बर्दिया घटनाको छानबिन गर्न समिति गठन
नेपालगन्ज २४ जेठ : गृहमन्त्री बालकृष्ण खाणले आन्दोलनमा उत्रिएका नागरिकहरुमाथि गोली चलाउने आदेश नदिएको प्रष्ट्याएका छन् । नागरिकको जीवन रक्षा नै राज्यको दायित्व भएको भन्दै उनले बर्दियाको घटनामा दोषीलाई कारबाही गर्ने बताएका छन् ।
बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि आन्दोलनमा उत्रिएका बर्दियाको मधुवन नगरपालिका–२ को ओराली बजार क्षेत्रका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा नविना थारुको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले ‘नागरिकहरुको यस्तो अवरोधमा गोली प्रहार गर्ने आदेश नै छैन । सम्झाई बुझाइ गर्ने, कमभन्दा कम शक्ति प्रयोग गर्ने भनेका छौं । सीडीओले पनि आदेश दिएको छैन भन्नु भएको छ । तर, त्यहाँ गोली चलेको छ र एक युवतीको निधन भएको छ ।’
यसअघि बर्दियामा भएको उक्त घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको उनले बताए ।
समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक (सहसचिव) बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य छन् ।
समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । गृहमन्त्री खाणले भने, ‘जसले गल्ती गरेको छ, त्यसअनुसार कारबाही गर्ने प्रतिवद्धता जनाउन चाहन्छु ।’
वन्यजन्तुको आक्रमणबाट स्थानीयवासी असुरक्षित हुँदै जाँदासमेत सुरक्षा निकाय समवेदनशील हुन नसकेपछि जनता सडकमा उत्रिएका हुन् । वन्यजन्तुको नियन्त्रण र पीडितिलाई क्षतिपुर्ति नदिएको स्थानीयबासीको भनाईछ ।
थप समाचार
बाघ आक्रमण नियन्त्रण गर्न भन्दै प्रर्दशन, प्रहरीले गोली चलाउँदा बालिकाको मृत्यु
नेपालको बाढी विपदका लागि आर्थिक सहयाेग गर्न तयार छन्, भारत, चीन र विश्व बैंक
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