई तिब्र गतिमा आएको ना ३ ख ६४३६ नम्बरको ट्रकले कुल्चिँदा ज्यान गुमाउनु पर्यो । सो क्रममा सँगै ड्युटीमा रहेकी अर्की महिला प्रहरी हवल्दार बासमती चौधरीले भने भागेर आफ्नो ज्यान जोगाउन सफल भइन् ।

मृतक महिला प्रहरी कविता प्युठान नगरपालिका वडा नम्बर– २ चितिखोला निवासी हुन् । घटना लगत्तै ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लियो ।

यो घटना घटेको ठिक १५ दिनमै पुनः नेपालगन्ज–कोहलपुर सडकखण्डमा अर्को ज्यानमारा घटना दोहोरियो । यसपटकको ज्यानमारा घटनामा ड्युटीमा खटेका प्रहरी हवल्दारले ज्यान गुमाए भने संगै रहेका प्रहरी जवान गम्भीर घाईते बने ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–२०, राँझा चोकमा सोमबार राति मोटरसाइकलले ठक्कर दिँदा ३६ वर्षिय प्रहरी हवल्दार भुपेन्द्र बहादुर शाहीको ज्यान गयो ।

तिब्र गतिमा नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे १० प ४७५७ नम्बरको मोटरसाइकलले प्रहरी हवल्दार शाहीलाई ठक्कर दिएको थियो । बर्दिया माछागढ घर भएका मृतक प्रहरी हवल्दार कोहलपुरको न्यू सिटीमा बस्दै आएका थिए । मोटरसाईकलको ठक्करबाट प्रहरी जवान नरेश चौधरी घाईते भए । घाइते चौधरीको नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको छ । उनीहरु राँझा बिटमा कार्यरत थिए ।

ठक्कर दिने मोटरसाइकलका चालक बर्दियाको राजापुर घर भएका २० वर्षीय सन्तोष बम सिंह ठकुरी हुन् । मोटरसाइकल चालक सन्तोष पनि घाइते भएका छन् । प्रहरीका अनुसार सन्तोषले मापसे गरि मोटरसाइकल चलाएका थिए ।

मोटरसाइकल चेकिङमा खटिएका प्रहरी हवल्दार शाही र चौधरीलाई ठक्कर दिने भे १० प ४७५७ नम्बरको मोटरसाइकल र घाईते चालक सन्तोषलाई प्रहरीले नियन्त्रणमा लिएकोछ ।

यस्तै, बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–२ जिरोमा मङ्गलबार साँझ सवा ७ बजे पूर्वबाट पश्चिम जाँदै गरेको लु २ च ८११९ नम्बरको स्कारपियो र पश्चिमबाट पूर्व जाँदै गरेको भे ५ प ७१५५ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदाँ बर्दिया बाँसगढी–४ निवासी २८ वर्षिय प्रहरी जवान हिरालाल थारुको मृत्यु भएको छ ।

बाँके ट्राफिक प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय दाङ, बनगाईमा कार्यरत प्रहरी जवान थारुको मृत्यु भएको हो । स्कारपियो चालक रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर–१६ निवासी ३५ वर्षिया सोमबहादुर सारु सामान्य घाइते भएकाछन् ।

८ महिनामा ११५ सडक दुर्घटना ५१ जनाको मृत्यु

जिल्ला ट्राफिक कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा साना ठूला गरि बाँकेमा ११५ वटा सवारी दुर्घटना भएकाछन् । चालु आर्थिक वर्षको फागुन २४ गते बेलुकासम्मको तथ्यांक अनुसार बाँके जिल्लाभरमा ११५ वटा सडक दुर्घटना भएका हुन् ।

८ महिनामा ११५ वटा सडक दुर्घटना हुँदा ५१ जनाको ज्यान गएको छ भने ६९ जना घाइते भएकाछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको यो तथ्यांकलाई मध्यनजर गर्दा नेपालगन्ज–कोहलपुर अर्थात रत्नराजमार्ग सडकखण्डमा ३५ वटा सवारी दुर्घटना भएकाछन् ।

नेपालगन्जको जमुनाहदेखी सुर्खेतको सीमाना देउरालीसम्मको यो सडकखण्डमा कुल ३५ वटा सवारी दुर्घटना हुँदा २४ जनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा नेपालगन्जको राँझा र कोहलपुर चौराहमा ज्यान गुमाउने प्रहरीको तथ्यांक समेत समाबेस गरिएकोछ । भने सो दुर्घटनामा परि ३५ जना घाइते भएकाछन् । ट्राफिक प्रहरीको यो तथ्यांकले नेपालगन्ज–कोहलपुर सडकखण्ड ज्यानमारा बनेको हो ।

