नरैनापुरमा ५ हजार आवेदन


नरैनापुरमा ५ हजार आवेदन

नेपालगन्ज :बाँकेको नरैनापुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ ।

वडा नम्बर ३ कालाफाँटाबाट मंगलबारदेखि कार्यक्रमको सुरुवात गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नरैनापुर गाउँपालिकामा ५ हजारले आवेदन दिएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले शुभारम्भ गरेका छन् । पहिलो चरणमा सिंचाईका लागि पोखरी निर्माण गर्न वडा नम्बर ३ का ४२ जनालाई काममा लगाइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।

उनीहरुलाई मजदुरले दैनिक रुपमा पाउने न्यूनतम् ज्याला ५ सय १७ रुपैयाँ दिइने बस्नेतले जानकारी दिए । अब केही दिनमै अन्य वडाहरुमा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरिने अध्यक्ष शाहले बताए ।

शुभारम्भ कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मोल्हे बेहना शेष, २ का अध्यक्ष मसुद अहमद शाह, वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार मौर्य लगायतको उपस्थिति थियो ।