जानकीको गाँउसभा सुरु


जानकीको गाँउसभा सुरु

नेपालगन्ज : आगामी आर्थिक वर्षका लागि जानकी गाँउपालिकाले नीति तथा कार्यक्रम पेश गरेकोछ । गाउँपालिका अध्यक्ष रामनिवास यादवले आईतबारबाट सुरु भएको पाँचौ गाउँसभामा नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका हुन ।

सात दिनसम्म चल्ने गाउँसभाबाट आगामी वर्षका लागि नीति तथा कार्यक्रम तय गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिए ।
गाउँसभामा पेश गरिएको नीति तथा कार्यक्रममा दफावारे छलफलका लागि सोमबारदेखि छलफल हुने गाउँपालिका अध्यक्ष यादवले सभामा जानकारी गराए ।

गाउँपालिकाको नीति कार्यक्रममा प्रमुख प्राथमिकता पूर्वाधार निर्माण परेको छ । यसका साथै कृषिलाई दोस्रो प्राथमिकतामा पारिएको छ । गाउँ सभामा अध्यक्ष यादवले प्रस्तुत गरेको नीति कार्यक्रम कृषकका लागि सिंचाई मल, बीउ तथा बजारीकरणलाई विशेष महत्व दिईएको छ ।

यस्तै पिप्रहवा चोकदेखि सी गाउँसम्मको बाटो निर्माणलाई प्राथमिकतामा राखेकोछ । नीति कार्यक्रममा मावि संचालन नभएका वडामा मावितहको पढाई संचालन, शिक्षा क्षेत्रको भौतिक सुधार, स्वास्थ्य तथा सरसफाई र स्वच्छ खानेपानीको सुविधा, जनताको आर्थिक स्तर बृद्धि लगायतका कार्यक्रम गरिनेछ ।