राप्ती तटबन्ध निर्माणमा पालिका उदासिन

छुट्टाएनन् बजेट


राप्ती तटबन्ध निर्माणमा पालिका उदासिन

नेपालगन्ज : राप्तीपारीका तीनवटै गाउँपालिकाले मंगलबार पालिकाको बजेट विनियोजन गरेका छन् । पालिकाले शिक्षा, स्वास्थ्य पुर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

तर, बषौंदेखि प्रताडित बनाईरहेको राप्तीनदीको तटबन्ध निर्माणका लागि यी तीनै पालिकाले बजेट विनियोजन गरेका छैनन् । उक्त तटबन्ध नियन्त्रणका लागि पालिका उदासिन रहेका छन् । प्रभावीत क्षेत्रका राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाले बजेट विनियोजन नगरेका हुन् ।

राप्ती नदीमा तटबन्ध नहुँदा वर्षेनी खेतीयोग्य जमिन कटान हुने गरेको छ । यो वर्ष पनि वर्षात् शुरू भएसँगै यस क्षेत्रका विभिन्न गाउँमा जमिन कटान शुरू भएको छ । केही दिनअघि परेको पानीका कारण नदीको वहाव बढेपछि नरैनापुर लगायतका विभिन्न गाउँहरु डुबानमा परेका थिए । कतिपय घर भत्किएका थिए । दर्जनौं नागरिक विस्थापीत भएका थिए । खेतीयोग्य जमिन कटान तीव्र पारेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

हरेक वर्ष वर्षातपछि राप्ती नदीमा उर्लिएर आउने बाढीले नदी किनारका खेतीयोग्य जमीनसँगै बस्ती पनि कटान गर्ने र डुबाउने गरेको छ । तर, उक्त तटबन्ध निर्माणका लागि प्रभावीत क्षेत्रका गाउँपालिकाले कुनै चासो देखाएका छैनन् । राप्ती नदी, झिझरी खोला, मुगुवा, मोरङ लगायतका नदीको कटान नियन्त्रण गर्न साना तथा मझौला तटबन्ध लगायतका कार्यक्रमहरुलाई कार्यान्वयनमा लगिनेछ भनिएपनि यसका लागि बजेट नतोकिएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु बताउछन् ।

जब मनसुन शुरु हुन्छ, अनि राप्ती नदी किनारका बासिन्दाको निन्द्रा हराउँछ । कति बेला राप्ती नदी उर्लिएर आउँछ र सर्वस्व बगाउँछ भन्ने चिन्ताले वर्षायाममा राप्ती नदी किनारका बासिन्दा पालैपालो सुत्ने गर्छन् । बाढी आउने डरले राति सुत्दा पालोअनुसार सुत्नुपर्ने उनीहरुको बाध्यता हो । राप्तीसोनारी गाउँपालिका–६ का स्थानीयवासी रामचरण थारूका अनुसार वर्खामा गाउँभरिका स्थानीयवासी पालोअनुसार सुत्नुपर्छ । उनका अनुसार राप्ती नदी किनारका स्थानीयवासीको दिनचर्या बाढीकै त्रासमा बित्ने गरेको छ ।

धेरै पटक निर्वाचन भए, तटबन्ध गरिदिन्छौँ भन्दै नेताहरुले भोट पनि मागे, सरकार धेरै फेरिए तर हाम्रा दुःख अहिलेसम्म फेरिएनन, अर्का स्थानीयवासी भरत डाँगीले भने, चुनावका बेला तटबन्ध निर्माण गरिदिने सबै नेताको मुद्दा नै बन्छ तर जितेपछि खै कहाँ र किन हराउँछ ? डेढ दशकअघि निर्माण शुरु भएको राप्ती नदी तटबन्ध अहिलेसम्म अधुरै छ, निर्माण सम्पन्न गर्न कुनै नेताले पहल नगरेको डाँगीको गुनासो छ ।

राप्ती नदीको कटानबाट उच्च जोखिममा रहेका होलिया क्षेत्रमा स्थानीयले लामो समयदेखि पक्की तटबन्ध निर्माणको माग गर्दै आएका छन् । राप्ती कटान र बस्ती डुबानसँगै वर्षेनी करोडौँको क्षति हुँदै आएको स्थानीयवासी रामसिंह थारूले बताए । उनले भने, ‘तटबन्ध नहुँदा नदीको कटानबाट हरेक वर्ष केही न केही खेतीयोग्य जमिन बगरमा परिणत हुँदै आएको छ ।

प्रत्येक वर्ष तटबन्ध बन्ने र भत्किने क्रम एक दशकदेखि निरन्तर छ । करोडौं लगानी गरिए पनि न गाउँ जोगिए, न त खेतीयोग्य जमिन बगर हुनबाट रोकिए । यसअघि होलियाको टेपरी, चौफेरी र फत्तेपुरको सर्रासर्री गाउँहरू पुरै विस्थापित भएका थिए । जनताको तटबन्ध कार्यक्रममार्फत सरकारले राप्ती नदी कटान नियन्त्रणका लागि २०६६ सालदेखि काम सुरु गरेको कार्यक्रमका प्रवक्ता इन्द्रबहादुर धिताल बताउँछन् । उनकाअनुसार अधिकांश संरचना अहिले बगरमा पुरिएका छन् ।