फाईल तस्विर
नेपालगन्ज : ‘बाढीले खेत बगाएर लान्छ, घरखेत पानीमा डुब्छन, बालुवाले खेत पटान गरेर बगर बनाउँछ, यो त हाम्रो वर्षेनीको नियति र पीडा नै बनेको छ ।’
बाँके राप्ती नदी तटीय क्षेत्रका बाढीपीडित मंगरु थारुको यो पीडा उनको मात्र होइन । उनी जस्तै नदी तटीय क्षेत्रका २४ हजार बाँकेवासीको पीडा हो । बाँकेको नेपाल–भारत सीमा क्षेत्र नजिक भारतले अन्तराष्ट्रिय नियमविपरीत लक्ष्मणपुर बाँध र तटबन्ध बनायो ।
त्यसपछि शुरु भयो, बाँके राप्ती तटीय क्षेत्रका बासिन्दाको वर्षेनीको बाढी र डुबानको पीडा । मनसुनको समयमा भारतले तटबन्धको ढोका त खोल्छ तर, आफू अनुकूल । भारतको यस्तो व्यवहारले बाँकेका हजारौं खेतीयोग्य जमीन डुबानमा पर्छ ।
घरगोठ पानीमा डुब्छ, जनधनको क्षति पनि हुन्छ । अझ यतिले पनि नपुगेर बाँकेको सीमावर्ती क्षेत्रमा भारतले बाँधजस्तै अग्लो सडक बनाएको छ । यो सडकका कारण अब त जिल्ला सदरमुकाम नेपालगन्ज पनि डुब्ने खतरा बढेको नगर प्रमुख डा. धवलशम्शेर राणा बताउँछन् ।
भारतको यस्तै कार्यका कारण प्रत्येक वर्ष बाँकेका होलिया, बेतहनी, फत्तेपुर, टेपरी, घोडियनपुर गाउँ तथा नगर क्षेत्रका झण्डै ५ हजार घरधुरीका करीब २४ हजार
नागरिक प्रभावित हुन्छन्, बाढीपीडितको नियति भोग्न बाध्य हुन्छन् ।
मनसुन चरम उत्कर्षमा भएको समयमा बाँके जिल्ला प्रशासन कार्यालयले नेपाली भूमि डुबान हुन नदिन भारतीय पक्षसँग तटबन्धको ढोका खोल्न आग्रह गरे पनि त्यसले सार्थकता भने पाउँदैन ।
बेलाबखत र आवश्यक परेका बेला मात्र बस्ने दुवै देशका सीमावर्ती जिल्लाका अधिकारीको संयुक्त बैठकमा नेपालको तर्फबाट बाँकेको राप्ती तटीय क्षेत्र डुबान हुन नदिन बाँधको ढोका पर्याप्त खोल्न आग्रह गरिए पनि त्यसको सुनुवाइ हुँदैन ।
वि.सं. २०७२ मा आएको बाढीबाट बाँके राप्ती नदी तटीय क्षेत्रका बासिन्दाले अहिलेसम्मकै ठूलो जनधनको क्षति भोगेका थिए । त्यो वर्षको बाढीलाई सम्झेर बाढीपीडित अझै झस्किने गर्छन् ।
‘ती बाढी पीडितमध्ये अधिकांश अहिले पनि जंगल क्षेत्र र ऐलानी जग्गामा अस्थायीरूपमा बसोबास गर्दै आएका छन, सरकारले उनीहरुको पुनःस्थापनाको स्थायी व्यवस्था नगरेकामा दुःख लागेको छ,’ लक्ष्मणपुर बाँध पीडित संरक्षक समितिका अध्यक्ष जगदीशबहादुर सिंहको गुनासो छ ।
रातिको समयमा भारी वर्षा भयो भने गाउँले सुत्न सक्दैनन, सुरक्षित स्थानमा पुग्न भागाभाग हुन्छ, फेरि पहिलेकै नियति दोहोरिने त होइन भन्ने सन्त्रासले उनीहरुलाई पिरोल्न थाल्छ,’ बाँके नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको भनाइ छ ।
दुई वर्षअघिको बाढी र डुबानमा परी बाँकेमा आठ जनाको मृत्यु भएको थियो । ठूलो जनधनको क्षति भएको थियो । हजारौं नागरिक त्यसबाट प्रभावित भएका थिए ।
स्थानीय प्रशासनको तथ्यांकअनुसार बाढीबाट प्रभावितलाई २१ करोड ७४ लाख नगद, खाद्यान्न, लत्ताकपडा र त्रिपाल र भाँडावर्तन उपलब्ध गराएको थियो । यो वर्ष पनि बाढी र डुबानबाट क्षति कम गर्न जिल्ला विपत् व्यवस्थापन समितिले स्थानीय तहमा विपत् व्यवस्थापन समिति गठन गरेको छ ।
बाढी र डुबानको विपत् आएको समयमा नागरिकको उद्दारका लागि आवश्यक उपकरणको व्यवस्था, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीलाई पनि तयारी अवस्थामा राखेको छ ।
नदीमा जल प्रवाहको स्तर खतराको चिह्नभन्दा माथि आएमा साइरन बजाउने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउँछन् ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा