अपाङ्ग परिचयपत्र वितरण शुरु


अपाङ्ग परिचयपत्र वितरण शुरु

नेपालगन्ज : डुडुवा गाउँपालिकाले अपाङ्गता परिचय पत्र वितरण शुरु गरेको छ ।

अपाङ्गता अधिकार ऐन २०७४ अनुसार सबै स्थानीय तहलाई अपाङ्गता परिचयपत्र वितरण गर्न दिएको अधिकार अन्र्तगत गाउँपालिकाले परिचयपत्र वितरण शुरु गरेको हो ।

गाउँपालिका उपाध्यक्ष साहिदा बानोको संयोजकत्वमा गठित ११ सदस्यीय अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिले गरेको निर्णयका आधारमा अपाङ्गता भएकाहरुको स्तर र गम्भीरता पहिचान गरि परिचयपत्र वितरण गरिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

उक्त समितिमा अहिलेसम्म ५० जनाले परिचयपत्रका लागि निवेदन दिएका छन् । निबेदनमध्ये अहिलेसम्म १४ जनालाई निर्णय गरि परिचय–पत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले जानकारी दिए ।

उनका अनुसार ‘ख’ श्रेणीका ६ जना,‘ग’ श्रेणीका ६ जना र ‘घ’ श्रेणीका २ जनालाई अपाङ्गता परिचय–पत्र प्रदान गरिएकोहो । समितिमा निवेदन दिएकाहरुको बारेमा पनि निर्णय गरि परिचय–पत्र वितरण गरिने समितिले जनाएको छ ।

अहिलेसम्म नेपाल सरकारले ‘क’ र ‘ख’ श्रेणीका अपाङ्गतालाई मात्र सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । 'क' र 'ख' बाहेक 'ग' र 'घ' श्रेणीका अपाङ्गता भएकालाई गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०७६/०७७ देखि प्रदान गर्ने सेवा सुविधाका विषयमा निर्णय गरेर उपलब्ध गराउने अध्यक्ष चौधरीले बताए ।
सरकारले नयाँ आर्थिक वर्षदेखि ‘क’ श्रेणीका अपाङ्गतालाई ३ हजार र ‘ख’ श्रेणीकालाई १ हजार ६ सय उपलब्ध गराउनेछ ।

अपाङ्गता भएका ब्यक्तिलाई परिचय–पत्र उपलब्ध गराउने पूर्व कार्यक्रमअनुसार डुडुवा गाँउपालिकाले शनिबार एक कार्यक्रमको आयोजना गरि ६ जनालाई परिचय–पत्र प्रदान गरेकोछ ।