प्रधानमन्त्री रोजगार कार्यक्रम अलपत्र


प्रधानमन्त्री रोजगार कार्यक्रम अलपत्र

नेपालगन्ज : बाँकेका आठ स्थानीय तहमध्ये अधिकाशं तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन हुन सकेको छैन् । तहमा मागअनुसार श्रम गर्ने यूवा नपाएपछि स्थानीय तहले उक्त कार्यक्रम प्रभावकारी सञ्चालन गर्न नसकेका हुन् । यसले यहाँका सबै तहमा उक्त कार्यक्रम अलपत्र परेको छ ।

विकास, निर्माण र सरसफाईको काम गर्ने यूवा नपाएपछि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्न नसकिएको नेपालगन्ज उपमहानगरपालिका कार्यकारी प्रशासकीय अधिकृत हरि प्याकुरेल बताउँछन् ।

रोजगारका लागि आवेदन दिएका यूवाले काम गर्न नमानेको उनको भनाई छ । उनले १ असारदेखि यूवालाई काममा लगाउने कार्यक्रम तय भए पनि रोजगारका लागि यूवा नआएका कारण कार्यक्रम अगाडी बढाउन नसकेको बताए ।

‘शारिरिक श्रम गर्ने काम गर्न कोही पनि मान्दैनन् । कामको प्रकृति देखेर रोजगारका लागि आवेदन दिएकाहरु सम्पर्कमा आएका छैनन्,’ उनले भने ।
रोजगारका लागि ७२ जना बेरोजगार यूवाले निवेदन दिए पनि अहिलेसम्म कामका लागि कोही नआएको नेपालगन्ज उपमहानगरपालिका बताउँछ ।

नेपालगन्जका चार सय १८ जना बेरोजगार यूवालाई रोजगार दिने बजेट रहे पनि कामका लागि यूवा नआएपछि कार्यक्रम संचालन गर्ने बारे अन्योल रहेको छ । यूवालाई सरसफाईमा खटाउने कार्यक्रम तय भएको छ, तर काम गर्ने बेरोजगार यूवा सम्पर्कमा आएका छैनन् ।

यस्तै नरैनापुर गाउँपालिकाका कार्यकारी प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले पनि काम गर्ने यूवा नपाएर कार्यक्रम अगाडी बढाउन नसकिएको बताए । उनले अहिलेसम्म यूवालाई के काम गर्न दिने भन्ने नै एकीन नभएको बताए । ‘विकास, निर्माण र सरसफाई जस्ता काम गर्न मान्दैनन् । बसेर गर्ने काम छैन,’ उनले भने ।

खजुरा गाउँपालिकाका सूचना अधिकारी दिलबहादुर पौडेलले पनि रोजगारका लागि फाराम भरेको यूवा मध्ये एकदमै कममात्र कामका लागि आएको बताए । उनले गाउँपालिकाले एउटा वडाबाट २५ जनाको दरले रोजगार दिने योजना भए पनि त्यसो हुन नसकेको बताए । ‘एक त योजना छैन, अर्कोतर्फ यूवा बर्गले शारिरिक श्रम गर्ने काम गर्न रुचाउँदैनन्,’ उनले भने ।

कोहलपुर नगरपालिकामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी हुन सकेको छैन । नगरपालिकाले दुई सय २५ जना यूवालाई मात्र रोजगार दिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रमुख भद्र थापाले बताए ।

कोहलपुर नगरपालिकामा पाँच हजार २५ जना यूवाले रोजगारका लागि निवेदन दिएका थिए । काम गर्ने आशय सहित आवेदन दिएका यूवाहरु कामको प्रकृति देखेर सोँचेभन्दा एकदमै कम सम्पर्कमा आएको उनले बताए । ‘कामको प्रकृति देखेर रोजागारका लागि आवेदन दिएका यूवा समेत सम्पर्कमा आउँदैनन्,’ उनले भने । कोहलपुर नगरपालिकाले यूवालाई सरसफाईमा खटाएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा पुरुषको तुलनामा महिलाको संख्या धेरै देखिएको छ । कोहलपुर नगरपालिकाले हालसम्म दुईसय ६० जनालाई रोजगार दिएको छ । ति मध्ये दुई सय ४२ जना महिला रहेको रोजगार अधिकृत थापाले बताए ।

उनले महिलालाई प्राथमिकता दिने कार्यक्रमको उद्देश्य भएकोले रोजगार गर्ने महिलाको संख्या बढि भएको बताए । उनले महिलालाई नाली र सडक सरसफाई तथा फुल र विरुवा गोड्मेल गर्ने काममा खटाएको बताए । ‘महिलाको भन्दा रोजगारका लागि आउने पुरुषको संख्या अपेक्षा गरेको भन्दा कम छ,’ उनले भने ।
खजुरा गाउँपालिकामा पनि महिलाको संख्या धेरै भएको सूचना अधिकारी दिलबहादुर पौडेलले बताए । उनले तीन चौथाई महिला भएको बताए । ‘बेरोजगार महिलालाई पहिलो प्राथमिकतामा राखेर रोजगार दिइएको छ,’ उनले भने ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अत्यन्तै राम्रो भए पनि कामको प्रकृति फेरबदल गर्नुपर्ने नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी प्रशासकीय अधिकृत प्याकुरेलले बताए । उनले सरकारले आगामी दिनमा यो कार्यक्रमको ढाँचा परिवर्तन गरि नयाँ रणनीति बनाउनु पर्ने सुझाव दिएका छन् ।