जानकीमा १७ सय विद्यार्थीलाई सहयोग


जानकीमा १७ सय विद्यार्थीलाई सहयोग

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकामा सञ्चालित मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत आज २ सय १५ जना विद्यार्थीलाई झोला वितरण गरिएको छ ।

जानकी गाउँपालिका वडा नम्बर १ साईगाउँस्थित आधारभूत विद्यालय शिवपुरी ७५, नेरा प्रावि बढैया ४१, नेराप्रावि पचपोखरा २४, कुवा मस्जिद मदरसा २६, मदरसा मस्उदिया हावीउलरजा ३१ र मदरसा दारुल उलुम जिन्वातुलका १८ जना गरी २ सय १५ जना विद्यार्थीलाई झोला वितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष रामनिवास यादव, उपाध्यक्ष भूमिसरा धिताल, वडाध्यक्ष मोहम्मद रजा राई र शिक्षा समितिका संयोजक टिकाराम सुनारले विद्यार्थीहरुलाई झोला वितरण गरेका हुन् ।

सो अवसरमा गाउँपालिका अध्यक्ष यादवले बालबालिकालाई विद्यालयमा अध्ययन गर्न आउन सजिलो बनाउनको लागि झोला वितरण गरिएको बताए । अध्यक्ष यादवले कतिपय अभिभावकले विद्यार्थीका लागि झोला र पोषक समेत किन्न नसकेर आफ्ना बालबालिकालाई विद्यालय नपठाएको गुनासो समेत गरेकाले यस प्रकारको कार्यक्रम गरिएको बताए ।

अझैपनि विद्यालय जाने उमेरका बालबालिकाले विद्यालय जाँदा आफ्ना किताब खाली हात र पोलिथिन व्यागमा लिन बाध्य भएकाले यो कार्यक्रमले विद्यार्थीलाई विद्यालयमा जानका लागि प्रोत्साहित गरेको उपाध्यक्ष भुमिसरा धितालले बताइन् । जानकी गाउँपालिका भित्रका छ वटै वडामा कक्षा १ मा यो वर्ष नयाँ भर्ना भएका १ हजार ७ सय ३३ विद्यार्थीलाई झोला बाँड्ने कार्यक्रम रहेको छ।