बाघ नियन्त्रणको माग गर्दै भएको शान्तिपूर्ण आन्दोलन उग्र बन्दा नविनाको ज्यान गयो

सुरक्षाकर्मीले ताकेरै गोली हानेको हो : आन्दोलनकारी, एक राउण्ड ९० डिग्री भर्टिकल हवाई फायर गरेका हौं : बर्दिया प्रहरी प्रमुख शाही


बाघ नियन्त्रणको माग गर्दै भएको शान्तिपूर्ण आन्दोलन उग्र बन्दा नविनाको ज्यान गयो

ओरालीबजार(बर्दिया) २८ जेठ : बर्दियाको मधुवन नगरपालिका वडा नम्बर – २, ओराली बजारमा भएको गोली काण्डमा स्थानीय १८ वर्षीया नबिना थारुको मृत्यु भयो । पटक–पटक भइरहेको बाघ आक्रमण नियन्त्रणका लागि स्थानीयबासीले गरेको ‘शान्तिपूर्ण’ आन्दोलन उग्र बन्दा सुरक्षाकर्मीले चलाएको गोली लागी नविनाको मृत्यु भयो ।

नविनाको मृत्यु भएपछि उग्र बनेको आन्दोलनकारीले ओराली बजारमा आफैले बनाएको प्रहरीका लागि २ कोठे भवन, प्रहरी बिट तोडफोड गर्नुका साथै प्रहरीको सरकारी मोटरसाईकल एउटा र एकजना प्रहरी हवल्दारको निजी मोटरसाईकल जलाइयो ।

गत जेठ २३ गते विहान साढे ८ बजे घरनजिक खेतमा काम गरिरहेकी अस्मिता थारुलाई बाघले आक्रमण गरि घाइते बनाएपछि आक्रोशित बनेका स्थानीयले मधुवन नगरपालिका–२ ओराली बजारमा विरोध प्रर्दशन गर्दै सडक अबरुद्ध बनाएका थिए ।

आन्दोलनकारीले जलाएको एउटा सरकारी र एउटा प्रहरीको निजी मोटरसाईलकको भग्नावशेष । तस्विर : विजय मल्ल /सेतोखरी

दिउँसो सवा एक बजेदेखि स्थानीयबासीले गुलरिया–राजापुर सडकक्षेत्रको ओरालीबजारमा सडक अबरुद्ध बनाई बाघ नियन्त्रण गर्नुपर्ने माग राखेका थिए । सोही दिन बेलुका भएको आन्दोलनकारी र सुरक्षाकर्मीबीच दोहोरो झडप हुँदा सुरक्षाकर्मीले चलाएको गोली लागि नविनाको मृत्यु भयो भने नेपाल प्रहरीका ११ जना, सशस्त्र प्रहरीका ७ जना तथा आन्दोलनकारी ४ जना घाईते भए ।

Kids Festival 2022
kanti aarogya hospital

तीन दिनपछि स्थानीय प्रशासन र पीडित पक्षबीच गत बुधबार सहमति भएपछि अवरुद्ध सडक खुलेको हो । भने गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा गठित ५ सदस्यीय समिति यतिबेला घटनाको अनुसन्धानमा रहेकोछ ।

बर्दियामा भएको उक्त घटनाका विषयमा बाँकेका अधिकारकर्मीको टोलीले स्थलगत अनुगमन गरि घटनाको वास्तविकता बुझ्दा अधिकारकर्मी सामु सुरक्षाकर्मी र आन्दोलनकारी दुवै पक्षले आ–आफ्नै दावी प्रस्तुत गरेका छन् । उनीहरुको दाविले घटनाको वास्तविकता अझैं लुकेको उनीहरुको भनाईछ ।

घटनाको सम्बन्धमा आन्दोलनकारी र पीडित पक्षले सुरक्षाकर्मीले पुर्व सूचना नदिई गोली हानेर हत्या गरेको आरोप लगाएका छन् । भने सुरक्षाकर्मीले आन्दोलनकारीले प्रहरी माथी ढुंगा प्रहार गरी लखेटेपछि सिर्जित परिस्थितीमा सुरक्षाकर्मीले बल प्रयोग गर्न बाध्य भएको दावी गरेका छन् ।

घटनाको स्थलगत अनुगमन गर्न पुगेको बाँकेको अधिकारकर्मीको टोली । तस्विर : विजय मल्ल/ सेतोखरी

