नेपालगन्ज : बाँकेको सीमावर्ती क्षेत्रमा भारतले अन्तर्राष्ट्रिय नीतिविपरित निर्माण गरेको लक्ष्मणपुर बाँघ भत्काउन सांसदहरुले माग गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको शून्य समयमा बोल्दै नेमकिपाका सांसद प्रेम सुवालले बाँके जिल्लाको सीमानामा निर्माण गरिएको लक्ष्मणपुर बाँध तत्काल भत्काउन सरकारको ध्यानाकर्षण गरेका हुन ।
सीमा क्षेत्र नजिक भारतले अन्तर्राष्ट्रिय नियमविपरीत लक्ष्मणपुर बाँध र तटबन्ध बनाएको उनले बताए । यसले बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दा समस्यामा परेका सांसद सुवालको भनाई छ । उनीहरुमा वर्षेनी बाढी र डुबानको पीडा अहिलेपनि रहेको छ । उनले भने ‘सरकारले यो समस्या समाधानका लागि तल्त्काल पहल गर्नुपर्छ ।’
बाँकेका सांसद पूर्णकुमारी सुवेदीले राप्ती नदीमा पक्की बाँध निर्माण गर्न सरकारसँग माग गरेकी छन् । उनले भारतीय पक्षले निर्माण गरेको लक्ष्मणपुर बाँधका कारण बाँके जिल्लाका १० हजार बिघा जमीन डुबानमा परेको बताइन् । उनले यस विषयमा सरकार तत्काल गम्भीर हुन आग्रह गरेकी छन् ।
बाँकेको सीमावर्ती क्षेत्रमा भारतले बाँधजस्तै अग्लो सडक बनाएको छ । यो सडकका कारण सदरमुकाम नेपालगन्ज पनि डुब्ने खतरा बढेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा बताउँछन् ।
भारतको यस्तै कार्यका कारण प्रत्येक वर्ष बाँकेका होलिया, बेतहनी, फत्तेपुर, टेपरी, घोडियनपुर गाउँ तथा नगर क्षेत्रका झण्डै ५ हजार घरधुरीका करीब २४ हजार नागरिक प्रभावित छन् ।
उनीहरु बाढीपीडितको नियति भोग्न बाध्य छन् । मनसुन चरम उत्कर्षमा भएको समयमा बाँके जिल्ला प्रशासन कार्यालयले नेपाली भूमि डुबान हुन नदिन भारतीय पक्षसँग तटबन्धको ढोका खोल्न आग्रह गरे पनि त्यसले सार्थकता भने पाउँदैन ।
बेलाबखत र आवश्यक परेका बेला मात्र बस्ने दुवै देशका सीमावर्ती जिल्लाका अधिकारीको संयुक्त बैठकमा नेपालको तर्फबाट बाँकेको राप्ती तटीय क्षेत्र डुबान हुन नदिन बाँधको ढोका पर्याप्त खोल्न आग्रह गरिए पनि त्यसको सुनुवाइ हुँदैन ।
पीडादायी तथ्यांक

यस्तो छ बाँधको ईतिहास
भारत सरकारद्वारा निर्माण गरिएको लक्ष्मणपुर बाँध र त्योसँगै निर्माण गरिएको २२.५ किमि लामो कलकलवा तटबन्धमा अन्तर्राष्ट्रिय कानून विपरीत छ भन्ने कुरा नेपाल सरकार र स्थानीय समुदाय सबैलाई थाहा छ ।
नेपाल–भारत सीमासँगै जोडेर भारतले राप्ती नदीमा सन् १९८१ मा सुरु गरी सन् १९८५ मा राप्ती नदीमा लक्ष्मणपुर बांधको निर्माण गरेको देखिन्छ भने आर्थिक वर्ष १९९९–२००० मा २२.५ कि.मि. कलकलवा एफलक्स बण्डको निर्माण काम समापन भएपछि बाँके जिल्लाको ५ वटा गाविसहरू होलिया, बेतहनी, फत्तेपुर, गङ्गापुर र मटैहियामा डुबान र कटान पटान समस्या अत्यधिक रूपमा वृद्धि हुँदै आएको छ ।
लक्ष्मणपुर बाँध र यसको २२.५ कि.मि .लामो कलकलवा एफलक्स बण्ड निर्माणका कारण बाँके जिल्लाका दक्षिणवर्ती पाँचवटा गाविसका पन्ध्र हजारबढी बासिन्दाहरू हरेक वर्ष डुबानमा पर्दै आइरहेका छन् ।
नेपाल–भारत सीमा क्षेत्रको दशगजाबाट ३ देखि ५०० सय मिटरसम्म मात्रको दूरीमा बनाइएको कलकलवा एफलक्स बण्ड निर्माण गरिएको छ र नेपाली भूभागबाट बग्ने सानाठूला खोला र खहरेहरूलाई प्राकृतिक रूपमा बग्ने पानीको अवरोध सृजना भएको र राप्ती नदीको पानी निरन्तर रूपमा लक्ष्मणपुर बाँध नहर प्रणालीद्वारा भारतीय भूभाग सिंचाइमा कुनै किसिमको अवरोध नहोस् भन्ने दीर्घकालीन उद्देश्यका साथ २२.५ कि.मि लामो कलकलवा एफलक्स बण्ड निर्माण गरिएको र नेपालबाट यसको व्यापक विरोध हुन थालेपछि उक्त एफलक्स बण्डलाई बाँध जोड्ने बाटोको रूपमा परिणत गरिएको हो ।
राप्ती नदी नेपाल हँुदै भारत गएको हो र भारत प्रवेश गर्ने वित्तिकै नहर बनाएर राप्तीको पानी उपभोग गर्ने एकलौटी अधिकार भारतलाई छैन । सीमाबाट ८ किमिको दूरीसम्ममा त्यस्तो संरचना बनाउँदा एक देशले अर्को देशको सहमति लिनै पर्दछ । तर, राप्तीको बाँध निर्माणमा भारतीयपक्षबाट नेपालसँग कुनै सहमति लिएको छैन । दशगजाबाट कलकलवा बाँधको दूरी आधा किमिभन्दा पनि कम छ ।
लक्ष्मणपुर बाँध पनि दशगजा क्षेत्रबाट ४ किमिभन्दा बढी दूरीमा छैन । त्यसैले त्यहाँ नेपालको हक त मिचिएकै छ, त्यसले नेपालका साविक ५ वटा गाविसका ३३ गाउँलाई नै डुबाउने काम गरेको छ ।
आफ्नो एकलौटी निर्णयद्वारा उत्पन्न यो समस्या समाधान गर्ने जिम्मेवारीबाट भारत पन्छिन पाउँदैन । यो समस्या समाधानका लागि नेपाल सरकारले भारत सरकार समक्ष आफ्नो अधिकार मिचिएको र यो भारत सरकारको मिचाहा प्रवृत्तिलाई सच्याउँदै तत्काल क्षतिपूर्तिका लागि माग गर्नुपर्दछ भन्ने स्थानीय बाढी पीडित जनताहरूको जोडदार माग रहेको छ ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा