धवलले मैदान छोडेपछि को बन्छ नेपालगन्जको मेयर ?


धवलले मैदान छोडेपछि को बन्छ नेपालगन्जको मेयर ?

नेपालगन्ज १४ चैत्र : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको ‘दिनगन्ती’ शुरु भइसकेकोछ । निर्वाचनको मिति नजिकिदै जाँदा दुई/दुई पटक नेपालगन्ज उपमहानगरपालिकाको मेयर बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका डाक्टर धवल शम्सेर राणाले अब मेयरमा नलड्ने उद्घोष गरिसकेकाछन् ।

फागुन २९ गते आईतबार नेपालगन्जमा आयोजित राप्रपाको आम सभालाई सम्बोधन गर्दै अब मेयर नलड्ने उद्घोष गरेपछि नेपालगन्जको मेयर को बन्छ भन्ने चर्चा नेपालगन्जमा मात्र नभएर राष्ट्रिय राजनीतिमा समेत भइरहेकोछ । स्थानीय होस् वा राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्ने नेपालगन्जको राजनीतिमा आफ्नो वर्चश्व कायम गर्न प्रभावशाली नेतादेखि राजनीतिक दलहरु कम्मर कसेर लागेकाछन् ।

नेपालगन्जको हालसम्म भएका तीनवटा स्थानीय चुनावलाई हेर्दा फरक–फरक दलले जितेका छन् । २०४९ सालमा नेपाली काँग्रेसबाट विजयकुमार गुप्ता मेयर बने भने २०५४ सालमा एमालेबाट धवलशमशेर राणा ।

उनै राणा २० वर्षपछि भएको २०७४ सालको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेर नेपालगन्ज उपमहानगरपालिकाको मेयर बने । २०६२–६३ को जनआन्दोलनपछि गणतन्त्र नस्वीकार्ने भन्दै राणा एमाले छाडेर राप्रपामा प्रवेश गरेका थिए । राप्रपामा आएसंगै मेयर राणाले हिन्दु राज्य र राजसंस्थाको पक्षमा वकालत गर्दै आएकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

राणा उम्मेदवार नबन्ने भएपछि राप्रपा नेपालगन्ज उपमहानगरको नेतृत्वमा पुग्ने सम्भावना कमजोर भएको जिल्ला स्थित राजनीतिक दल र दिग्गजको विश्लेषण छ । त्यसो त राप्रपाबाट मेयरमा मोहम्मद सफिक बेहनाको नाम चर्चामा रहेकोछ । उनी नेपालगन्ज वडा नम्बर ४ का वडाअध्यक्ष समेत हुन् ।

२०७४ सालको संसदीय चुनावमा बाँके जिल्लामा राप्रपाको समानुपातिक मत प्रतिनिधि सभातर्फ ८ हजार १०४ र प्रदेश सभातर्फ ९ हजार ९५७ थियो । तर, मेयर पदमा विजयी हुँदा राणाले जिल्लामा राप्रपाले पाएको कूल भोटभन्दा निकै बढी अर्थात् १२ हजार ५१५ मत ल्याएका थिए । यसरी हेर्दा नेपालगन्जबासीले दललाई भन्दा धवलशमशेरको व्यक्तित्वलाई भोट दिएका हुन् भन्ने कुरा नकार्न सकिदैन ।

तर, यसपटक उनी मेयरका लागि उम्मेदवार नबन्ने भएपछि नेपालगन्जमा प्रमुख प्रतिस्पर्धी काँग्रेस र एमालेबीच नै कडा प्रतिस्प्रर्धा हुने लगभग तय भइसकेकोछ । त्यसो त यी दुई दललाई माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पनि पछ्याइरहेका छन् ।

यसअघिको स्थानीय चुनावमा नेपालगन्जमा काँग्रेसबाट मेयरका प्रतिस्पर्धी सुरेशकुमार कनोडिया ८ हजार ७३० मतका साथ दोस्रो स्थानमा समेटिएका थिए । सोबेला स्वर्गीय नेकपा माओवादी केन्द्रका दामोदर आचार्य ७ हजार १९८ मत ल्याएर तेस्रो भएका थिए । विगत केही वर्षदेखी क्यान्सर रोगबाट पीडित ५९ वर्षीय आचार्यको यही चैत्र ५ गते शनिबार निधन भएको हो । भने एमालेका उम्मेदवार समसुद्दिन सिद्दिकीले ६ हजार ९६५ ल्याउदै चौथो स्थानमा चित्त बुझाउनु परेको थियो ।

यस्तै सो बेलाको चुनावमा नेपालगन्जको उपमेयर पद भने नेपाली काँग्रेसले जितेको थियो । काँग्रेसकी प्रभावशाली महिला नेतृ उमा थापामगरले १० हजार ७३१ मत ल्याएर विजयी भएकी थिइन् । उपमेयर पदको प्रतिस्पर्धामा राप्रपा दोस्रो, एमाले तेस्रो र माओवादी केन्द्र चौथो स्थानमा थियो ।

यो त भयो अघिल्लो निर्वाचनको अंकगणितीय परिणाम तर, यतिबेला अवस्था फेरिएकोछ । मतादतामा परिर्वतन मात्र होइन जागरुकता समेत आएकोछ । निर्वाचन ताका दलगत तथा नेताले दिएका बाचा, योजना र नेतृत्वमा रहँदा होस् वा नेतृत्व बाहिर हुँदा उनीहरुबाट भएका काम, गतिविधी र राजनीतिक खेलले महत्वपूर्ण भूमिका खेल्नेनैछ ।

