नगरमा दैनिक ३३ टन फोहोर उत्पादन


नगरमा दैनिक ३३ टन फोहोर उत्पादन

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा दैनिक ३३ टनबढी फोहोर उत्पादन हुने गरेको छ । नगरको यो फोहोर व्यवस्थापनमा उपमहनागरपालिकाले बहुप्रतिक्षित ल्याण्डफिल साइट तयार भएको सोमबार बताएको छ ।

ल्याण्डफिल साइट बनेपछि नगरको फोहोर कहाँ फाल्ने भन्ने सधैंको तनाव अन्त्य भएको नगर प्रमुख डाक्टर धवलशम्सेर राणाले बताए ।
३८ करोडको लागतमा आधुनिक ल्याण्डफिल साइट निर्माण भएको उनले जानकारी दिए ।

एशियाली विकास बैंकले नेपालगन्जमा आधुनिक ल्याण्डफिल साइट बनाइदिएको उपमहनागरका सरसफाई शाखाका अधिकृत अशोक केसी बताउँछन् । २०७३ देखि ल्याण्डफिल साइट निर्माणको काम थालिएको उनले बताए ।

ल्याण्डफिल साइट तयार भइसकेको एक वर्षपछि मात्रै ठेकेदार कम्पनीले हस्तान्तरण गर्ने इन्जिनियर शैलेन्द्र महर्जन बताउँछन् । उनकाअनुसार अहिले ठेकेदार कम्पनीले काम गरिरहेको छ । नगरको फोहोर त्यहीँ लगेर फालिरहेको छ ।

ठेकेदार कम्पनीकोे ५ वटा टिप्पर, नगरपालिकाका ७ वटा ट्याक्टर र एउटा टिप्पर, निजी क्षेत्रका २ वटा ट्याक्टरले अहिले नगरका फोहोर दैनिक ल्याण्डफिल साइटमा लगेर फालिरहेका छन् । तर, उक्त ल्याण्डफिल साइटको औपचारिक उद्घाटन भने नभएको उनी बताउँछन् ।