यता ट्राफिक कार्यालयको ८ महिनाको तथ्यांकले पनि बाँकेमा सडक दुर्घटना घट्नुको साटो बढ्दै गएको देखाएकोछ । चालु आर्थिक वर्षको साउन महिनामा ८ वटा दुर्घटना भए । भने भदौमा १३ वटा, असोजमा १९, कार्तिकमा १९, मंसिरमा २१, पुषमा १५, माघमा ८ र फागुन २३ गतेसम्म १२ वटा सडक दुर्घटना भएकाछन् ।

सडक दुर्घटनाको यो तथ्यांक जति डरलाग्दो गरि बढिरहेको छ, त्यसरी नै यसबाट ज्यान गुमाउने र घाइते हुनेहरुको संख्या पनि डरलाग्दो गरि बढिरहेकोछ ।

बाँके जिल्लामा चालु आर्थिक वर्षको साउनमा ४ जनाको मृत्यु हुदाँ ६ जना घाइते भए । यस्तै भदौमा ५ जनाको ज्यान गयो भने ६ जना घाईते भए । असोजमा १२ जनाको ज्यान जाँदा ६ जना घाईते भए । कार्तिकमा ३ जनाको ज्यान जाँदा १२ जना घाइते बनेको जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्यांकले देखाएकोछ ।

यसैगरी मंसिर महिनामा ९ जनाको मृत्यु हुँदा १३ जना घाईते भए । पुषमा ८ जनाको मृत्यु हुँदा ९ जना घाइते भए, माघमा ५ जनाको मृत्यु हुँदा २ जना घाईते भए भने फागुनको २३ गतेसम्म ५ जनाको मृत्यु हुँदा १५ जना घाईते भएको बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएकोछ ।

यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एबम डिएसपी मधुसुदन न्यौपानेले नागरिकको ज्यान जोगाउन आफ्नो ज्यान जोखिममा राखेर प्रहरीले काम गरिरहेको बताए ।

सेतोखरीसंग कुरा गर्दै उनले भने–‘सर्वसाधरणको ज्यान जोगाउनकै लागि प्रहरी आफ्नो ज्यान जोखिममा राखेर काम गरिरहेकोछ, यस विषयमा सर्वसाधरण रक्तिभर सचेत बनेका छैनन् ।’

‘नागरिकको ज्यान नजाओस् भन्ने उद्देश्यले सडक दुर्घटना न्यूनिकरण गर्न नियमित ड्युटिमा खटिएका प्रहरीको दुखान्त घटनाबाट समेत सर्वसाधरणको होस् खुल्न सकेको छैन’ न्यौपानेले अगाडी थपे–‘सर्वसाधरणसंगै प्रहरी पनि जोखिममा छन्, आवश्यक पूर्वधारको कमी, सडक संरचना राम्रो नहुनुका साथै ट्राफिक नियमको पालना भएन ।’

प्रहरीले सर्वसाधरणको सुरक्षालाई मध्यनजर गरेर ट्राफिक नियम पालनामा कडाई गरेपनि आशातित उपलब्धी हुन सकेको छैन’ न्यौपानेले भने–‘मापासे गरि सवारी साधन चलाउने, तिब्र गतिमा हुइकिने, ट्राफिक नियमको पालना नगर्ने यी र यस्ता थुप्रै कारणले सर्वसाधरणसंगै प्रहरी असुरक्षित बन्दै गएका हुन् ।’

त्यसो त जिल्लाको ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनिकरण, अब्यवस्थित पार्किङ र सवारी साधन सञ्चालन, मापसे चेकजाँज, ओभरलोड, तिव्र गति तथा ध्वनी प्रदुषण बाँके जिल्लामा समस्याका रुपमा रहँदै आएकोछ ।
ट्राफिकको काम कर्तब्य भनेकै जिल्लामा ट्राफिक व्यवस्थापन गर्नु हो, तर, प्राविधिक पाटोमा जिम्मेवार नबन्दा सडक दुर्घटनाबाट प्रहरी र सर्वसाधरणले अनाहकमा ज्यान गुमाइरहेकाछन् ।

थप समाचार

कोहलपुर र दाङमा सडक दुर्घटना हुदाँ २ जनाको मृत्यु, लमही तनावग्रस्त