यतिबेला हामी आसन्न स्थानीय निर्वाचनको संघारमा छौं । निर्वाचन आयोगले निर्वाचनका लागि सम्पूर्ण तयारी तिव्र पारेकोछ । हिजो आईतबार अबेर मात्रै निर्वाचन आयोगले अन्तिम मतादाता नामावली सार्वजनिक गर्नुका साथै देशैभर निर्वाचन अधिकृत तोकेकोछ ।

यही निर्वाचनको सरगर्मीकाबीच अब नेपालगन्ज उपमहानगरपालिकाको मेयर को बन्छ ? अर्थात मेयर डाक्टर धवल शम्शेर राणाको उत्तराधिकारी को हुने हो वा कसले त्यो लियाकत राख्छ भन्ने विषयमा सर्वत्र चर्चाको विषय बनेकोछ ।

यही चर्चा र चासोकोबीच अहिले सबैभन्दा बलियो उम्मेदवारका रुपमा नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमाथापा मगर मेयर पदमा आफ्नो दाबी अघि सारेकी छन् । देश संघीयतामा गएपश्चात भएको स्थानीय निर्वाचनमा उपमेयर भएर स्थानीय निकायको कार्यसम्पादन गरेको पाँच वर्षे अनुभवलाई मेयर भएर खर्चिने तम्तयार उमाले मेयरमा आफ्नो दाबी स्वाभाविक भएको बताउने गरेकी छन् ।

यस्तै काँग्रेसबाटै गत चुनावमा मेयरका प्रतिस्पर्धी बनेर मेयर राणासंग हारेका डाक्टर सुरेशकुमार कनोडियाले पनि पुनः उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् । उनले पुनः मेयरमा टिकटका लागि लविङ्ग गर्दै निर्वाचनमा होमिने मनसाय बनाएपछि उपमेयर उमासंगै उनको पनि नाम चर्चाको वृत्तमा रहेकोछ ।

अझ काँग्रेस बाँकेका नेपालगन्ज नगर सभापति प्रशान्त विष्ट पनि मेयरका दाबेदारकारुपमा अघि बढेकाछन् । काँग्रेस १३ औं महाधिवेनका क्रममा पार्टीको नगर अधिवेशनमा उपमेयर उमालाई फराकिलो मतान्तरले हराउँदै उनी नगर सभापति पदमा विजयी भएका थिए । सोही दिनदेखि प्रशान्तको मेयरमा चर्चा चुलिएको हो । त्यसो त प्रशान्त काँग्रेस नगर सभापतिमा लगातार तीन पटक ह्याट्रिक हान्ने पहिलो युवा नेता हुन् । तीन कार्यकाल नगर सभापतिमा खर्चेकोले मेयरमा आफ्नो दाबी स्वाभाविक भएको उनले बताउँदै आएकाछन् । यसबाहके पनि काँग्रेसबाट अन्य नेताको नाम चुलिदैँ आएकोछ त्यसमध्ये एक हुन ललित रौनियार ।

यस्तै नेकपा एमालेबाट पशुपति दायल मिश्रको नाम मेयरमा चर्चा छ । गत संसदीय चुनावमा हृदयेश त्रिपाठीको समूहमा रहेर बाँके क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेका पशुपति दयाल मिश्र यही मंसिरमा एमाले पार्टीमा प्रवेश गरेका हुन् । मेयरकै टिकट दिने शर्तमा उनलाई एमाले प्रवेश गराइएको बाँके राजनीति वृतमा चर्चा छ ।

पशुपतिको राजनीतिक यात्रा हेर्दा त्यती सुखद् छैन् । उनी पहिले काँग्रेस त्यसपछि तमलोपा, त्रिपाठीको समूह हुँदै अहिले एमाले बनेका उनी पार्टीको केन्द्रीय सदस्य हुन् ।

नेपालगन्जको मेयर पदमा एमालेबाट मिश्र नै उम्मेदवार बन्ने निश्चितजस्तै चर्चा छ । तर, मिश्रका साथै एमालेबाट जिल्ला कमिटी सदस्य कृष्णप्रसाद श्रेष्ठ, ३ कार्यकाल नगर कमिटी अध्यक्ष बनेका दत्तप्रसाद आचार्यलगायतको पनि मेयर पदका आकांक्षी छन् ।

यता नेकपा माओवादी केन्द्रबाट भने नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्य, प्रदेश सदस्य नविन शर्मा, जिल्ला सदस्य आदेश अग्रवालले मेयर पदको उम्मेदवार बन्ने दाबी गरेका छन् ।

यस्तै गत स्थानीय चुनावमा एमालेबाट मेयरको उम्मेदवार बनेका समसुद्दिन सिद्दिकी पार्टी विभाजनका कारण अहिले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा छन् । त्यसैले एमालेबाट नयाँ प्रतिस्पर्धी मैदानमा आउने छन् ।
जनता समाजवादी तर्फबाट कमरुद्धिन राई मेयरको उम्मेदवार बन्ने लगभग निश्चित छ । उनी यसअघि चुनावका पनि प्रतिस्पर्धी थिए । भने राष्ट्रिय जनमोर्चाबाट कृष्णराज पाण्डेको चर्चा रहेकोछ ।

निर्वाचनको मिति नजिकिदै जाँदा राजनीतिक दलका गतिविधि पनि ह्वात्तै बढेकाछन् । मेयर उम्मेदवार बन्ने विषयमा आकाक्षी हुनु स्वभाविक हो तर, मतदातालाई रुझाएर विजयी हुनु अर्को पाटो हो ।

थप समाचार

बाँकेमा सबैभन्दा बढि नेपालगन्जमा मतदाता

बाँकेका ८ स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत

बाँकेमा १६८६ म्यादी प्रहरीका लागि ५८०२ जनाको आवेदन

एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

बाँकेका ११२ मतदान स्थल संवेदनशील