नेपालगन्जबाट गएको अधिकारकर्मीको टोलीमा एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम, इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जकी कार्यक्रम अधिकृत सरस्वती मल्ल र मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभात कुमार ठकुरी सम्मिलित अधिकारकर्मीले टोलीले यही बुधवार घटनास्थलको स्थलगत अध्ययन गरेको थियो ।

उक्त अधिकारकर्मीको टोलीले आन्दोलन भएको स्थल, बाघले आक्रमण गरेको स्थान, सुरक्षाकर्मीको गोली लागि मृत्यु भएकी नविनाको घरमा पुगी घटनाको बारेमा अनुगमन गरेको थियो । यस्तै अधिकारकर्मीको टोलीले बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र बर्दिया प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीसंग घटनाका विषयमा अनुगमन र जानकारी लिएको थियो ।

मधुवन नगरपालिका वडा नम्बर– २ सोनाहा गाउँकी अस्मिता थारुलाई बाघले आक्रमण गरेको स्थान देखाउँदै कालुराम थारु । तस्विर : विजय मल्ल /सेतोखरी

आरक्षित वन्यजन्तु संरक्षण वन क्षेत्रबाट बाघ, चितुवा लगायतका वन्यजन्तु गाउँपसि श्रृङ्खलाबद्ध रुपमा स्थानीयमाथि आक्रमण गरि ज्यानै लिन थालेपछि सुरक्षाको आवश्यक प्रबन्ध मिलाई दिन स्थानीयहरुले बिभिन्न सरोकारवाला निकायलाई गुहारेका थिए । तर, बाघ, चितुवा दिउँसै गाउँ छिरी सर्वसाधारणको हत्या गर्न थालेपछि आक्रोसित बनेका स्थानीयहरु सरोकारवालालाई दवाव दिन बाटो अवरुद्ध गरि आन्दोलनमा उत्रिएका थिए ।

घटना यस्तो थियो

बर्दिया मुधवन नगरपालिका–२ ओराली बजारमा यही जेठ २३ गते बेलुका ६ बजेतिर सुरक्षाकर्मीले चलाएको गोली लागेर जिल्ला बर्दिया मधुवन नगरपालिका–२ सोनाहा गाउँकी १८ वर्षीया नविना थारुको मृत्यु भएको थियो । भने सोही ठाउँका २२ वर्षीय राकेशकुमार चौधरी घाइते भएका थिए । उनको नेपालगन्जमा उपचार चलिरहेकोछ ।

नविनालाई गोली लागेको स्थल । घेराभित्र गोली लागि बगेको जमेको रगत र उनले लगाएको एउटा चप्पल । तस्विर : विजय मल्ल /सेतोखरी

यस्तै घटनामा मधुवन–२ का ३० वर्षीय धनीराम थारुले आन्दोलनका क्रममा प्रहरीले बन्दुकको कुन्दाले हान्दा उनको बायाँ कुममा चोटको निशान अझैं ताजा छ । बायाँ कुममा चोट देखाउँदै उनले सुरक्षाकर्मीकले आफूमाथि जथाभावी कुटेको आरोप लगाएका थिए ।

स्थानीयद्वारा अवरुद्ध बाटो खुलाउन जनपथ प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको थियो । भिड नियन्त्रणका लागी दुवै तर्फबाट गोली चलाएकोमा कसको गोली लागी मृत्यु भएको भन्ने यकिन खुलेको छैन । घटनामा आफ्नो तर्फबाट गोली नचलाएको सशस्त्रको प्रहरीको दावी रहेको छ । कोखामा गोली लागेर घाइते भएका राकेश कुमार चौधरीको नेपालगन्ज स्थित नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालमा नेपालगन्जमा उपचार भैरहेको छ ।

आन्दोलनको अगुवाई गरिरहेका कालुराम चौधरी । तस्विर : विजय मल्ल/ सेतोखरी

श्री चमेली गौरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष समेत रहेका उक्त आन्दोलनको अगुवाई गरिरहेका कालुराम चौधरीले बाँकेबाट गएको अधिकारर्मीका सामु घटना विवरण यसरी सुनाए :

१५ दिन पहिले पनि बाघको आक्रमणबाट स्थानीय कौशिला देवी पाल(५४ वर्ष) को मृत्यु भएको थियो । उक्त घटना सेलाउन नपाउँदै एकपछि अर्को गर्दै गाउँ घरमै बाघ आई ब्यक्तिलाई आक्रमण गरि मृत्यु हुने घटना बढेपछि यसको रोथाम र नागरिकको जिवन रक्षाको लागी शान्तिपुर्ण आन्दोलन गरिरहेका थियौं ।

