छात्रवृत्तिमै ४ करोड बजेट


छात्रवृत्तिमै ४ करोड बजेट

नेपालगन्ज : प्रदेश पाँच सरकारले सामुदायिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत छात्रालाई छात्रवृत्ति दिन ४ करोड बजेट विनियोजन गरेको छ ।

विद्यालयमा छात्राको संख्या बढाउन प्रदेश सरकारले मुक्त कमैया, कम्लरी, मुस्लिम र दलित समुदायका छात्रालाई मासिक एक हजार छात्रवृत्ति दिने गरी उक्त बजेट विनियोजन गरेको हो ।

आगामी वर्षको बजेटमा सामाजिक विकास मन्त्रालयले हालै गरेको सर्वेक्षण अनुसार प्रदेशमा हाल करिब २० हजार त्यस्ता छात्रा छन । पढ्न नपाएकाले पढ्न पाउने र पढ्न थालेकाको पढाइ नरोकियोस् भनेर प्रदेश सरकारले बजेट विनियोजन गरेको शिक्षा इकाई समन्वय समिति बाँकेका प्रमुख गोरखबहादुर थापा बताउँछन् ।

स्वास्थ्यमा मुस्लिम तथा अल्पसंख्यक समुदायका महिलाको पहुँच बढाउन अनमी र अहेव अध्ययन गर्न छात्रवृत्ति दिने भएको छ । त्यसका लागि आउँदो वर्ष ४० जना छात्रालाई नेपालगन्ज र बुटवलका कलेज छनोट गरी पढाइने तयारी भएको छ ।

यसैगरी प्रदेशमा करिब २५ प्रतिशत महिला घरमै प्रसूति हुन्छन, जसका कारण कतिपयले आमा बन्दा ज्यान गुमाएका छन्। नवजात शिशु जोखीममा छन्। यसबाट छुट्कारा दिन प्रदेश सरकारले स्थानीय तहको सहकार्यमा गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने छ । त्यसका लागि प्रदेशका १ सय ९ वटै स्थानीय तहमा कम्तीमा एउटा एम्बुलेन्सको व्यवस्था गर्ने छ।

यस्तै, स्वास्थ्य संस्थामा जन्मेका सबै बालबालिकालाई भिटामिन के खुवाइने छ। त्यसका लागि २ करोड ५० लाख विनियोजन भएको छ। भिटामिन केले रगत जम्न सहयोग गर्छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउन समेत सहयोग गर्ने चिकित्सकहरूको भनाइ छ ।