नेपालगन्ज १४ चैत्र : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको ‘दिनगन्ती’ शुरु भइसकेकोछ । निर्वाचनको मिति नजिकिदै जाँदा दुई/दुई पटक नेपालगन्ज उपमहानगरपालिकाको मेयर बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका डाक्टर धवल शम्सेर राणाले अब मेयरमा नलड्ने उद्घोष गरिसकेकाछन् ।
फागुन २९ गते आईतबार नेपालगन्जमा आयोजित राप्रपाको आम सभालाई सम्बोधन गर्दै अब मेयर नलड्ने उद्घोष गरेपछि नेपालगन्जको मेयर को बन्छ भन्ने चर्चा नेपालगन्जमा मात्र नभएर राष्ट्रिय राजनीतिमा समेत भइरहेकोछ । स्थानीय होस् वा राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्ने नेपालगन्जको राजनीतिमा आफ्नो वर्चश्व कायम गर्न प्रभावशाली नेतादेखि राजनीतिक दलहरु कम्मर कसेर लागेकाछन् ।
नेपालगन्जको हालसम्म भएका तीनवटा स्थानीय चुनावलाई हेर्दा फरक–फरक दलले जितेका छन् । २०४९ सालमा नेपाली काँग्रेसबाट विजयकुमार गुप्ता मेयर बने भने २०५४ सालमा एमालेबाट धवलशमशेर राणा ।
उनै राणा २० वर्षपछि भएको २०७४ सालको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेर नेपालगन्ज उपमहानगरपालिकाको मेयर बने । २०६२–६३ को जनआन्दोलनपछि गणतन्त्र नस्वीकार्ने भन्दै राणा एमाले छाडेर राप्रपामा प्रवेश गरेका थिए । राप्रपामा आएसंगै मेयर राणाले हिन्दु राज्य र राजसंस्थाको पक्षमा वकालत गर्दै आएकाछन् ।
राणा उम्मेदवार नबन्ने भएपछि राप्रपा नेपालगन्ज उपमहानगरको नेतृत्वमा पुग्ने सम्भावना कमजोर भएको जिल्ला स्थित राजनीतिक दल र दिग्गजको विश्लेषण छ । त्यसो त राप्रपाबाट मेयरमा मोहम्मद सफिक बेहनाको नाम चर्चामा रहेकोछ । उनी नेपालगन्ज वडा नम्बर ४ का वडाअध्यक्ष समेत हुन् ।
२०७४ सालको संसदीय चुनावमा बाँके जिल्लामा राप्रपाको समानुपातिक मत प्रतिनिधि सभातर्फ ८ हजार १०४ र प्रदेश सभातर्फ ९ हजार ९५७ थियो । तर, मेयर पदमा विजयी हुँदा राणाले जिल्लामा राप्रपाले पाएको कूल भोटभन्दा निकै बढी अर्थात् १२ हजार ५१५ मत ल्याएका थिए । यसरी हेर्दा नेपालगन्जबासीले दललाई भन्दा धवलशमशेरको व्यक्तित्वलाई भोट दिएका हुन् भन्ने कुरा नकार्न सकिदैन ।
तर, यसपटक उनी मेयरका लागि उम्मेदवार नबन्ने भएपछि नेपालगन्जमा प्रमुख प्रतिस्पर्धी काँग्रेस र एमालेबीच नै कडा प्रतिस्प्रर्धा हुने लगभग तय भइसकेकोछ । त्यसो त यी दुई दललाई माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पनि पछ्याइरहेका छन् ।
यसअघिको स्थानीय चुनावमा नेपालगन्जमा काँग्रेसबाट मेयरका प्रतिस्पर्धी सुरेशकुमार कनोडिया ८ हजार ७३० मतका साथ दोस्रो स्थानमा समेटिएका थिए । सोबेला स्वर्गीय नेकपा माओवादी केन्द्रका दामोदर आचार्य ७ हजार १९८ मत ल्याएर तेस्रो भएका थिए । विगत केही वर्षदेखी क्यान्सर रोगबाट पीडित ५९ वर्षीय आचार्यको यही चैत्र ५ गते शनिबार निधन भएको हो । भने एमालेका उम्मेदवार समसुद्दिन सिद्दिकीले ६ हजार ९६५ ल्याउदै चौथो स्थानमा चित्त बुझाउनु परेको थियो ।
यस्तै सो बेलाको चुनावमा नेपालगन्जको उपमेयर पद भने नेपाली काँग्रेसले जितेको थियो । काँग्रेसकी प्रभावशाली महिला नेतृ उमा थापामगरले १० हजार ७३१ मत ल्याएर विजयी भएकी थिइन् । उपमेयर पदको प्रतिस्पर्धामा राप्रपा दोस्रो, एमाले तेस्रो र माओवादी केन्द्र चौथो स्थानमा थियो ।
यो त भयो अघिल्लो निर्वाचनको अंकगणितीय परिणाम तर, यतिबेला अवस्था फेरिएकोछ । मतादतामा परिर्वतन मात्र होइन जागरुकता समेत आएकोछ । निर्वाचन ताका दलगत तथा नेताले दिएका बाचा, योजना र नेतृत्वमा रहँदा होस् वा नेतृत्व बाहिर हुँदा उनीहरुबाट भएका काम, गतिविधी र राजनीतिक खेलले महत्वपूर्ण भूमिका खेल्नेनैछ ।
यतिबेला हामी आसन्न स्थानीय निर्वाचनको संघारमा छौं । निर्वाचन आयोगले निर्वाचनका लागि सम्पूर्ण तयारी तिव्र पारेकोछ । हिजो आईतबार अबेर मात्रै निर्वाचन आयोगले अन्तिम मतादाता नामावली सार्वजनिक गर्नुका साथै देशैभर निर्वाचन अधिकृत तोकेकोछ ।