हाम्रो माग भनेको वन्यजन्तु गाउँघरम पस्न रोक्न उचित तारबार गरिनुपर्ने थियो । आन्दोलन गरिरहदाँ हामीसंग स्थानीय प्रशासन र सम्बन्धित निकायका ब्यक्ति आएर वार्ता गर्छन र हामी आफ्नो माग राख्छौं हाम्रो तयारी थियो । हाम्रो आवाजको सुनुवाई नहुने भएपछि हामी त्यसदिनको आन्दोलन स्थगित गरेर भोली नयाँ स्वरुपमा जाने भन्दै योजना बनाउन लाग्यौंं । यसका लागि एउटा प्रेस विज्ञप्ती सार्वजनिक गर्ने र ज्ञापन पत्र दिने तयारी भयो ।
बेलुका भइरहदाँ आन्दोलनमा अधिकांश महिला, युवतीको सहभागिता थियो । कतिपयले त काखे बच्चा बोकेर आन्दोलनमा उत्रिएका थिए ।

सुरक्षाकर्मीको गोली लागि ज्यान गुमाएकी नविना थारुकी वायाँबाट क्रमश आमा रामकृष्णी थारु, बुवा दुलारे थारु र दिदी करिश्मा थारु । तस्विर : विजय मल्ल /सेतोखरी

सुरक्षाकर्मीको समेत ठूलो संख्या थियो । हामी केही साथीहरु र राजापुरका डिएसपीसहितको टोली आन्दोलन भएकै छेउमा रहेको गोलघर (प्रतिक्षालय)मा बसेर विज्ञप्ती र ज्ञापन पत्र लेख्न थाल्यों । बेलुका करिब साढे पाँच बजिसकेको थियो हरिहर चौधरीले विज्ञप्ती तयार पार्दै थिए । सोही बेला त्यस ठाउँमा २–४ जना युवाको समुह आएर ‘विज्ञप्ती सिगप्ती ज्ञापन पत्र’ लेख्नु पर्दैन । यो रोक्नुस कुनै पनि सहति हुदैन भन्दै रोक्न लगाए । ज्ञापन पत्र लेखिरहेका हरिहरले कलम रोके । त्यतीकै बेला राजापुरका डिएसपी सूर्य सुवेदी र सशस्त्र प्रहरली एक्कासी सिठ्ठी फुक्दै बल प्रयोग गर्न थाल्यो ।

सडक छेउ मन्दिर नजिक रहेका धनिराम थारुलाई सुरक्षाकर्मीले लाठी प्रहार गर्यो । त्यसो हुने वित्तिकै भिड तितरवितर भयो । अचानक सुरक्षाकर्मीले बल किन र कसरी प्रयोग गर्यो हामी अन्यौल छौं । हामीलाई पूर्व सूचना समेत दिइएन । त्यसपछि सुरक्षाकर्मीले एकैपटक आन्दोलनकारीमाथि अन्धाधुन्द प्रहार गर्न थाल्यो । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेपछि लगभग त्यस दिनको आन्दोलन स्थगित हुनै लाग्दा आक्रोशित जनताले पनि आक्रमण गर्दै प्रहरीमाथि ढुङ्गा बर्साए ।

सुरक्षाकर्मीको गोली लागि ज्यान गुमाएकी नविना थारुको आमाबुवासंग जानकारी लिदैं अधिकारकर्मी लगायत ।

सुरक्षाकर्मीले बल प्रयोग गरेपछि दुवैपक्ष आक्रोसित थियो । कतिबेला सुरक्षाकर्मीलाई लखेट्छन जनताले कतिबेला सुरक्षाकर्मीले जनतालाई लखेट्छन् । अवस्था झन जटिल हुँदै गएपछि प्रहरीले आश्रुग्यास र हवाई फायर गर्यो । आश्रुग्यास र हवाई फायरकोको दृष्यले तितरवितर भएका आन्दोलनकारी उग्र बने त्यसपछि अवस्था नियन्त्रण बाहिर गयो ।

