भेरी अस्पतालकी नर्स गुरुङलाई ‘युनाइटेड इमेजिक हेल्थ अवार्ड’


भेरी अस्पतालकी नर्स गुरुङलाई ‘युनाइटेड इमेजिक हेल्थ अवार्ड’

नेपालगन्ज १७ भदौ : स्वास्थ्यखबर ‘दशौँ युनाइटेड इमेजिङ स्वास्थ्यखबर हेल्थ अवार्ड’ नर्स तर्फ भेरी अस्पतालमा कार्यरत नर्स अश्विनी गुरुङले पाएकी छिन् ।

कोरोना महामारीमा गरेको योगदानको कदर गर्दै गुरुङलाई हेल्थ अवार्ड प्रदान गरिएको हो ।

स्वास्थ्य खबरपत्रिका १२ वर्ष पूरा गरेर १३ वर्षमा प्रवेश गरेको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमका बीच नर्स गुरुङलाई उक्त अवार्डबाट सम्मान गरिएको हो ।

नर्स गुरुङसंगै कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरुलाई ‘दशौँ युनाइटेड इमेजिङ स्वास्थ्यखबर हेल्थ अवार्ड’ बाट सम्मान गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

स्वास्थ्य क्षेत्रमा विशिष्ठ सेवा पु¥याउने स्वास्थ्यकर्मीहरुको योगदानको पहिचान र सम्मान गर्ने उद्देश्यले अवार्ड प्रदान गरिएको हो । कोभिडको समयमा सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुमा विभिन्न तह र तप्कामा रही सेवा पु¥याएका स्वास्थ्यकर्मीहरुलाई अवार्ड प्रदान गरिएको हो । सम्मानित हुनेहरुमा स्वयमसेविकादेखि चिकित्सकसम्म रहेका छन् ।

महिला स्वास्थ्य स्वयंसेविकातर्फ गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर–३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका लिला थापा सम्मनित भएकी छन् ।

यसैगरी काभ्रेको महाभारत गाउँपालिकास्थित गोकुले स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट लालबहादुर थापा, भेरी अस्पतालमा कार्यरत स्टाफ नर्स अश्विनी गुरुङ, जनस्वास्थ्यकर्मी दिनेश चापागाईं, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डाक्टर अनुप बास्तोला, नारायणी अस्पतालमा विरगञ्जमा कार्यरत डाक्टर नीरा पाठकले स्वास्थ्य खबर यूनाइटेड इमेजिङ हेल्थ अवार्डसहित कोभिड च्याम्पियन घोषित भएका छन् ।

त्यसैगरी कोभिड महामारीमा नागरिकको उपचारमा सक्रिय शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नेपाल प्रहरी, नेपाल एम्बुलेन्स सेवा र शसस्त्र प्रहरी अस्पताल सम्मानित भएका हुन् ।

काठमार्डौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उक्त अवार्ड प्रदान गरेका हुन् । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङ, नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा लगाएतको उपस्थिती रहेको थियो ।

कोभिड महामारीको जोखिममासमेत बिरामीको सेवामा समर्पित डाक्टर, नर्स, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स सेवा प्रदायक, स्वास्थ्य संस्था, जनस्वास्थ्यकर्मी, ल्याबकर्मी, शव व्यवस्थापकलगायत विधामा अवार्ड प्रदान गरिएको स्वास्थ्य खबरपत्रिकाका प्रकाशक अनिल न्यौपानेले जानकारी दिए ।