हेर्ने होइन त होलीको भोली ‘चिसो एस्ट्रे’, यी डायलग भाइरल बन्यो


हेर्ने होइन त होलीको भोली ‘चिसो एस्ट्रे’, यी डायलग भाइरल बन्यो

नेपालगन्ज २६ फागुन :

यहाँ जो आउँछन् मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन्
यहाँ जो बस्छन्, हत्केलाभरि खरानी र आँखाभरि धुवाँ बोकेर बस्छन् ।
,,,,
केटिएम सिटिमा अलिकति कपाल ठाडो, अलिकति मन साह्रो हुनैपर्छ ।
,,,,
तर, कहिले काँही चुरोट जलाउन कोरेको सलाईको काँटीले सहरका गल्लीहरु जल्दा रहेछन् ।
,,,,
एकै नजरमा सहरसंग माया त बस्यो, तर सहरको आँखा लाग्ला भन्ने कुरा मलाई के थाहा ?
,,,,

माथि भनिएका यी वाक्य अर्थात डायलग सुन्न र हेर्नका लागि तपाई होलीको भोलीपल्ट सिनेमा घर जानै पर्छ । किनकी यो डायलगमा जति अर्थपूर्ण शब्दहरु छन् उत्तिकै डायलग बोल्ने कलाकारको प्रस्तुती जिवन्त र यर्थाथ छ ।

होलीको अवसर पारेर प्रर्दशन हुन लागेको चलचित्र ‘चिसो एस्ट्रे’को ट्रेलरमा देखाइएका दृष्यमा बोलिएका यी डायलग यतिबेला चर्चामा छ । चर्चामा पनि किन नहोस् ७ वर्षको अवधि लगाएर निर्माण गरिएको नेपाली चलचित्र ‘चिसो एस्ट्रे’ले यतिबेला धमाकेदार प्रचारप्रसार गरिरहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यही फागुन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आएको सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले धमाकेदार प्रस्तुती गरिरहेका बेला ‘चिसो एस्ट्रे’ प्रर्दशनीमा आउन लागेको हो ।

चलचित्र प्रर्दशनको मिति नजिकिएका बेला ‘चिसो एस्ट्रे’ टिमले आफ्नो प्रचारप्रसारलाई तिव्र पारेकोछ । कोरोना कहरकाबीच अस्तब्यस्त बनेको नेपाली सिनेजगत पुनः जुरमुराउन खोजेको बेला बुहप्रतिक्षाको रुपमा रहेको मध्ये एक चलचित्र ‘चिसो एस्ट्रे’ आगामी चैत्र ४ गते अल नेपाल रिलिज हुँदैछ ।

दिनेश पाल्पालीले निर्देशन गरेको यो चलचित्रले आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन खोजेको ठिटोको कथा उठाएको छ । चलचित्र ‘चिसो एस्ट्रे’को प्रचारप्रसारमा देशब्यापी दौडाहमा रहेको निर्देशक दिनेश पाल्पालीसहितको टोलीले बिहीबार नेपालगन्जमा पत्रकारबीच छलफल समेत गरेकोछ ।

पत्रकार छलफलका क्रममा बोल्दै निर्देशक दिनेशले कवि भूपी शेरचनले धेरै अघि नै काठमाडौंलाई ‘चिसो एस्ट्रे’को बिम्बको रुपमा प्रस्तुत गरेको बताउँदै आफू सोही विम्बबाट प्रभावित भएपछि यो चलचित्र निर्माण गरेको बताए ।

चलचित्रको प्रमोशनका लागि नेपालगन्ज आएका निर्देशक दिनेशका साथमा कलाकार दिव्य देव र नविन लम्सालसहित चलचित्रको मार्केटिङ्ग विशाख विक्रमको उपस्थिती रहेको थियो ।

फिल्मका अभिनेता दिव्य देवले फिल्म निर्माणका रोचक कथा सुनाउँदै आफूले गाउँबाट सहर आउने मदन नामको चरित्र निर्वाह गरेको जानकारी दिए । थिएटरबाट फिल्ममा आएका उनले कतिपय फिल्म गर्दा सहकर्मीबीच आत्मीयता स्थापित गर्ने मौका नपाएको स्मरण गर्दै यो फिल्ममा भने त्यो मौका पाएको र सम्पूर्ण सहकर्मीसँग परिवारको जस्तो सम्बन्ध स्थापित भएको स्मरण गरे ।

पत्रकारसंग छलफल गर्दै उनले अनुभव सुनाउँदै भने–‘यो फिल्ममा म ड्राइभरको भूमिकामा पनि छु । सुटिङ सेटमा यस्तो भयो कि म साथीहरू सबलाई घर–घर छाड्थेँ र आफू अन्तिममा घर जान्थेँ । यो रमाइलो फिल्ममा पनि देख्न सकिन्छ ।’

यस्तै अर्का अभिनेता नवीन लम्सालले फिल्ममा चुरोटलाई पनि ‘मेटाफोरिकल्ली’ पात्रको रूपमा राखेको बताए । ‘एउटा पात्र गाउँबाट काठमाडौं आएर कसरी ठिटो बन्ने चक्करमा चुरोटको ठुटो बन्छ भन्ने कथा फिल्ममा छ,’ उनले भने ।

पत्रकारबीच भएको छलफलमा चलचित्र निर्माणसंगै नेपाली चलचित्र क्षेत्रका बारेमा चर्चा गरिएको थियो । नेपालगन्ज आएको चलचित्र ‘चिसो एस्ट्रे’ टिम बिहीबार नै धनगढीका लागि गएकोछ ।

चलचित्र ‘चिसो स्ट्रे’मा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशीलराज पाण्डे, रविन तामाङ, श्रृष्टि श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

यही चैत ४ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘चिसो एस्ट्रे’ले यसअघि टिजर र ट्रेलर सार्वजनिक गरिसकेकोछ । फिल्ममा काठमाडौंको संघर्ष र गल्लीहरुका कथालाई देखाउन खोजिएको छ ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । चलचित्रको निर्माणमा महेशबाबुलाई प्रविन स्याङ्बा र सुस्मिता पराजुलीले सघाएका छन् । यो चलचित्रमा दिनेशकै कथा छ । चलचित्रमा अजर जंगमको संगीत, उज्ज्वल बस्ताकोटीको छायांकन र उज्ज्वल ढकालको सम्पादन रहेकोछ ।

फिल्मलाई काठमाडौंमा रिच इन्टरटेनमेन्ट र जीजीए ग्रुपले वितरण गर्नेछ भने काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।

हेर्नुहोस ‘चिसो एस्ट्रे’ को ट्रेलर