आन्दोलनकारीहरुले हिम्मतका साथ सुरक्षाकर्मीलाई ओरालीबजारदेखि पूर्वतिर भगाउँदै लगे । सुरक्षाकर्मीलाई ओराली बजारदेखि करिब एक सय मिटर पूर्व लखेट्दै गर्दा दायाँबायाँ तिर रहेको जङ्गमा छरिएर रहेका सुरक्षाकर्मीले आन्दोलनकारीमाथि बन्दुक तेर्साएका थिए । यो दृष्य सशस्त्र द्वन्द्वका बेलाको जस्तै थियो । त्यही बेला ३ राउण्ड फायर भयो । आन्दोलनका कारण रोकिएका सवारीसाधन नजिकै रहेकी नविनालाई ताकेरै गोली हानियो उनको त्यही मृत्यु भयो । त्यसपछि आन्दोलनरत जनता नियन्त्रण बाहिर गए । उनीहरुले प्रहरीको मोटरसाईकल, बिट र प्रहरीको दुई कोठे भवन तोडफोड गरे ।

१५ दिन अघि नै मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले मानव बस्तीमा तारबार लगाएर वन्यजन्यबाट सुरक्षा प्रदान गर्न पहल गर्ने बताएका थिए । तर, एकपछि अर्को घटना घट्ने र नागरिक बाघको आक्रमणबाट मर्ने क्रम नरोकिएपछि बाध्य भई आन्दोलनमा उत्रिनु परेको उनीसहित स्थानीयहरुले अनुगमन टोलीलाई बताएका घटनाको अनुगमन गर्न गएका अधिकारकर्मी बसन्त गौतमले जानकारी दिए ।

आन्दोलनकारीहरूले सरकारले घाइतेको निःशुल्क उपचार गर्नु पर्ने र नरभक्षी बाघलाई नियन्त्रणमा लिनुको साथै नागरिकहरूको सुरक्षा हुन पर्ने माग गर्दै जेठ २३ गते दिनभरी सडक अवरोध गरी आन्दोलन गरेको पाइएको हो ।

सुरक्षाकर्मीको गोली लागि ज्यान गुमाएकी नविना थारुको घर । तस्विर : विजय मल्ल/सेतोखरी

साँझ दुबै पक्षबिच भएको वार्तामा सहमती गरेर अबरोध हटाउने भनिएको भएपनि अचानक आन्दोलनकारी र प्रहरीबिच उत्पन्न तनावले उग्र रुप लिएपछि सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको घटना स्थलमै मृत्यु भयो भने एक जना घाइते भएको अनुगमनमा गएका अर्का अधिकारकर्मी प्रभात कुमार ठकुरीले बताए ।

अधिकारकर्मी सामु सुरक्षाकर्मीले पुर्व सूचना नदिई एक्कासी सिटि फुकेर गोली चलाएको आरोप उनीहरुले लगाएका छन् । भने सुरक्षाकर्मीले आन्दोलनकारीबाट ढुंगामुडा गरि सुरक्षाकर्मीसंग लड्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गर्नु परेको प्रतिक्रिया दिएको उनले बताए ।

घटनास्थलबाट प्रहरीले स्थानीय ३५ वर्षिय भिम नेपाल, २२ वर्षीय संजिव योगी चौधरी र ३३ वर्षीय तिलक शाहीलाई नियन्त्रणमा लिएर लगेकोमा सोहि दिन राती ११ बजे जिल्ला प्रहरी कार्यालय बर्दियाबाट मुद्दा नचलाई थुनामुक्त गरेको स्थानीयको भनाई रहेको अनुगमनकी सदस्य अधिकारकर्मी सरस्वती मल्लले जानकारी दिइन् ।

बजारमा आफु ‘सेभ’ भईदैन भनेर सुरक्षाकर्मी जंगलसाईडमा गई गोली हानेको आरोप स्थानीयहरुले लगाएका छन्’ उनले भनिन्–‘प्रहरीले ७०० मिटर परसम्म लखेट्दै ढुंगाामुडा गरेकोले योजनाबद्ध रुपमा घटना घटाएको हुन सक्ने प्रहरी उपरीक्षक बीरबहादुर शाही आफ्नो सफाई पेश गरेका छन् ।’

अनुगमन टोलीसंग मृतकका बुवा दुलारे थारु र आमा रामकृष्णी थारुले घटनाको सत्य तथ्य बाहिर ल्याउन र दोषीलाई कानूनी कारबाही गर्नु पर्ने मुख्य माग रहेको बाँकेका अधिकारकर्मीले बताएका छन् ।

एक राउण्ड ९० डिग्री भर्टिकल हवाई फायर गरेका हौं : बर्दिया प्रहरी प्रमुख शाही

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक वीरबहादुर शाहीले प्रहरीका तर्फबाट शक्तिको प्रयोग कानून र आवश्यकता अनुसार गरिएको बताए ।

