गृहको छानविन समिति बर्दिया आइपुग्यो, सहमतिपछि खुल्यो सडक


गृहको छानविन समिति बर्दिया आइपुग्यो, सहमतिपछि खुल्यो सडक

जिल्ला प्रशासन कार्यालय बर्दियमा बुधबार बेलुका आइपुगेको गृह मन्त्रालयले बनाएको छानबिन समितिका संयोजक, सदस्य तथा बर्दियाका सिडिओ । तस्विर : विजय मल्ल /सेतोखरी

गुलरिया(बर्दिया) २५ जेठ : बर्दियाको मधुवन नगरपालिका वडा नम्बर–२ ओरालीबजारमा सोमबार नविना थारुको मृत्यु भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले बनाएको ५ सदस्यीय छानबिन समिति बुधबार बेलुका बर्दिया आइपुगेको छ ।

मन्त्रिस्तरीय निर्णयबाट गृहमन्त्री बालकृष्ण खाणले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा गठित ५ सदस्यीय समिति नेपालगन्ज हुदैँ बर्दिया पुगेको हो ।

बर्दिया आइपुगेको उक्त समितिले बुधबार बेलुका जिल्ला प्रशासन कार्यालय बर्दियामा प्रशासन र सुरक्षा निकायका प्रमुखविच छलफल गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी बास्तोलाले काठमाण्डौंबाट हवाई मार्गबाट नेपालगन्ज हुदैँ बर्दिया पुगेको जानकारी दिए । गृहको छानविन समितिका सदस्यलाई लिन स्वयम प्रजिअ बास्तोला नेपालगन्ज एरर्पोट पुगेका थिए । समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा अध्ययन गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा गठित छानविन समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक (सहसचिव) बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य रहेकाछन् ।

बुधबार बेलुका बर्दिया पुगेको उक्त छानविन समितिले भोली(बिहीबार) विहानदेखि घटनाका विषयमा छानविनको प्रक्रिया सुरु गर्ने छानविन समितिका संयोजक हरि घिमिरेले जानकारी दिए ।

यसैबीच, बाघ नियन्त्रणको माग राखेर स्थानीयबासीले सोमबार दिउँसो सवा एक बजेदेखि अबरुद्ध बनाएको गुलरिया–राजापुर सडक बुधबार दिउँसोबाट सञ्चालनमा आएको छ । स्थानीय प्रशासन र पीडित पक्षबीच बुधबार सहमति भएपछि अवरुद्ध सडक खुलेको हो ।

बर्दियाको ढोढरीस्थित प्रहरी कार्यालयमा बसेको प्रशासन, प्रहरी, जनप्रतिनिधि, राजनीतिक दल र पीडित परिवारका बीचमा भएको सहमति अनुसार तीनदिनदेखि अबरुद्ध सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

ढोढरीस्थित प्रहरी कार्यालयमा बसेको प्रशासन, प्रहरी, जनप्रतिनिधि, राजनीतिक दल र पीडित परिवारका बीचमा भएको उक्त सहमति अनुसार मृतकका परिवारलाई काजक्रियाका लागि तत्काल एक लाख प्रदान गर्ने, २० लाख क्षतिपूर्तिका लागि गृहमन्त्रालयसँग अनुरोध गर्ने, मृतकलाई शहिद घोषणाका लागि अनुरोध गर्ने, उपयुक्त स्थानमा शालिक बनाउने, मृतकका परिवारलाई रोजगारीका लागि पहल गर्ने, घाइतेको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने, अंगभंग भएमा अपांग सामाजिक सुरक्षा भत्ताका लागि पहल गरिने लगायतको सहमति भएकोछ ।

छलफलमा सांसद सन्तकुमार थारु, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, मधुवन नगरपालिका प्रमुख चेतबहादुर भाटलगायत पीडित परिवार र राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

यसअघि बाघ नियन्त्रणका लागि स्थानीयले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जना महिलाको मृत्यु भएको थियो भने केही प्रहरी र स्थानीयसमेत घाइते भएका थिए ।

गत जेठ २३ गते विहान साढे ८ बजे घरनजिक खेतमा काम गरिरहेकी अस्मिता थारुलाई बाघले आक्रमण गरि घाइते बनाएपछि आक्रोशित बनेका स्थानीयले मधुवन नगरपालिका–२ ओराली बजारमा विरोध प्रर्दशन गर्दै सडक अबरुद्ध बनाउका थिए ।

लामो समयसम्म प्रदर्शनकारीले सडक अबरुद्ध पारेपछि सोही दिन बेलुका ६ बजेतिर प्रहरीले बल प्रयोग गरेर बाटो खुलाउन प्रयास गरेको थियो । सो क्रममा स्थानीयबासी र प्रहरीबीच दोहोरो झडप हुँदा स्थिती तनावग्रस्त बनेको थियो । प्रदर्शनकारीले प्रहरीमाथि इटा, ढुङ्गा प्रहार गरेका थिए । दोहोर झडप उग्र बन्दै गएपछि सुरक्षाकर्मीले भीड नियन्त्रणमा लिन अश्रुग्यास र हवाई फायर गरेको थियो ।

भीड नियन्त्रणका लागि सुरक्षाकर्मीले चलाएको गोली लागि १८ वर्षीया नविना थारुको मृत्यु भएको थियो । बाघ आक्रमण नियन्त्रणका लागि आन्दोलित स्थानीयबासीमाथि गोली प्रहार भइ १८ वर्षिया नविनाको मृत्यु भएपछि आक्रोसित स्थानीयबासीले लगातार बुधबार मध्यान्हसम्म सडक अबरुद्ध पारेका थिए ।

थप समाचार

बर्दिया घटना : राजापुरका डिएसपी जिल्ला तानिए

बर्दिया घटनामा गृहमन्त्रीको स्पष्टीकरण : गोली हान्ने आदेश नै छैन, छानविन गरेर दोषीलाई कारबाही गछौं

बाघ आक्रमण नियन्त्रण गर्न भन्दै प्रर्दशन, प्रहरीले गोली चलाउँदा बालिकाको मृत्यु