डुडुवाको बजेट सर्वसम्मत रुपमा पारित


डुडुवाको बजेट सर्वसम्मत रुपमा पारित

नेपालगन्ज : डुडुवा गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को बजेट पारित गरेको छ । असार १० गते बसेको बैठकले बजेटका बारेमा छलफल गरि बुधबार सर्वसम्मत रुपमा पारित गरेको हो ।

५ औ गाउँसभामा अध्यक्ष नरेन्द्र कुमार चौधरीले आर्थिक वर्ष २०७६/०७७ को संघ, प्रदेश र गाउँपालिकाको आन्तरिक स्रोत गरि कुल ३८ करोड ४० लाख २२ हजारको बजेट प्रस्तुत गरेका थिए ।

संघीय सरकारको ३३ करोड ५ लाख, प्रदेश सरकारको २ करोड ४७ लाख २२ हजार र गाउँपालिकाको आन्तरिक स्रोततर्फ २ करोड ८८ लाख बजेट रहेको छ । अहिलेको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पशु, वन वातावरण तथा विपत व्यवस्थापनका क्षेत्रमा विशेष कार्यक्रम र पुर्वाधार निमार्णका योजनालाई प्राथमिकतामा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए ।

गाउँपालिकाले बालिका तथा किशोरीलाई उच्च शिक्षा अध्ययन गर्नका लागि जन्मिने वित्तिकै शिशु बालिकाको कन्या मुद्दती शिक्षा योजना, एसइई पास भएका
किशोरीलाई विशेष प्रोत्साहन, सामुदायिक विद्यालयहरुमा कक्षा १, २ र ३ मा अंग्रेजी माध्यममा अध्यायपन, अपागंता भएकाहरु ग र घ श्रेणीलाई सेवा सुविधा र गाउँपालिकाले यस अघि संचालन गर्दै आएको घर–घरमा पशु र स्वास्थ्य सेवा अभियानलाई थप प्रभावकारी बनाउने नीति अनुसार नै बजेट विनियोजन गरिएको गाँउपालिका अध्यक्ष चौधरीले बताए।

यसैगरि गाउँपालिकामा रहेका सरकारी तथा ऐलानी, प्रति तथा सार्वजनिक जग्गा अतिक्रमण रोक्ने, अतिक्रमित जग्गालाई नियन्त्रणमा लिने, सरकारी ऐलानी जग्गाको लगत संकलन गरि व्यवस्थापन गरिने, सबै वडाहरुमा इन्टरनेट सेवा विस्तार गरि घरदैलो अभियानमार्फत पञ्जीकरण सेवा संचालन गरिने, पारदर्शिता र सुशासनका लागि खुल्ला सरकार नागरिक साझेदारीको अवधारणालाई कार्यन्वयन गरिने, सूचना सञ्चार प्रविधीको विकास गरि अनलाईन प्रणालीमार्फत सेवा प्रवाह गरि प्रभावकारी बनाइने, कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकासका लागि पनि बजेट छुट्टाइएको छ ।

प्रस्तुत बजेटमाथी वडाध्यक्षहरु मोहनराम मिश्र, भण्डारीलाल यादव, प्रशुराम बुढाथोकी, सगिर खा लगायतले योजनाका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।बुधबार पारित गरिएको बजेट अनुसार विकास निमार्ण संगैका सम्पुर्ण योजनाहरुको प्रभावकारिताका लागि नयाँ आर्थिक वर्षको शुरुवातदेखि नै कार्यन्वयनका लागि पहल गरिनेछ ।