यही निर्वाचनको सरगर्मीकाबीच अब नेपालगन्ज उपमहानगरपालिकाको मेयर को बन्छ ? अर्थात मेयर डाक्टर धवल शम्शेर राणाको उत्तराधिकारी को हुने हो वा कसले त्यो लियाकत राख्छ भन्ने विषयमा सर्वत्र चर्चाको विषय बनेकोछ ।
यही चर्चा र चासोकोबीच अहिले सबैभन्दा बलियो उम्मेदवारका रुपमा नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमाथापा मगर मेयर पदमा आफ्नो दाबी अघि सारेकी छन् । देश संघीयतामा गएपश्चात भएको स्थानीय निर्वाचनमा उपमेयर भएर स्थानीय निकायको कार्यसम्पादन गरेको पाँच वर्षे अनुभवलाई मेयर भएर खर्चिने तम्तयार उमाले मेयरमा आफ्नो दाबी स्वाभाविक भएको बताउने गरेकी छन् ।
यस्तै काँग्रेसबाटै गत चुनावमा मेयरका प्रतिस्पर्धी बनेर मेयर राणासंग हारेका डाक्टर सुरेशकुमार कनोडियाले पनि पुनः उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् । उनले पुनः मेयरमा टिकटका लागि लविङ्ग गर्दै निर्वाचनमा होमिने मनसाय बनाएपछि उपमेयर उमासंगै उनको पनि नाम चर्चाको वृत्तमा रहेकोछ ।
अझ काँग्रेस बाँकेका नेपालगन्ज नगर सभापति प्रशान्त विष्ट पनि मेयरका दाबेदारकारुपमा अघि बढेकाछन् । काँग्रेस १३ औं महाधिवेनका क्रममा पार्टीको नगर अधिवेशनमा उपमेयर उमालाई फराकिलो मतान्तरले हराउँदै उनी नगर सभापति पदमा विजयी भएका थिए । सोही दिनदेखि प्रशान्तको मेयरमा चर्चा चुलिएको हो । त्यसो त प्रशान्त काँग्रेस नगर सभापतिमा लगातार तीन पटक ह्याट्रिक हान्ने पहिलो युवा नेता हुन् । तीन कार्यकाल नगर सभापतिमा खर्चेकोले मेयरमा आफ्नो दाबी स्वाभाविक भएको उनले बताउँदै आएकाछन् । यसबाहके पनि काँग्रेसबाट अन्य नेताको नाम चुलिदैँ आएकोछ त्यसमध्ये एक हुन ललित रौनियार ।
यस्तै नेकपा एमालेबाट पशुपति दायल मिश्रको नाम मेयरमा चर्चा छ । गत संसदीय चुनावमा हृदयेश त्रिपाठीको समूहमा रहेर बाँके क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेका पशुपति दयाल मिश्र यही मंसिरमा एमाले पार्टीमा प्रवेश गरेका हुन् । मेयरकै टिकट दिने शर्तमा उनलाई एमाले प्रवेश गराइएको बाँके राजनीति वृतमा चर्चा छ ।
पशुपतिको राजनीतिक यात्रा हेर्दा त्यती सुखद् छैन् । उनी पहिले काँग्रेस त्यसपछि तमलोपा, त्रिपाठीको समूह हुँदै अहिले एमाले बनेका उनी पार्टीको केन्द्रीय सदस्य हुन् ।
नेपालगन्जको मेयर पदमा एमालेबाट मिश्र नै उम्मेदवार बन्ने निश्चितजस्तै चर्चा छ । तर, मिश्रका साथै एमालेबाट जिल्ला कमिटी सदस्य कृष्णप्रसाद श्रेष्ठ, ३ कार्यकाल नगर कमिटी अध्यक्ष बनेका दत्तप्रसाद आचार्यलगायतको पनि मेयर पदका आकांक्षी छन् ।
यता नेकपा माओवादी केन्द्रबाट भने नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्य, प्रदेश सदस्य नविन शर्मा, जिल्ला सदस्य आदेश अग्रवालले मेयर पदको उम्मेदवार बन्ने दाबी गरेका छन् ।
यस्तै गत स्थानीय चुनावमा एमालेबाट मेयरको उम्मेदवार बनेका समसुद्दिन सिद्दिकी पार्टी विभाजनका कारण अहिले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा छन् । त्यसैले एमालेबाट नयाँ प्रतिस्पर्धी मैदानमा आउने छन् ।
जनता समाजवादी तर्फबाट कमरुद्धिन राई मेयरको उम्मेदवार बन्ने लगभग निश्चित छ । उनी यसअघि चुनावका पनि प्रतिस्पर्धी थिए । भने राष्ट्रिय जनमोर्चाबाट कृष्णराज पाण्डेको चर्चा रहेकोछ ।
निर्वाचनको मिति नजिकिदै जाँदा राजनीतिक दलका गतिविधि पनि ह्वात्तै बढेकाछन् । मेयर उम्मेदवार बन्ने विषयमा आकाक्षी हुनु स्वभाविक हो तर, मतदातालाई रुझाएर विजयी हुनु अर्को पाटो हो ।
थप समाचार
बाँकेमा सबैभन्दा बढि नेपालगन्जमा मतदाता
बाँकेका ८ स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत
बाँकेमा १६८६ म्यादी प्रहरीका लागि ५८०२ जनाको आवेदन
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’