‘मेयर साब’: कहिले बन्छ बसपार्क ?


‘मेयर साब’: कहिले बन्छ बसपार्क ?

नेपालगन्ज : बाँकेको नेपालगन्जमा अत्याधुनिक बसपार्क निर्माणमा चरम लापरवाही देखिएको छ । नेपालगन्ज उपमहानगरपालिका–४, गणेशपुरमा निर्माणाधिन अत्याधुनिक बसपार्क निर्माण कार्यमा निकै सुस्त र चरम लापरवाही देखिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको हो ।
१५ महिनाभित्र निर्माण सक्ने गरी युनाइटेड बिल्डर्सले तीन वर्षअघि अप्रिल महिनामा जिम्मा लिएको थियो ।

अब्यवस्थित रुपमा संचालित नेपालगन्जको बसपार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउन १५ महिनाभित्र निर्माण सक्ने सम्झौता भएपनि सम्झौताअनुरुप निर्माण सम्पन्न नहुँदा पुन म्याद थप गरिएको थियो । ठेकेदार कम्पनीको लापरवाहीका कारण नेपालगन्जको यातायात व्यवस्थापनमा समेत समस्या देखिएको छ ।
निर्माणाधिन नेपालगन्ज बसपार्क १५ दिनभित्र सञ्चालनमा आउने नेपालगन्ज उपमहानगरपालिकाले गएको जेठमै दाबी गरेको थियो ।

तर, अहिले असार सकिन लाग्दा पनि बसपार्कको निर्माण कार्य पुरा भएको छैन् । चालु आर्थिक बर्षमा पनि बसपार्क सञ्चालनमा आउने कुनै छाँट देखिएको छैन् ।
उपमहागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बसपार्क निर्माण अन्तिम चरणमा जेठमै दाबी गरेका थिए ।

यद्दपी उनको दाबी पनि हावामै उडेको छ । नगर कोषको ऋण सहयोगमा उपमहानगरपालिकाले झण्डै १५ करोडको लागतमा बसपार्क निर्माण गर्न लागेको उपमहानगरपालिका बताउँछ ।

बसपार्कको निर्माण कार्य सम्पन्न नहुँदा त्यस क्षेत्रमा निर्माण क्रममा जथाभावी माटो थुपारिँदा गाडी पार्किङमा समस्या भएको यातायात व्यवसायीहरुको गुनासो छ ।
बसपार्क क्षेत्र हिलाम्मे र धुलाम्मे हुँदा अन्य व्यवसायीलाई समेत समस्या परेको छ । बसपार्क निर्माण नहुनुको सबैभन्दा बढी भार ट्राफिक प्रहरीलाई परेको छ ।

बसपार्क बनेको छैन, सडक उस्तै छ । कहाँ पार्किङ् गराउने ? त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा निकै संकट पर्ने गरेको ट्राफिक प्रहरी मोहन सिंह बताउँछन् ।
अधुरो बसपार्कसँगै पुष्पलाल चौक–बसपार्क सडक खण्डको स्तरोन्नती नहुँदा त्यसको सबैभन्दा बढि तनावमा ट्राफिक प्रहरी नै पर्ने गरेको छ ।

उपमहानगरपालिकाका इन्जिनियर सुरज गुप्ताले ठेकेदारले सम्झौताको अन्तिम समयमा मात्र काम गर्ने प्रवृत्तिले निर्माणमा समस्या भएको बताए ।
इन्जिनियर गुप्ता समयमै ठेकेदारले काम नसकेकाले म्याद थप गरिदै आएको बताउँछन् ।

अत्याधुनिक टर्मिनल भवनसहितको बसपार्क बनाउने योजना ठेकेदारको लापरवाहीका कारणसुस्त भएको बसपार्क निर्माणका लागि प्राविधिक रेखदेख तथा अनुगमन जिम्मा पाएको सेरा कन्सल्टेन्ट प्रालिका इन्जिनियर धर्मराज भट्टराई बताउँछन् ।