नगरमा ५० हाईमास्ट लाईट जडानको तयारी


नगरमा ५० हाईमास्ट लाईट जडानको तयारी

नेपालगन्ज : शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नेपालगन्ज उपमहनागरपालिकाका ५० वटा चोकमा हाईमास्ट लाईट जडान गरिने बताएका छन् ।
आइतबार नेपालगन्जमा आयोजित एक कार्यक्रममा मन्त्री राईले यस्तो बताएका हुन् ।

यसका लागि उपमहनगरपालिकासँगको सहकार्यमा प्रक्रिया अघि बढाउने तयारी भइरहेको उनले बताए । अहिले उपमहानगरको विपीचोकमा उक्त लाइट जडान भएको छ । राईले पूर्वाधार संरचना निर्माणमा गुणस्तरहीन काम गर्ने जो कोहीलाई पनि कारवाही गरिने बताएका छन् । उनले भौतिक पूर्वाधार निर्माणका क्रममा वातावरण विनाश हुन नदिन सरकार सचेत रहेको बताए ।

नेपालगन्जमा सडक तथा नाला निर्माणका क्रममा जसबाट गल्ती भएको छ, त्यो सच्याउने जिम्मा पनि उसैले लिनुपर्ने मन्त्री राईले बताएका छन् । यसैबीच उनले गरिव तथा विपन्न समुदायको उत्थानका लागि सरकारले फुसको छाना विस्थापित गर्ने गरी कार्यक्रम ल्याएको बताएका छन् ।

सुरक्षित नागरिक आवास समन्वय समिति बाँकेद्वारा सेवाग्राहीलाई प्रमाणपत्र वितरण गर्दै मन्त्री राईले यसबर्ष मुलुकभरका २० हजार फुसका छानामा जस्तापाता लगाइने बताए । मन्त्री राईले दुई बर्षभित्रै नेपालगन्जलाई देशकै नमूना शहरको रुपमा विकास गर्ने गरी लागिपरेको बताए ।

साउन पहिलो सातासम्म नेपालगन्जमा १०–१२ फिटका हुर्कीसकेका रुखहरु रोपिने उनले जानकारी दिए । नेपालगन्ज उप–महानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा र प्रदेशसभा सदस्य विजयबहादुर यादवले फुसको छाना विस्थापित गर्ने सरकारी योजनाको सह्राना गरेका छन् ।

फुसको छाना विस्थापित गरि जस्तापाता लगाउनका लागि छनौंटका परेका ब्यक्तिलाई पहिलो किस्तामा ३० हजार रकम बैङ्कमार्फत जम्मा गरिनेछ । जस्तापाता लगाईसकेपछि बाँकी १७ हजार ५ सय खातामा जम्मा गरिनेछ ।

बाँकेमा यसबर्षमा दुई हजार सातसय जना छनोंटमा परेका छन् । बाँकेमा क्षेत्र नम्बर १ को नरैनापुरमा तीनयसय, २ को नेपालगन्जमा एकहजार चारसय र डुडुवामा सातसय तथा क्षेत्र नम्बर ३ को जानकीमा तीनसय घर फुसको छाना विस्थापनका लागि छनौंटमा परेका छन् ।