नेपालगन्जमा कति र कस्ता प्रकारका बालश्रमिक छन् यकिन तथ्यांक समेत छैन
नेपालगन्ज २९ जेठ : नेपालगन्ज उपमहानगरपालिकालाई सन् २०१७ को अन्त्यसम्म बालमैत्री नगरपालिकाका घोषणा गर्ने नगरबैठकले निर्णय गरेको थियो ।
तत्कालिन नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्सेर राणा र उपप्रमुख उमाथापा मगरले बालमैत्री नेपालगन्ज बनाउने प्रतिबद्धता ब्यक्त गर्दागर्दै कार्यकाल सकाएर विदा भए । यो अवधिसम्म नेपालगन्ज उपमहानगरपालिकालाई बालमैत्री त के बालश्रममुक्त गर्न सकिएन ।
बालमैत्री उपमहानगर घोषणा हुन आवश्यक एक सूचक हो बालश्रममुक्त । नगरबैठकको निर्णयले तोकेको सीमाअवधि सकिएको ६ वर्षपछि नेपालगन्ज उपमहानगरपालिकाले पुनः उही परानै प्रतिबद्धता पाएकोछ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले नेपालगन्जलाई बालश्रममुक्त घोषणा गर्ने प्रतिबद्धता ब्यक्त गरेकाछन् ।
अन्तर्राष्ट्रिय बालश्रम विरुद्धको दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा उपमहानगरपालिका प्रमुख तथा उपप्रमुखद्वय विष्ट र राईले यस्तो बताएका हुन् ।
त्यसो त नेपालगन्ज उपमहानगरपालिकालाई बालश्रम मुक्त घोषणा गर्न थालिएको यो पहिलो पटक होइन । यसअघि नै सन् २००९ मा तत्कालिन नेपालगन्ज नगरपालिकालाई बालश्रममुक्त नगरपालिकाका रुपमा घोषणा गरिएको थियो । तर, अहिले अवस्था फेरिएको छ । नेपालगन्ज उपमहानगरपालिका भएसगैं यसको कार्यक्षेत्र पनि बढेकोछ । साविकका १० गाविसलाई नगरपालिकामा गाभेर बनेको उपमहानगरपालिकामा बालबालिकाका समस्या जटिल र चिन्ताजनक बन्दै आएकोछ ।
नेपालगन्ज र यसआसपास रहेक ईट्टा भट्टा, उद्योग, फर्निचर पसल, विभिन्न होटल, पसल, ग्यारेज लगायतका क्षेत्रमा बालबालिकाको उल्लेख्य प्रयोग भएको पाइन्छ । जसमध्ये अधिकासं बालबालिका १६ वर्ष मुनिका छन् । यसरी यसक्षेत्रमा काम गर्ने बालबालिकाहरु विभिन्न किसिमका जोखिममय वातावरणमा जिवन निर्वाह गरिरहेकाछन् ।
जनप्रतिनिधीहरुको उपस्थिती हुदाँ समेत बालमैत्री अभियान र यसको महत्वका विषयमा न त उपमहानगरपालिकाले नै ठोस् कदम चाल्न सकेको छ न त सम्बन्धित वडाले नै । उपमहानगरपालिकालाई बालश्रम मुक्त बनाउने उद्घोषण गरिरहँदा उपमहानगरपालिकासंग न त कुनै ठोस योजना छ न त प्रयाप्त बजेट ।
अर्को लज्जास्पद कुरा के भने उपमहानगरपालिकामा कति र कस्ता प्रकृतिका बालश्रमिक छन् भन्ने यकिन तथ्यांक नै छैन । जसका कारण बालश्रमिकहरुको अवस्था यकिन गर्न अप्ठेरो परेकोछ । वर्षेनी बालश्रम विरुद्धको दिवस मनाइरहदाँ मात्र बालश्रमको मूल्याङ्कन गर्ने बौद्धिक जमातहरुलाई दिवस र दिवससंग जोडिएर आउने यी तथ्यले कुरीकुरी गरिरहेको हुन्छ ।
नेपालगन्जमा बालश्रमिकहरु दैनिक बढ्दै गइरहेका छन् । आर्थिक स्थिति कमजोर भएका परिवारका बालबालिकाहरु विभिन्न व्यवसायिक प्रयोजनका लागि बालश्रमिकका रुपमा काम गर्दै आएका छन् । बालअधिकारका क्षेत्रमा काम गर्ने धेरै संघसंस्थाहरु भएपनि उनीहरुको उचित विकल्पसहित व्यवस्थापन गर्न नसक्दा दैनिक रुपमा बाल श्रमिकको संख्यामा बृद्धि भइरहेको छ ।
नेपालगन्जका अधिकांश होटल तथा व्यवसायिक क्षेत्रमा काम गर्ने बालबालिकाहरु नै छन् । यति मात्र होइन वर्षेनी बालबालिकाको अधिकार रक्षा र श्रमिकका रुपमा काम गरिरहेका बालबालिकालाई उचित शिक्षा नै दिनेगरी पुनःस्थपनाका नाममा लाखौं खर्च हुँदा पनि बालबालिकाको अवस्था फेरिन सकेको छैन ।
