देशैभरि अभाव र महंगीको भय


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
देशैभरि अभाव र महंगीको भय

काठमाडौं। भोटेकोशी बाढीका कारण चीनसँगको एउटा प्रमुख नाका रसुवागढी पूर्णरुपमा ध्वस्त भएको छ। नेपाल र चीन दुबैतर्फका भन्सार, अध्यागमनलगायत सबै सरकारी कार्यालय र संयन्त्रहरू नष्ट भएका छन्। 

हजारौं मान्छे निलेको यो बाढीले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाहरूमा जति भौतिक क्षति गरेको छ त्यसको पूर्ति गर्न नेपालले अझै वर्षौं पर्खिनुपर्ने हुन्छ र खर्बौंको खर्च जोहो गर्नुपर्ने हुन्छ। 

यो बाढीले मात्रै हजारौं मान्छेको ज्यान लगेको छैन, बरु कैयौं मान्छेको जीवनभरिको सबै सम्पत्ति अनि राष्ट्रिय सम्पत्तिमा समेत गम्भिर क्षति पुर्‍याएको छ। यसका प्रभाव मात्रै केही जिल्ला र स्थानहरूमा सिमित छैन। त्यसको असर विस्तारै देशका हरेक जनजीवनमा देखिन थालेको छ। 

सबैभन्दा बढी अब नेपाली बजारमा अभाव सुरु हुन थालेको छ। त्यसको असरले बजारमा महंगी बढ्न थालेको छ। दैनिक प्रयोगका सामग्रीहरूको अभाव पनि देखिन थालेको छ। त्यसमा पनि काठमाडौं जोडिने एउटा प्रमुख सडक नै त्रिशूलीमा भासिएपछि काठमाडौं लगभग ‘नाकाबन्दी’मा परेको छ। काठमाडौं जोड्ने मुख्य पृथ्वी राजमार्गको कृष्णभीरमा सडक पूरै भासिएको छ। त्यसयता काठमाडौंसम्म पुग्ने धेरै ठाउँमा सडकहरू भासिएका छन्। त्यसको मर्मत र अस्थायीरुपमा यातायात सञ्चालन गर्नसम्म बनाउन पनि महिनौं लाग्ने विज्ञहरूले अनुमान गरेका छन्। पूर्वको बिपी राजमार्ग अघिल्लो वर्ष नै क्षतविक्षत भएको थियो। त्यहाँबाट पनि ठूला सवारीहरू सञ्चालन गर्ने अवस्था छैन। मुख्य पूर्वपश्चिम राजमार्गसँग जोडिएको पृथ्वी राजमार्ग पनि ठप्प भएपछि बिकल्पका रुपमा लिइएको हेटौडाको सडकमा पनि ठूला मालबाहक सवारी पास गराउनै मुश्किल छ। 

यो भनेको आगामी दसै-तिहारजस्ता नेपालीका ठूला पर्वहरूमा नेपाली बजारले धेरै अभाव र महंगीको मार खेप्नुपर्ने सम्भावना बढेको छ। 

बाढीका कारण भन्सार नाका नै ध्वस्त भएपछि चीनबाट ठूलो परिमाणमा आयात हुने लत्ताकपडा, जुत्ता–चप्पल, विद्युतीय सामग्री, फलफूल, लसुन, अदुवा लगायतका वस्तुको आपूर्ति लगभग ठप्पजस्तै भएको छ। कोरला नाका पनि चीनले अस्थायीरुपमा बन्द गरेको छ। भोटेकोशी र लेन्दे खोलामा आएको भीषण बाढीले रसुवागढीको भन्सार क्षेत्र, मितेरी पुल तथा सीमा क्षेत्रमा रहेका संरचनामा ठूलो क्षति पुर्‍याएको छ। बेत्रावतीदेखि रसुवागढीसम्मको करिब ४२ किलोमिटर सडकसमेत विभिन्न स्थानमा बाढीले बगाएको सडक विभागले जनाएको छ। स्याफ्रुबेसीदेखि सीमासम्मको थप १६ किलोमिटर सडकको क्षतिको विवरणसमेत संकलन भइरहेको छ। रसुवागढी नाका यसअघि नै बाढी र पहिरोका कारण पटक–पटक प्रभावित हुँदै आएको थियो। यसपटक भने बाढीले व्यापारिक पूर्वाधार नै ध्वस्त बनाएपछि तत्कालै नियमित व्यापार सञ्चालन हुने अवस्था कमजोर बनेको छ। 

