किसानलाई धानको ब्याड राख्न भ्याईनभ्याई


किसानलाई धानको ब्याड राख्न भ्याईनभ्याई

नेपालगन्ज : पानी नपरेपछि किसानलाई धानको ब्याड राख्न पाइँदैन कि भन्ने चिन्ता भइरहेको बेला आइतबार परेको पानीले राहत प्रदान गरेकोछ । असार दोस्रो साताको सुरुवातमै परेको पानीले बाँकेका किसान हर्षित मात्र बनेन् ढिलो गरि परेको पानीको सदुपयोग गर्न जुटेका छन् ।

गतबर्ष ढिलैगरि धान रोपेका बाँकेका किसान यसवर्ष पनि उही समस्या दोहोरिने होकी भन्ने चिन्तामा थिए । सिचाइको प्रचुर उपलब्धता विना आकाशे पानीको भरमा खेती गर्ने बाँकेका किसानलाई आइतबार परेको पानीले धानको बीउ (ब्याड) राख्न पाएपछि खुशी भएका छन् ।

केही ढिलैगरि परेको पानीले यतिवेला बाँकेका किसानलाई धानको बीउ (ब्याड) राख्ने चटारोले छपक्कै छोपेको छ । धानको बीउ राख्न आवश्यक पानी आकाशबाट परेपछि जिल्लाका अधिकांस किसानको दैनिकी यतीवेला खेतमै वितिरहेकोछ । समयमै धान रोप्न पाए उत्पादन पनि बढ्ने उनीहरु बताउँछन् ।

नेपालगन्ज–२० मनिकापुरका किसान रामनारायण यादवले पानी परेपछि हर्षित भएको बताउँदै भने, ‘समयमै पानी परेको छ । यतीवेला हामीलाई अब ब्याड राख्ने, खेत खनजोत गर्ने कामको चटारो छ । धान रोप्ने बेला पनि वर्षा भए अझै राम्रो हुने थियो ।’

बाँकेको मुख्य बाली धान भए पनि सिँचाइको प्रयाप्त सुविधा नभएपछि अधिकांश किसानहरु आकासे पानीको भरमा खेती गर्दै आएका छन् । त्यसो त सिँचाइ सुविधा भएका केही किसानहरुले धानको ब्याड यसअघि राखिसकेका छन् । भने सिचाईको व्यवस्था भएका बाँकेका केही गाँउपालिकाका किसानले यतिवेला रोपाई पनि गरिरहेका छन् । राप्ती सोनारी गाँउपालिकाका विभिन्न वडाहरुमा यतिवेला रोपाई चलिरहेको छ ।

‘पानी परेपछि ब्याड राख्न र धान रोप्नका लागि खेत खनजोत गरिरहेका छौं,’ जानकी गाउँपालिका–६ का किसान बद्रुदिन यादवले भने । बाँकेका केही सिमित जग्गामा मात्रै बोरिङको पानी र सतह सिँचाइमार्फत रोपाइँ हुने गरेको छ । हामीले डिप बोरिङबाट पानी तानेर धानको ब्याड राखेका छौं ।

अब रोप्नका लागि खेतबारी खनजोत गरिरहेका छौं,’ सीतापुरका किसान दीपक थापाले भने, ‘मनसुन समयमै सुरु भएको छ, अब त किसानलाई खाना खाने फुर्सद नै हुदैन ।’ किसानहरु कुन जातको धान लगाउँदा उत्पादन बढ्छ भनेर परामर्श लिन कृषि ज्ञान केन्द्र पुग्ने गरेका छन् त कोही खेत खनजोतमा लागेका छन् भने कोही ब्याडका लागि मल जुटाउन व्यस्त छन् ।

पानी पर्ला र धानको ब्याड राखौला भनेर प्रतिक्षा गरिरहेका किसानहरुले अहिले धमाधाम धानको ब्याड राख्न सुरु गरेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
‘अहिले केन्द्रका कर्मचारीलाई समेत धानको बीउका बारेमा परामर्श दिन भ्याईनभ्याई छ,’ केन्द्रका प्रमूख एवं बरिष्ठ कृषि प्रसार अधिकृत सागर ढकालले भने, ‘जेठ अन्तिम सातासम्ममा धानको ब्याड राख्दा उपयुक्त नै हुन्छ, तर एकहप्ता ढिलो पानी परे पनि ब्याड राख्न खासै ढिला भएको छैन ।’

बाँकेमा धान रोपाइँ हुने कुल ३६ हजार ५०० हेक्टर खेतीयोग्य जमिनछ । गतवर्ष पनि सोही क्षेत्रफल खेतमा धान खेती गरिएको थियो । अहिले पनि सबै क्षेत्रफलमा धान खेती हुने अनुमान रहेको कृषि प्रसार अधिकृत ढकालले बताए । उनका अनुसार गत वर्ष बाँकेमा चार मेट्रिक टन प्रतिहेक्टरका दरले एक लाख ४६ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

उनले भने, ‘यस वर्ष पनि सोही अनुपातमा उत्पादन हुनेछ । ब्याड राखेको तीन हप्तामा धान रोप्नका लागि तयार हुन्छ । मौसम प्रतिकुल भए साउन पहिलो सातासम्म सबै खेतमा धान रोपाइँ भइसक्नेछ ।’ कृषि प्रसार अधिकृत ढकालका अनुसार सिँचाइ सुविधा नभएका स्थानहरुमा राखिएको ब्याड असार अन्तिम सातादेखि रोप्नका लागि उपयुक्त हुनेछ ।

अघिल्ला वर्षहरुमा राम्रो फलेकै आधारमा पुराना र एकै जातका धान लगातार रोप्न उपयुक्त नहुने किसानहरुलाई सुझाव दिने गरेको बताउँदै कृषि प्रसार अधिकृत ढकालले भने, ‘बाह्य अवरोध तथा रोग प्रतिरोधात्मक क्षमता भएको एवं कृषि अनुसन्धान परिषद (नार्क)ले सिफारिस गरेका नयाँ र उन्नत जातको धान लगाउन किसानहरुलाई सुझाव दिएका छौं ।’

उन्नत जातका धानको बीउ रोप्दा धानमा रोग कम लाग्ने तथा वातावरण अुनुकुल नभए पनि उत्पादनमा ह्रास नआउने कृषि ज्ञान केन्द्रले जनाएको छ । धानको ब्याड राख्ने समय भएसँगै कृषि अनुसन्धान परिषद् (नार्क)ले नार्कले किसानहरुलाई ब्याड राख्नु पहिले कृषि प्राविधिकसँग सम्पर्क गरेर बीउ उपचार गरेर धानको ब्याड राख्न आग्रह गरेको छ ।

नार्क खजुराका बाली बैज्ञानिक रामदास चौधरीले नयाँ जातको धानको बीउ छनोट गर्न सुझाव दिएका छन् ।‘समयमै पानी परेको र ब्याड राख्नेसमेत समय भएकोले नार्कबाट सिफारिस भएका धानका जातहरु सुख्खा र डुवान सहन सक्ने धान प्रयोग गर्नुस्,’ किसानहरुलाई आग्रह गर्दै उनले भने ।