नेपालगन्ज शहरका अधिकांश साना तथा मझौला होटलहरुमा कामदारका रुपमा बालिबालिकाले नै श्रम गरिरहेका छन् । कम मूल्यमा नै बालबालिकालाई काम लगाउन पाएपछि व्यवसायीहरुले पनि अन्य कामदारको सट्टामा बालबालिकालाई नै प्रयोग गर्छन् । पढाउने निहुँमा बालबालिकालाई राख्ने र शिक्षाको अधिकारबाट वञ्चित नै गराएर काममा लगाउँदा समृद्ध नेपालको परिकल्पना साकार नहुने प्रष्ट हुन्छ ।
नेपालको संविधान २०७२ ले पनि बालश्रमलाई संवैधानिकरूपमा नै निषेधित गरेको छ तर, पनि बालश्रमले आधुनिक दासताको रूपमा समाजमा जरा गाडेको छ । बालश्रम शोषणले बालबालिकाको आधारभूत अधिकारको हनन् गर्छ । बालश्रम शोषणका कारण उपमहानगरपालिकाका हजारौं बालबालिका शिक्षालगायतका नैसर्गिक अधिकारबाट बञ्चित छन् ।
बालबालिका सम्बन्धि बनेको ऐन अनुसार कुनै आर्थिक अवस्था कमजोर भएको बालबालिकालाई घरेलु कामकाजको लागि राख्दा गुणस्तरीय खानपान र शिक्षाको प्रदान गरेको हुनपर्दछ । तर, नेपालगन्जका होटेलमा होस्, घर वा उद्योगमा काम गर्ने बालबालिकाले शिक्षाको पहुँच त परै जाओस् आधारभुत आवश्यकताको सुविधा समेत पाउँदैनन् ।
यस्तै, घरेलु कामदारका रुपमा प्रयोग गरिएका बालबालिकाले पनि उचित शिक्षा र खानपानको सुविधा प्राप्त गरेका छैनन् । त्यतीमात्र होइन ती बालबालिकाले माया, हेरचाह, स्याहारबाट बञ्चित नै छन् ।
बालश्रमिकको जीवन स्तर उकास्न र उनीहरुको अधिकार प्राप्तीका लागि कसैको पनि ध्यान पुग्न सकेको छैन । सम्बन्धित निकायले बालश्रमिक मुक्त गराउने नाउमा संघ संस्थाले काम गरिरहेको ठाउँबाट छुटाएर परिवारको जिम्मा लगाउने पनि गरेका छन् । तर, परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण विकल्प नहुँदा पुनः सोही श्रमबजारमा होमिन बालबालिका बाध्य छन् । यस्तो कार्यले संस्थाहरुको औपचारिकता पुरा हुने बाहेक अन्य प्रभावकारी काम हुन सकेको छैन ।
‘बालबालिका भनेको त्यो मान्छे हो जसले १६ वर्ष पुरा गरेको छैन । नेपालमा बालश्रमको रुपमा काम गर्नका लागि बालबालिकाहरु कम्तिमा १४ वर्षको हुनुपर्दछ, ६ घण्टा भन्दा बढी काम गर्न नपाइने, काम गर्दा साँझको ६ बजेदेखि विहानको ६ बजेसम्म गर्न नपाइने ६ घण्टामा ३ घण्टा पछि ३० मिनेटको मध्यान्तर हुनैपर्ने र काम गर्नलाई कसैले पनि दबाव दिन नपाउने ।’ नेपालको कानूनले भन्छ । तर, पछिल्लो समय खुला सीमाना, रोजगारी लगायत विभिन्न कुराको केन्द्र विन्दू नेपालगन्ज बन्दै गएपछि बालश्रमिकहरुको पनि संख्यामा उल्लेख्य बृद्धि भइरहेकोछ ।
नेपालगन्जमा विशेषगरि कलकारखाना, होटल, व्यवसाय, ग्यारेज, यातायात, घर तथा निर्माण कार्य एबम सडकमा फोहोर उठाउने कार्यमा बालबालिकाहरुको संख्या बृद्धि भइरहेकाछन् ।
आर्थिक अवस्था कमजोर हुनु, पारिवारिक विखण्डता तथा द्वन्द्व, साथीभाईको लहलहैमा लाग्नु र विद्यालय छाड्ने जस्ता प्रमुख कारणले यतिबेला उपमहानगरपालिकामा बालश्रमिकहरुको संख्या बढेको बालअधिकारक्षेत्रमा क्रियाशिल शेरबहादुर रौले बताउँछन् ।
यसरी आर्थिक लोभ तथा विभिन्न कारणले श्रममा लाग्ने बालबालिकाको भविष्य चुनौतिपूर्ण भएकाले बालश्रम न्यूनिकरणमा स्थानीय तहबाटै प्रभावकारी ढंगबाट अभियानमुलक कार्य गरिनुपर्ने उनी बताउँछन् ।
बालश्रममै लागेका कतिपय बालबालिकाहरु अन्जानमा तथा अरुको प्रभावमा परेर गैरकानूनी कार्यमा लागेको प्रहरीको एक अध्ययनले प्रष्ट पारेकोछ । यद्यपी घरेलु बालमजदूरका रुपमा बालबालिकालाई प्रयोग गर्ने चलनमा केही कमि आएता पनि पूर्णरुपमा बालश्रमको अन्त्य भने हुन सकेकोछैन ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’