योसँगै दुबैतिरका भन्सारनाकामा राखिएका सयौं ट्रक र ढुवानीका साधनहरू बाढीले बगाएको छ। त्यसले नेपालको ढुवानी क्षेत्रमा वर्षौंका लागि असर पर्ने ढुवानी व्यवसायीहरूले जनाएका छन्। नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष रामहरी कार्कीका अनुसार यो बाढीमा २ सय भन्दा धेरै मालबाहक कन्टेनर र २ सयको हाराहारीमा खाली कन्टेनरहरू बगाएको छ। केरुङमा १ सय ७६ वटा कन्टेनर छन् भने ७७ जना चालक अलपत्र छन्। 

नेपालमा तीज, दसैं, तिहार र छठजस्ता प्रमुख चाडपर्वमा उपभोग्य वस्तुको माग बढ्छ। यही समयमा बजारमा कपडा, जुत्ता, इलेक्ट्रोनिक्स, फलफूल तथा खाद्यान्नको माग बढ्छ। 

एउटै समयमा उत्तरी नाकाका धेरै बाटाहरू प्रभावित हुँदा सामान अन्य नाका हुँदै ल्याउनुपर्ने अवस्था आएमा ढुवानी समय र लागत दुवै बढ्नेछ। यसको असर अन्ततः वस्तुको खुद्रा मूल्यमा पर्न सक्छ। गत वर्ष पनि रसुवागढी क्षेत्रमा बाढीले मितेरी पुललगायतका पूर्वाधारमा क्षति पुर्‍याएको थियो। त्यसको मर्मत तथा सडक स्तरोन्नतिको काम पूरा नहुँदै यसपटक ठूलो विपत्ति आयो र सबै ध्वस्त भयो। चालु वर्षको साउनमा मात्रै नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार चीनतर्फ २१ करोड २६ लाखको निर्यात र आयात ३१ अर्ब ७४ करोडको भएको छ। जसबाट चीनसँगको व्यापारमा एकै महिना ३१ अर्ब ५३ करोडको घाटा पनि भएको छ।

बाढीका कारण प्रमुख उत्तरी नाकाहरू अनि काठमाडौंसँग जोडिएका प्रमुख राजमार्गहरू बन्द हुँदा त्यसको असर काठमाडौंमा देखिन थालिसकेको छ। बजारमा अहिले खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरूको अभाव देखिन थालेको छ। बजारमा भेटिएका बस्तुहरू पनि अभाव र सम्भावित महंगीको भयले उपभोक्ताले संग्रह गरेर राख्न थालेका छन्। उसै पनि ग्याँसको अभाव झेलिरहेका बेला देशमा आएको विपत्तिका कारण अहिले काठमाडौंमा तरकारीलगायत खाद्यान्नमा समेत मूल्यवृद्धि देखिन थालेको छ। 

यसरी बजारमा अभाव र महंगी सुरु हुन थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मङ्गलबारदेखि १३ वटा टोली बनाएर खाद्यान्नको मौज्दातको अवस्था र मूल्यमा केन्द्रित रहेर अनुगमन थालेको जनाएको छ। 

अनुगमनमा चिनी, चामल र खानेतेलको मूल्य यसअघि नै बढेको र प्रमुख राजमार्ग अवरुद्धको असर भने नदेखिएको विभागले जनाएको छ। विभागका निर्देशक अनिल किराँतीले खाद्यान्न मौज्दातको अवस्था बुझ्नका लागि गोदामको अनुगमन गर्दा तत्कालै आत्तिन पर्ने अवस्था नरहेको र वैकल्पिक मार्गबाट खाद्यान्न आपूर्ति भएकाले समस्या नहुने स्पष्ट पारेका छन्।