विप्लव समूह वार्तामा नआए क्षति व्यहोर्नुपर्छ: प्रवक्ता बास्कोटा


विप्लव समूह वार्तामा नआए क्षति व्यहोर्नुपर्छ: प्रवक्ता बास्कोटा

काठमाडौं : विप्लव समूहलाई सरकारले कारवाही गर्ने चेतावनी दिदै वार्तामा आउन निर्देशन दिएकोछ ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले वार्तामा नआए विप्लव समूहले नै क्षति व्यहोर्नुपर्ने भन्दै कडा चेतावनी दिएका छन् ।

बिहीबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले यस्तो चेतावनी दिएका हुन् । उनले भने–विप्लव समूहले लुटपाटको धन्दा चलाएको र यो क्रमशः संगठित आतंकवादतर्फ उन्मुख रहेको भन्दै सरकारले जंगली राजलाई छुट दिन नसक्ने बताए ।

पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले विप्लव समूहप्रति आक्रामक रुपमा प्रस्तुत हुदैं विप्लव समूह वार्ताबाट भागेको भन्दै उनले भने, ‘विप्लव समूहसंग वार्तामा आउँदा माग्ने कुरा केही नभएको बताए ।’

मन्त्री बास्कोटाले विप्लव समूहले कार्यकर्ता छाड् भन्ने तर, हिंसा गरिरहने कार्य स्वीकार्य नभएको बताए । मन्त्री बास्कोटाले भने, ‘लुटपाटको धन्दा जारी राख्नु हुन्छ भने क्षति व्यहोर्ने उहाँहरुले नै हो । हाम्रो अनुरोध छ, क्षतितर्फ नजानुस् । समय छ वार्तामा आउनुस् ।’

दुइ तिहाईको सरकार सिमलको भुवा जस्तो नभएको भन्दै उनले थपे –‘चुनाव लड्ने हुति छैन, १२ वटा सिम फेरेर, तर्साएर के हुन्छ ? यसबाट सरकार तर्सिँदैन ।’
पत्रकार सम्मेलनमा विप्लवप्रति झन कडा हुदै मन्त्री बास्कोटाले भने रक्तपिपासु मानसिकता नेपाली समाजले अस्वीकार गरिसकेकोछ । क्रान्तिका नाममा स्कुल बन्द गराएर वितण्डा नमच्चाउन विप्लव समूहलाई उनले चेतावनी दिए ।

उनले विप्लव समूहले प्रहरी दमन भन्दै वक्तव्यबाजी गरेकोमा समेत आक्रोश पोखे । मन्त्री बास्कोटाले भने, ‘उहाँहरुले निर्दोष मान्छे मार्दा क्रान्ति र प्रहरीले पक्राउ गर्ने खोज्दा गोली चलाउँदा कोही झुक्किएर पर्न गयो भने दमन ?’