असार सकिनै लाग्दा ३५ प्रतिशत बजेट खर्च

प्रदेश ५ मा असारे रोग


असार सकिनै लाग्दा ३५ प्रतिशत बजेट खर्च

नेपालगन्ज : संघीय सरकारले अपेक्षा अनुसार बजेट खर्च गर्न नसकेको बेला प्रदेश सरकार पनि बजेट खर्चमा कमजोर देखिएका छन् । चालू आर्थिक वर्ष २०७५/०७६ सकिन दुई हप्ता पनि बाँकी नभएको अवस्थामा बजेटको एकतिहाई समेत खर्च गर्न नसक्दा प्रदेशहरू बजेट खर्चमा कमजोर देखिएका हुन् ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश ५ सरकारमा १० अर्ब ५८ करोड ४८ लाख ८३ हजार रुपैयाँ खर्च भएको छ । प्रदेशमा चालूतर्फ ४ अर्ब ७९ करोड ३६ लाख २ हजार रुपैयाँ र पूँजीगततर्फ ५ अर्ब ७९ करोड १२ लाख ८० हजार रुपैयाँ खर्च भएको छ ।

प्रदेशमा चालू आवमा बजेट २८ अर्ब ९ करोड ३ लाख रुपैयाँ थियो । प्रदेशमा चालूतर्फ ११ अर्ब ४६ करोड ५९ लाख २ हजार रुपैयाँ र पूँजीगततर्फ १६ अर्ब ६२ करोड ४३ लाख ९८ हजार रुपैयाँको बजेट थियो । स्थानीय तहले समयमै विनियोजित बजेट खर्च गर्न नसकेको कारण समग्रमा प्रदेशको बजेट खर्च कम देखिएको हो ।

प्रदेशका ठूला शहरी क्षेत्र भैरहवा, बुटवल, दाङ्ग र बाँकेमा रहेका स्थानीय तहले समेत समयमै बजेट खर्च गर्न नसकेको अर्थविद् रामेश्वर खनाल बताउँछन् । चालू आर्थिक वर्षमा ७ वटै प्रदेशले समग्रमा बजेटको करीब ३१ प्रतिशत मात्रै खर्च गरेका छन् । महालेखा नियन्त्रकको तथ्यांक अनुसार ७ वटै प्रदेशले ६३ अर्ब ९६ करोड ११ लाख १ हजार रुपैयाँ मात्रै खर्च गरेका छन् ।

खर्च कुल बजेटको ३० दशमलव ९२ प्रतिशत हो । चालू आर्थिक वर्ष २०७५÷०७६ मा ७ वटै प्रदेशको बजेट २ खर्ब ६ अर्ब ८० करोड ५ लाख ४२ हजार रुपैयाँ रहेको थियो । उक्त अवधिमा सबै प्रदेशको चालूतर्फ ३३ अर्ब १ करोड ५८ लाख ३५ हजार र पूँजीगततर्फ ३० अर्ब ९४ करोड ५२ लाख ६५ हजार रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक रहेको छ ।

बाँकेका स्थानीय तहले विकास बजेट एकदमै न्यून खर्च गरेका छन् । स्थानीय तहले विकास तथा कार्यक्रमका लागि विनियोजित पुँजीगत तर्फको बजेट खर्च गर्न नसकेका हुन् । पुँजीगततर्फ २ देखि २३ प्रतिशत रकम खर्च भएको स्थानीय तहले बताएका छन् ।

नेपालगन्ज उपमहानगरमा चालु आर्थिक वर्षमा २ अर्व ४७ करोड ९५ लाख ४७ हजार रुपैया विनियोजन गरिएकोमा चालुतर्फ ५३.०८ प्रतिशत मात्र खर्च भएको छ । त्यस्तै पुँजीगत तर्फ ४५.६१ प्रतिशत बजेट खर्च भएको छ भने वित्तिय व्यवस्थातर्फ १.३१ प्रतिशत खर्च भएको छ ।
खजुरा गाउँपालिकाले प्रथम चौमासिकमा १० प्रतिशत रकममात्र खर्च गरेको जनाएको छ । अख्तियारी पाएको ११ करोड रुपैयाँ मध्ये साढे १ करोडमात्र खर्च भएको छ ।
चालू आवमा नरैनापुर गाउँपालिकाको ४२ करोड वजेट विनियोजन भएको छ । पुँजीगततर्फ विनियोजित २१ करोड ६१ लाख मध्ये १ करोड ३० लाख र चालू तर्फ झण्डै ६ करोड रुपैयाँ खर्च भएको छ । बैजनाथ गाउँपालिकाले कुल बजेटको झण्डै १४ प्रतिशत रकम खर्च भएपनि विकास तर्फ दुई प्रतिशत रकममात्र खर्च भएको छ । डुडुवा गाउँपालिकाले पनि विकास बजेट एकदमै न्यून खर्च भएको जनाएको छ । कुल बजेटको २९ प्रतिशत रकम खर्च भए पनि भौतिक पूर्वाधारतर्फ २३ प्रतिशत रकम खर्च भएको छ ।

यसैगरी जिल्लामा संघीय सरकारबाट चालू आवका लागि १४ अर्ब ५४ करोड बजेट छुट्याइएकोमा १० अर्ब २६ करोड रुपैयाँ खर्च भएको छ । जुन कुल बजेटको ७१ प्रतिशत हो । चालूतर्फ ७८ प्रतिशत खर्च भइसकेको छ । चालू खर्चतर्फ ७ अर्ब ६२ करोड रुपैयाँ बजेट रहेकोमा ६ अर्ब ९५ करोड रुपैयाँ खर्च भइसकेको छ । संघीय सरकारबाट बाँकेलाई प्राप्त पूँजीगत बजेटको ६२ प्रतिशत रकम खर्च भएको छ ।