आन्दोलनकारीले ढुंगामुडा गरि लखेट्ने, ढलाउने कार्य गरेपछि बल प्रयोग भएको हो । यसमा अनावश्यक बल प्रयोग गर्ने गरेका होईन । सरकारले अनुसन्धान टोली गठन गरेकाले यथार्थ कुरा त्यहिबाट आउने प्रहरी उपरीक्षकको भनाई छ ।

आन्दोलनकारीको ढुंगा प्रहारबाट प्रहरी नायव उपरीक्षक सहित ११ प्रहरी घाईते भएको प्रहरी उपरीक्षक शाहीले बताए । वडा कार्यालयले बनाईदिएको सुरक्षा बिट जलाउने, मोटरसाईकल जलाउने कार्यले घटना पुर्व योजना हो कि भन्ने आशंका उब्जाएको उनको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाही । तस्विर : विजय मल्ल /सेतोखरी

सो घटनाको विषयमा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले गृह मन्त्रालयबाट घटनाको छानविन समिति गठन भएर आइसकेकोले अब के कसरी ब्यक्तिको मृत्यु हुनेसम्मको घटना हुन पुग्यो भन्ने बारेमा समितिको प्रतिवेदनले खुलाउने प्रतिक्रिया दिए ।

घटनामा गोली चली एक किशोरी नबिना थारु मृत्यु भएको र केही स्थानीय घाईते भएको सन्दर्भमा घटनास्थलमा जनपथ प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा तैनाथ रहेकोमा सुरुमा आवश्यकता अनुसार गोली चलाएको भनी आफ्नो माथील्लो निकायमा जाहेर गरेको सशस्त्र प्रहरीले पछि आफ्नो तर्फबाट गोली नचलाएको दावी प्रस्तुत गरेको बताइन्छ ।

पीडित र सरकार पक्षविच पीडितलाई तत्काल क्षतीपूर्ति र घाइतेको निःशुल्क उपचार गर्ने सहमति भएपछि अवरुद्ध सडक तीन दिनपछि खुलेको छ । पीडित पक्ष, प्रशासन, स्थानीय जनप्रतिनिधि र राजनीतिक दल बीच मृतकका परिवारलाई काजक्रियाबापत एक लाख, बीस लाख रुपैयाँ क्षतिपूर्ति, मृतकको शालिक निर्माण र घाइतेहरुको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने सहमतिपछि गत सोमबारदेखि अबरुद्ध सडक सूचारु भएको हो ।

अनुगमनका क्रममा बाँकेको अधिकारकर्मी लगायत बर्दिया जिल्ला प्रहरी कार्यालयमा ।

बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, खाता जैविक मार्गमा मानव बसोबास क्षेत्रभित्र मानव बन्यजन्तु द्वन्द्वको स्थायी समाधान खोज्ने, पटक–पटक मानिसलाई आक्रमण गर्ने नरभक्षी बाघको पहिचान गरी स्थानान्तरण गर्ने र सो वन्यजन्तुको आक्रमण बढी हुने करिब २० किमी क्षेत्रमा तारजाली तथा कंक्रिट वाल लगाउने सहमतिपछि सडक सूचारु भएको हो ।

गृहको छानविन टोली घटनाको सुक्ष्म अनुसन्धान गर्दै

यसै बिच घटनाबारे अनुसान्धान गर्न गृह मन्त्रालयले बनाएको छानबिन गर्न ५ सदस्यीय समिति बर्दिया पुगेकोछ । गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन समिति घटनास्थलमा पुगी जेठ २५ गतेदेखि अनुसन्धान र छानविन गरिरहेकोछ ।

बर्दिया आइपुगेको गृह मन्त्रालयले बनाएको छानबिन समितिका संयोजक, सदस्य तथा बर्दियाका सिडिओ । तस्विर : विजय मल्ल /सेतोखरी

समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक (सहसचिव) बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य छन् ।

समितिलाई काम शुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी काम शुरु गरेको समितिका संयोजक हरि घिमिरेले बताए ।

थप समाचार

गृहको छानविन समिति बर्दिया आइपुग्यो, सहमतिपछि खुल्यो सडक

बर्दिया घटना : राजापुरका डिएसपी जिल्ला तानिए

बर्दिया घटनामा गृहमन्त्रीको स्पष्टीकरण : गोली हान्ने आदेश नै छैन, छानविन गरेर दोषीलाई कारबाही गछौं

बाघ आक्रमण नियन्त्रण गर्न भन्दै प्रर्दशन, प्रहरीले गोली चलाउँदा बालिकाको मृत्यु